गैरजिम्मेवार बन्दै विद्युत प्राधिकरण, छिनछिनमा जान्छ बिजुली, उद्योगका मेसिन बिग्रिए

बिजमाण्डू
२०७७ साउन २२ गते १२:३२ | Aug 6, 2020
गैरजिम्मेवार बन्दै विद्युत प्राधिकरण, छिनछिनमा जान्छ बिजुली,  उद्योगका मेसिन बिग्रिए

Tata
GBIME
Nepal Life

काठमाडौं। भैरहवा औद्योगिक क्षेत्रमा विगत केही सातादेखि झ्यापझ्याप बिजुली जाने गरेको छ। एक दिनमा ४० पटकसम्म बिजुली आउने-जाने गरेको छ।

यसरी बिजुली झ्यापझ्याप जाँदा औद्योगिक क्षेत्रका मेसिनहरु बिग्रिएका छन् भने भैरहवाका अधिकांश घरमा फ्रिज, एयरकण्डिसन र टेलिभिजन बिग्रिएका छन्। बिजुली छिनछिनमा जाने समस्याले सिमेन्ट र डन्डी लगायतका ठूला उद्योगको उत्पादनमा समेत प्रभाव परेको छ।

अर्घाखाँची एवं श्री स्टीलका संचालक राजेश अग्रवालले पछिल्लो केही सातादेखि बिजुलीको समस्याले औद्योगिक तथा घरायसी क्षेत्रका धेरै मेसिनरीहरु ध्वस्त भएको बताउँदै त्यसबाट करोडौ नोक्सानी ब्योहोर्नुपरेको बताए।

’३३ केभिए लाइन लिएका सिमेन्ट र डन्डी उद्योगमा एक पटक बिजुली जाँदा उत्पादनमा ठूलो क्षति पुग्छ। तर यहाँ दिनकै ४० पटकसम्म बिजुली गएपछि कस्तो हालत होला?,’ उनले बिजमाण्डूसँग भने, ‘बिना कुनै जानकारी यसरी बिजुली जाँदा औद्योगिक क्षेत्रका मेसिनरी धेरै बिग्रिएका छन्। भैरहवामा रहेका अधिकांश घरका फ्रिज, एसी र टेलिभिजन बिग्रिएका छन्।’

उनले ३३ हजार भोल्टेज आउनुपर्नेमा भैरहवामा सधैंजसो २६ हजार भोल्टेज भएको बिजुली आउने गरेको बताए। ‘मैले एक बोरामा ५० किलो सिमेन्ट हाल्नुपर्नेमा ४५ किलो मात्रै हाल्यो भने तत्कालै मलाई कारवाही गरिन्छ। तर प्राधिकरणले ३३ हजार भोल्टको बिजुली दिने भनेर २७ हजार मात्रै दिँदा पनि कुनै कारवाही नहुने किन?,’ उनले प्रश्न गर्दै भने, ‘यसले पनि सरकारी निकायको जवाफदेहिता कस्तो छ भन्ने प्रष्ट हुन्छ।’

विद्युत प्राधिकरणले भने वर्षाको समयमा लगातार पानी परेपछि प्रसारणलाइनमा समस्या आएकाले दैनिक ५/६ घण्टासम्म विद्युत आपूर्तिमा समस्या आएको दाबी गरेको छ।

लामो समयपछि विद्युत आपूर्ति हुँदा एकैपटक माग बढेपछि भोल्टेजको समस्या आएको प्राधिकणका अधिकारीहरु दाबी गर्छन्। तर माग अनुसारको विद्युत आपूर्ति गर्नका लागि आवश्यक सवस्टेसनको निर्माण नहुँदा विद्युत आपूर्तिमा समस्या आएको हो। यो समस्या विगत ३/४ वर्षदेखि नै उद्योगीहरुले भोग्दै आएका छन्।

भैरहवाको औद्योगिक क्षेत्र लक्षित प्रसारणलाइन वनवाटिका संरक्षित क्षेत्रको जंगलबाट ल्याइएको छ। हावाहुरीका कारण अग्ला रुख ढलेपछि लाइन अवरुद्ध भएको थियो। संरक्षित क्षेत्र भएकाले त्यहाँ ढलेका रुख काट्न पनि अनुमति लिनुपर्ने भएकाले विद्युत आपूर्ति सञ्चालनमा ल्याउन केही बढी समय लागेको प्राधिकरण प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज सुवेदीले बताए।

‘दिनभरी विद्युत आपूर्तिमा समस्या आएपछि दोस्रो दिन लाइन आउँदा भएभरका विद्युतीय उपकरण एकैपटक चले। जसले गर्दा दोस्रो दिन पनि भोल्टेजको समस्याले ट्रिपिङ भएको हो,’ उनले भने, ‘बिहीबारदेखि भोल्टेजको समस्या केही बाँकी रहे पनि हिजोअस्ति जस्तो ट्रिपिङको समस्या हुँदैन।‘

