निषेधाज्ञा हटेसँगै खुले प्रदेश २ का होटल, तर पाहुना आएनन्, मासिक घाटा २४ करोड रुपैयाँ

बिजमाण्डू
२०७७ असोज ८ गते २०:५५ | Sep 24, 2020
निषेधाज्ञा हटेसँगै खुले प्रदेश २ का होटल, तर पाहुना आएनन्,  मासिक घाटा २४ करोड रुपैयाँ


 

Tata
GBIME
Nepal Life

जनकपुरधाम। कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनको करिब ७ महिनापछि जनकपुरका होटल व्यवसाय सञ्चालनमा आएका छन्। तर होटलमा न सभागोष्ठी नै चलेको छ न त सामरोह। त्यसैले होटलको व्यवसायले गति लिने छाँट नदेखिएपछि व्यवसायी चिन्तित छन्।

स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पालना गरी होटल खोलिए पनि पाहुना नआएको होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले बताए। 'अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गरेको छ। रेस्टुरेन्ट सेवा पनि दिएकै छ,' गौतमले भने, 'तर, पर्यटकीय क्षेत्र नजुर्मुराउँदा पाहुना आउने क्रमले गति लिन सकेको छैन।'

प्रदेश २ मा साना/ठुला गरी करिब १२ सय जति होटल सञ्चालनमा छन्। अध्यक्ष गौतमका अनुसार एक होटललाइ मासिक करिब २ लाखसम्म घाटा भइरहेको छ। यसरी हेर्दा प्रदेश २ का होटललाई अहिले मासिक करिब २४ करोड रुपैयाँ नोक्सानी ब्योहोरेका छन्।

जनकपुरधामस्थित रामानन्द चोकमा रहेको होटल सीता प्यालेसका संचालक जीवनाथ चौधरीले मासिक २ लाख खर्च भइरहेको र आम्दानी शून्य रहेको बताए।

उनले लकडाउनअघि होटल सञ्चालनमा रहँदा मासिक ८ देखि १० लाख रुपैयाँ  आम्दानी हुँदै आएको बताए। आम्दानी ८ देखि १० लाखसम्म हुँदा सबै खर्च काटेर करिब ४ देखि ५ लाखसम्म बचत हुने गरेको चौधरीले बताए। उनले लकडाउनपछि  होटल पूर्णरूपमा बन्द हुँदा मासिक २ देखि ३ लाख रुपैयाँसम्म खर्च भए पनि आम्दानी शून्य रहेको बताए। चौधरीले भने, 'लकडाउनपछि  होटल खुलेको एक साता बित्न लाग्यो। तर पाहुना पर्खँदै दिन बित्छ। बैंकको ब्याज नै ६ महिनामा ३० लाख रुपैयाँ तिर्नुपरेको छ। होटल सञ्चालन भए पनि नभए पनि बिजुलीको बिलदेखि कर्मचारीसहित अन्य खर्च हुने नै गरेको छ।'

होटलको न्यूनतम बिजुली बिलमा माग शुल्कको आधारमा खपत भए पनि नभए पनि ३० देखि ५० हजार रुपैयाँसम्म महसुल तिर्नुपर्ने उनले बताए। जनकपुरधामको भैरव चोकमा रहेको होटल शुभमका संचालक सुरेन्द्र भण्डारी पर्यटक बिना होटल व्यवसायीले आम्दानी गर्न नसक्ने बताउँछन्।

'होटेलको प्रमुख व्यापार नै रुम बिजनेस र बैन्क्वेट सञ्चालन छ,' भण्डारीले भने, 'ठूला होटलको ९० प्रतिशत व्यापारिक हिस्सा ओगटेको यी दुवै क्षेत्र नचल्ने अवस्थमा अरु १० प्रतिशतको लागि रेस्टुरेन्ट मात्रै सञ्चालन गरेर फाइदा छैन।' होटेल व्यवसायीलाई गति लिन अझै ४/५ महिना लाग्ने उनले अनुमान गरेका छन्। संक्रमण बढेर सरकारले पुन निषेधाज्ञा शुरु गरे यसको पनि टुंगो नहुने उनी बताउँछन्।