केयूकेएलको लिकेज नियन्त्रण र वितरण संरचनामाथि प्रश्न, जीएम भन्छन् ‘टालटुल गरेर काम चलाउँछौं’

बिजमाण्डू
२०७७ साउन ९ गते १२:०७ | Jul 24, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। दुर्घटनापछि मेलम्ची खानेपानी आयोजनामा निर्माणका काम प्रभावित भएका छन्। चालु वर्षभित्रै काठमाडौंमा पानी ल्याउने सरकारी दाबी यसले पनि प्रभावित पार्ने देखिएको छ।

गत असार ३० मंगलबारका दिन सुरुङको १७ नम्बर गेट भत्किएर बगाउँदा एक इन्जिनियरको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए। गाडीसँगै बगेका चालक अझै फेला परेका छैनन्। घटना छानबिन टुंगिए पनि आयोजनाको कामले पुनः गति लिने कहिले भनेर प्राविधिकहरू भन्न सक्ने अवस्थामा छैनन्।

पूर्वनिर्धारित योजना अनुसार मेलम्ची खानेपानी आयोजना पूरा भएपछि राजधानीवासीको घरघरमा पानी पुर्‍याउने जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को हुनेछ। अहिले केयुकेएलले काठमाडौं उपत्यकामा बर्खायाममा १४ करोड लिटर र अरु समयमा १० करोड लिटर दैनिक पानी वितरण गर्दै आएको छ।

हालसम्मको डिजाइनअनुसार मेलम्ची आयोजनाबाट पहिलो चरणमा १७ करोड लिटर पानी आउनेछ। दोस्रो चरणमा सोही आयोजनामार्फत यांग्री र लार्के खोलाको १७/१७ गरि ५१ करोड लिटर पानी आउनेछ। यसरी कुल ६५ करोड लिटर पानी वितरणको जिम्मा केयुकेएलको काँधमा आउनेछ। जुन अहिले वितरण गरिरहेको भन्दा साढे चार गुणाभन्दा बढी हो।

अहिले विद्यमान प्रणालीकै पानी राम्रोसँग वितरण गर्न नसकेको अवस्थामा मेलम्चीको पानी वितरण व्यवस्थापन गर्न सक्नेमा केयुकेएलमाथि सर्वत्र शंका छ।

केयुकेएलमाथि पानी वितरण नियमित गर्न असफल, जनशक्ति व्यवस्थापन तथा परिचालन गर्न असक्षम, बक्यौता उठाउन असफल, एउटै संस्थामा पाँचवटा ट्रेड युनियन खोलेर राजनीति मात्रै गरेको आरोप छ। कमजोर व्यवस्थापनकै कारण तालुकदार मन्त्रालयदेखि ग्राहक हुँदै सर्वसाधारणसम्म राम्रो छाप बनाउन सकेको छैन।

सक्षम छ केयुकेएल ?
केयुकेएलका अधिकारीहरु भने मेलम्चीको पानी वितरणका लागि सक्षम दाबी गर्छन्। महाप्रबन्धक मिलन शाक्यले पानी वितरणका लागि तयारी अवस्थामा रहेको बताए।

'हामी सक्षम छौं। पानी वितरणका लागि मेलम्ची वाटर डिस्ट्रिव्युसन प्लान बनाएका छौं,' उनले भने 'सकभर दैनिक वितरण गर्ने योजना छ।' उनका अनुसार सुन्दरीजलमा मेलम्चीको पानी झारेपछि बल्क डिस्ट्रिब्युसन (थोक वितरण) प्रणालीको परीक्षण हुनेछ। उक्त प्रणाली परीक्षण भएपछि त्यसलाई केयुकेएलको विद्यमान ६ वटा रिजर्भ पोखरीमा जोडिनेछ। त्यसपछि अहिले केयुकेएलले वितरण गरिरहेकै एरियामा वितरण हुनेछ।

सँगै नयाँ १० वटा रिजर्भ पोखरी र पाइपलाइन परीक्षण अघि बढाइनेछ। परिक्षण पूरा भएपछि नयाँ प्रणालीबाट वितरण हुनेछ। परीक्षणका लागि डेढ वर्ष लाग्ने भएकाले उक्त अवधिमा पुरानै पाइपलाइनबाट वितरण हुनेछ। नयाँ प्रणालीले चक्रपथको भित्री एरियालाई कभर गरेको छ।