२७५ एम्पिएरमा चल्नुपर्ने लाइन ३५० एम्पिएरमा चालु
भैरहवा औद्योगिक क्षेत्रका लागि ३३ हजार भोल्टको ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति गरिएको छ। उक्त लाइनबाट अहिले २८ हजार भोल्ट विद्युत आपूर्ति भइरहेको छ।

गर्मी बढेपछि पूर्ण क्षमतामा विद्युत आपूर्ति हुँदा भोल्टेज घट्ने समस्या हुन्छ। उक्त लाइनमा २७५ एम्पियर क्षमतामा विद्युत आपूर्ति गरेमा गुणस्तरीय विद्युत आपूर्ति हुने भएपनि गर्मीले माग बढेपछि ३५० एम्पियर सम्मै आपूर्ति भइरहेको विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले बताए।

२७५ एम्पियरभन्दा बढी विद्युत आपूर्ति हुने वित्तिकै लो भोल्टेजको समस्या सुरु हुन्छ। उक्त क्षमता जति बढ्दै गए लो भोल्टेजको समस्या त्यति नै धेरै हुँदै जान्छ। ३३० एम्पियरभन्दा बढी विद्युत आपूर्ति हुँदा विद्युतको गुणस्तर धेरै घट्ने भएकाले सामान्य विद्युतीय उपकरण समेत चलाउन नसकिने अवस्था आउने उनले बताए।

३२० एम्पियरदेखि ३३० एम्पियर क्षमतामा लाइन सञ्चालनमा आउँदा पनि भोल्टेजमा धेरै ठूलो समस्या आएको थिएन। तर त्यहाँ त अहिले ३५० एम्पियर पूर्ण क्षमतामा विद्युत आपूर्ति भएपछि औद्योगिक क्षेत्रमा मात्रै नभएर अन्यत्र पनि भोल्टेजको समस्या आएको झाले बताए।
 

औद्योगिक क्षेत्र लक्षित सवस्टेशनको निर्माण अलपत्र

बुटवल, भैरहवा र नवलपरासीका औद्योगिक क्षेत्रलाई लक्षित गरि निर्माण सुरु गरिएको मैनहिया १३२ केभी सवस्टेशन ढिला भइरहेको छ। निर्माणमा ढिलाइलाई अहिले कोरोना बहाना बनेको छ। 

एक लाख ३२ हजार भोल्टको उक्त सवस्टेशन निर्माण भएमा बुटवल, भैरहवा र नवलपरासीका औद्योगिक क्षेत्रमा १० वर्षसम्म भोल्टेजको समस्या नआउने ५ नम्बर प्रादेशिक कार्यालयका प्रमुख सुवेदीको दाबी छ। महत्वपूर्ण सवस्टेसन निर्माणको काम भने कोरोना महामारीले प्रभावित भएको मैनहिया सवस्टेसन आयोजनाका आयोजना प्रमुख हरि पाण्डेले बताए।

सवस्टेसनका अधिकांश काम सकिएको भएपनि ट्रान्सफर्मर ल्याउन नपाउँदा आयोजनाको काम जहाँको त्यही रोकिएको उनले बताए। आयोजनाले कोभिड-१९ को कारण देखाउँदै ट्रान्सफर्मर ल्याउने प्रक्रियासम्म सुरु गर्न सकेको छैन। महामारी लम्बिएमा चालु आर्थिक वर्षमा पनि सवस्टेसन निर्माण सम्पन्न हुनेमा शंका व्यक्त गरिएको छ।

ढकढहीबाट वैकल्पिक लाइन ल्याउने
मैनहिया सवस्टेसन बन्न अझै केही समय लाग्ने भएपछि भैरहवा वितरण केन्द्रले रुपन्देहीकै रोहिणी गाउँपालिकामा रहेको ढकढही सवस्टेसनबाट ३३ केभी लाइन ल्याउने काम सुरु गरेको छ।

उक्त लाइनको ५०० मिटरमात्रै निर्माण गर्न बाँकी रहेकाले एक महिनाभित्र अस्थायी रूपमा भोल्टेजको समस्या समाधान हुने केन्द्र प्रमुख झाले बताए। भैरहवाबाट २० किलोमिटर टाढाको ढकढहीबाट ३३ केभी लाइन ल्याउँदा यसबाट पनि गुणस्तरीय विद्युत आपूर्ति गर्न भने सकिने अवस्था छैन। तर दुई वटा ३३ केभी लाइनबाट औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति भए दिनभरीनै लाइन ट्रिपिङ हुने समस्या नरहने झा बताउँछन्।

 

DV.load(“https://www.documentcloud.org/documents/7016013-NEA-FAILURE-REPORT.js”, {
responsive: true,
height: 650,
container: “#DV-viewer-7016013-NEA-FAILURE-REPORT”
});

NEA FAILURE REPORT (PDF)

NEA FAILURE REPORT (Text)