वीरगंजका होटलमा ५% मात्र अकुपेन्सी, सीमा नखोलेसम्म होटल नचल्ने व्यवसायीको दुखेसो

बिजमाण्डू
२०७७ असोज ११ गते ०९:०७ | Sep 27, 2020

Tata
GBIME
Nepal Life

वीरगंज। सरकारले मापदण्ड पालना गरी होटल व्यवसाय खोल्न अनुमति दिएसँगै वीरगंजका होटल व्यवसाय पनि करिब ७ महिनापछि सञ्चालनमा आउन थालेका छन् ।

वीरगंजमा ५० वटा होटलहरु रहेकोमा ७० प्रतिशत मात्र होटलहरुले अहिले बुकिङ र सेवा शुरु गरेका छन् ।

३० प्रतिशत होटलहरुका सञ्चालक अहिले पनि 'पर्ख र हेर' को अवस्थामा छन्। तिनले होटल बन्द नै राखेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

वीरगंजमा कोरोना नियन्त्रण पूर्ण रूपमा भइनसकेको तथा भारतीय सीमामा लगाइएको लकडाउन नखोलिएसम्म होटल व्यवसाय खोल्नुको कुनै अर्थ नरहेको व्यवसायीहरुको भनाई छ ।

त्यस कारण मकालु र सुरज लगायतका एक दर्जनभन्दा बढी होटलहरु सञ्चालनमा आएका छैनन्।

‘७० प्रतिशत होटलमा जम्मा अकुपेन्सी ५ प्रतिशत छ, कतिपय होटल सञ्चालनको खर्च बढी भएकाले न्यून बुकिङमा थप घाटा बेहोर्ने डर छ,’ होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पन्तले भने, ‘त्यसकारण भारतीय सीमा खोल्नुको अवस्था र पूर्ण रूपमा आवागमनको अवस्था आएपछि शतप्रतिशत होटल खोल्ने व्यवसायीको तयारी छ ।’

वीरगंजमा अहिले चार तारे लर्डस् दियालो प्लाजा, पुजन, कैलाश, कन्ट्री-इन, हिमाल, अन्नपूर्ण, एभरेस्ट, सगुन, क्लासिक, कुमु प्यालेस, सम्झना र विजयज्योतिलगायत होटलहरु सञ्चालनमा आइसकेका छन् ।