पहिलो नौ मिनेट मात्र बढेको सेयर बजार मंगलबार ७.५९ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो 

बिजमाण्डू
२०७७ साउन १३ गते १५:४९ | Jul 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । मंगलबार सेयर बजार ७.५९ अंक घट्दा नेप्से परिसूचक १४५४.८९ विन्दु आइपुगेको छ । कारोबार शुरु भएको १० मिनेट मात्र बढेको सेयर बजार सोपछि दिनभरिजस्तै घटेर बन्द भएको हो ।

सूचकको शुरु विन्दु १४६३.८१ नौ मिनेटमा १४६६ पुगेको थियो । नेप्से उक्त विन्दुमा दुई मिनेट पनि नेप्से टिक्न नसक्दा कारोबारको २६ मिनेटमा यो १४५० विन्दुमा ओर्लिएको थियो । 

यसका बाबजुद कारोबार ४५ मिनेटमा पुग्दा नेप्से सूचकले पुनः ‘भी’ आकार बनाएको थियो । तर, सोपछि सामान्य उतारचढाव हुँदै समग्रमा पुरा दिनको सूचकांक घटेर कारोबार बन्द भयो । 

मंगलबार सेयर बजारमा बिक्रेताहरु हावी हुँदा नेप्से घट्न पुगेको हो । कारोबार भएका १२ उपसमूहको सूचकमा वित्त र म्युचुअल फण्डबाहेकको सूचक घटेको छ । 

एक सय ८५ कम्पनीको एक अर्ब २५ करोड ८७ लाख रुपैयाँ हाराहारीमा भएको मंगलबारको सेयर कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । सोमबार एक अर्व ८७ करोडमाथिको सेयर कारोबार भएको थियो । 

मंगलवारको कारोबारमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको करीब १० करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसपछि दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

कारोबार भएकामध्ये ४९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । ९८ कम्पनीको मूल्य घट्यो भने १८ वटाको यथावत रह्यो ।

मिर्मिरे लघुवित्तको सेयर मूल्य करीब १० प्रतिशत बढेर ८ सय ७४ रुपैयाँ पुग्दा सकारात्मक सर्किट ब्रेकर लागेको छ । त्यस्तै, अंकित मूल्यभन्दा न्यून रहेको जोशी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत बढ्दा ६० रुपैयाँ कायम भएको छ भने पोखरा फाइनान्सको सेयर मूल्य ५ प्रतिशत घटेको छ ।