'मुख्य चुनौती भनेको सय वर्ष पुरानो पाइपलाइनबाट पानी वितरण गर्नुपर्ने अवस्था नै हो,' शाक्यले भने, 'लिकेज बढ्छ कि भनेर चिन्ता छ। टालटुल गरेर चलाउछौं।' मेलम्चीको पानी वितरणका लागि थप जनशक्ति र फिटिङ व्यवस्थापन गर्न लागिएको उनले बताए।

मेलम्चीको पानी वितरणका लागि प्राविधिकसहित १५० जना कर्मचारी थप्न लागिएको छ। करारमा ९० जना लिन भर्ना खुलाइसकेको छ। अहिले आवेदन दिनेको केयुकेएल परिसरमा लामो लाइन देखिन्छ भने बाँकी कर्मचारी भर्नाका लागि लोक सेवालाई ताकेता गरिरहेको शाक्यले बताए। तर लोक सेवा आयोगले नयाँ विज्ञापन अत्यावश्यकबाहेक नखुलाउने निर्णय गरेको छ।

शाक्यका अनुसार केयुकेएलमा अहिले नै ६ जना इन्जिनियर र ८ जना ओभरसियरको दरबन्दी खाली छ। केयुकेएलमा हाल करिब ८ सय जना कर्मचारी छन्। जसमा ४० प्रतिशत प्राविधिक छन्।

अहिले नै केयुकेएलमा रहेका कर्मचारी व्यवस्थापन चुस्त हुन सकेको छैन। प्राविधिक जनशक्ति पनि पर्याप्त संख्यामा छैनन्। उपलब्ध पानीको वितरण पनि लिकेजका कारण ४० प्रतिशत खेर गइरहेको छ। बर्खायाममा वितरण भइरहेको भनिएको करिब १४ करोड लिटरमा ५ करोड लिटरभन्दा बढी खेर गइरहेको छ।

कतिपय ठाउँमा बिछ्याइएका पाइप राणाकालीन नै छन्। ती पाइपहरु नाजुक अवस्थामा छन्। केयुकेएलले पाइपलाइन मर्मत सम्बन्धी योजना नै बनाएर ६ महिना अघिबाट काम गरिरहेको शाक्यले बताए। उनका अनुसार लकडाउनमा समेत यो काम जारी थियो। यो मर्मतले मेलम्चीको पानी वितरणका लागि समेत सहयोगी हुने उनको भनाइ छ।

सबै शाखा कार्यालयमा र्‍यापिड रेन्पोन्स टीम

पुरानो पाइप रहेका कारण लिकेजको समस्या आउन सक्ने भन्दै सबै शाखा कार्यालयहरुमा एउटा र्‍यापिड रेन्पोन्स टीम तयार पारिएको केयुकेएलले जनाएको छ।

काठमाडौं, ललितपुर, भक्तपुर, ठिमी, कीर्तिपुर, महाराजगंज, क्षेत्रपाटी, कमलादी र बानेश्वर लगायतका सबै शाखा कार्यालयमा टिम बनाइएको छ। उक्त टिममा साइड इन्जिनियर प्रमुख हुनेछ। प्राविधिक, प्रशासनिक, लेखाका प्रतिनिधिसहितको टिम बनाइएको छ। जसले लिकेज देखिए तत्काल टोली पठाएर मर्मत गर्नेछ। गुनासोहरुको सम्बोधन गर्नेछ।

'kukl' नामको मोबाइल एप पनि बनाइएको छ। जसमा कहिँ लिकेज भए जानकारी गराउन र गुनासाहरु पठाउन सकिन्छ। त्यसलाई तुरुन्तै सम्बन्धित शाखाले सुनुवाइ गर्ने शाक्यको दाबी छ।

मेलम्चीको पानी वितरणका लागि केयुकेएलको कम्पनी संचालन संरचनामा केही परिवर्तन गर्न खोजिएको शाक्यले जानकारी दिए। जसमा मिटर रिडिङलाई समेत नियमित बनाइनेछ।