काठमाडौं-तराई मधेश द्रुतमार्गको सुरुङमार्ग बनाउन पाँच देशका २७ कम्पनीको प्रस्ताव

बिजमाण्डू
२०७७ असोज १५ गते १४:१९ | Oct 1, 2020
काठमाडौं-तराई मधेश द्रुतमार्गको सुरुङमार्ग बनाउन पाँच देशका २७ कम्पनीको प्रस्ताव



काठमाडौं। काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको 'माइलस्टोन' मानिएको सुरुङमार्ग निर्माण गर्न २७ वटा अन्तराष्ट्रिय कम्पनी इच्छकु देखिएका छन्। 

Tata
GBIME
Nepal Life

नेपाली सेनाले द्रुतमार्ग आयोजनामा पर्ने तीनवटा सुरुङमार्ग निर्माणका लागि दुई प्याकेजमा पूर्वयोग्यता (प्रि-क्वालिफिकेसन) का लागि बोलपत्र आह्वान गरेको थियो। यसमा पहिलो प्याकेजमा २१ वटा र दोस्रो प्याकेजमा २२ वटा गरी कुल ४३ कम्पनीले आवेदन दिएका छन्।

यीमध्ये १६ वटा कम्पनीले दुवै प्याकेजमा आवेदन दिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए। जसमा पाँच देशका कम्पनीहरु रहेका छन्। 

पहिलो प्याकेजमा छोक्रेडाँडादेखि महादेव खोल्सी ३.३ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । दोस्रो प्याकेजमा धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा ( घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ । यी तीनवटै सुरुङमार्ग मकवानपुर जिल्लामा बन्नेछन्। सुरुङमार्गहरुको कुल लम्बाई  ६.४१५ किलोमिटर हुनेछ।

दुई लेनको स्ट्याण्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलबाट गर्न लागिएको हो। जसमा परियोजनाको प्लानिङ, डिजाइन, इन्जिनियरिङ, कन्स्ट्रक्सन र कमिसनिङको काम निर्माण कम्पनी आफैंले गर्नुपर्नेछ।

सहायक रथी पौडेलका अनुसार, अब मूल्याङ्कन  समितिले पेश भएका बोलपत्रहरुको मूल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचीकृत गर्नेछ। आयोजनाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरु सूचीकृत हुनेछन् ।

मूल्याङ्कनको काम दुई हप्तामै सक्ने योजना बनाइएको भएपनि धेरै कम्पनीले आवेदन दिएकाले अब कात्तिकमा यो सक्ने लक्ष्य छ।  सूचीकृत कम्पनीहरुलाई मंसिरमा डिजाइनसहितको बोलपत्रमा भाग लिन दिइनेछ। त्यसमा आर्थिक र प्राविधिक प्रस्ताव पनि पेश गर्नुपर्नेछ ।

सार्वजनिक खरिद नियमावली अनुसार दुवै प्रस्तावमा उपयुक्त ठहरिएको कम्पनीले यो सुरुङमार्ग निर्माणको ठेक्का पाउनेछ। २०८१ वैशाखमा आयोजनाको सम्पूर्ण काम सक्ने लक्ष्य छ।