सिमेन्ट र डन्डीको माग बढ्न थाल्यो, मलमासले नयाँ निर्माण नहुँदा माग सोचे अनुसार भने भएन

बिजमाण्डू
२०७७ असोज २० गते १३:२५ | Oct 6, 2020
सिमेन्ट र डन्डीको माग बढ्न थाल्यो, मलमासले नयाँ निर्माण नहुँदा माग सोचे अनुसार भने भएन

Tata
GBIME
Nepal Life

काठमाडौं। निषेधाज्ञा खुलेपछि सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत हाराहारीमा उत्पादन हुन थालेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि ४० जिल्ला भन्दा बढीमा लगाइएको निषेधाज्ञाका कारण सिमेन्ट र डन्डी उद्योगको उत्पादन ३० प्रतिशत हाराहारीमा झरेको थियो।

‘निषेधाज्ञा खुलेपछि विस्तारै सिमेन्टको माग बढ्न थालेको छ। अहिले ५० प्रतिशतको हाराहारीमा सिमेन्ट उत्पादन भइरहेको छ,’ रिद्धिसिद्धि सिमेन्टका संचालक हरि न्यौपानेले बिजमाण्डूसँग भने, ’निषेधाज्ञा खुलेपछि देशैभरि पानी परेकाले माग बढ्न सकेन। दसैंतिहारपछि विस्तारै बढ्ने अपेक्षामा हामी छौं।’

अर्घाखाँची सिमेन्टका संचालक एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले निषेधाज्ञा खुलेपछि सामान्य मात्रै माग बढेको बताउँछन्। ‘अहिले निषेधाज्ञाभन्दा १० प्रतिशत मात्रै माग बढेको छ। असोजमा मलमास परेकाले समेत नयाँ निर्माण रोकिएका छन्। पुराना पनि कोरोनाका कारण राम्रोसँग अघि बढ्न सकेको छैन्,’ उनले भने, ‘मलमास सकिनेबित्तिकै चाडपर्व लाग्ने भएकाले तत्कालै बिक्री बढ्ने देखिँदैन।’ उनका अनुसार कोरोना र मलमाससँगै यो वर्षको सिजनमा समेत सिमेन्टको बिक्री राम्रो हुने सम्भावना कम छ।

 डन्डीको माग पनि विस्तारै बढ्न थालेको अम्बे स्टीलका संचालक शिवाज न्यौपानेले बताए। ‘डन्डीको माग ५० प्रतिशतको हाराहारीमा पुगेको छ। मलमास सकिनेबित्तिकै एकपल्ट डन्डीको माग ह्वात्तै बढ्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘लकडाउनभन्दा पनि निषेधाज्ञाले बजारलाई ध्वस्त बनाएको थियो। हाम्रो अनुमान विस्तारै बढ्छ भन्नेमा छ।’

अस्वस्थ प्रतिस्पर्धा

माग केही बढे पनि डन्डी उद्योगमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ। श्री स्टीलका संचालक राजेश अग्रवालले संचालनमा रहेका सबै डन्डी उद्योग नोक्सानीमा रहेको बताए।

‘कोरोनाका कारण धेरै डन्डी उद्योग समस्यामा छन्। अहिले नगद दिनेलाई किलोको ६१ रुपैयाँमा डन्डी बिक्री गरिरहेका छन्। नोक्सानी खाएर पनि डन्डी बिक्री भइरहेको छ,’ उनले भने, ‘६ महिना बन्दाबन्दीले धेरै उद्योग व्यवसाय समाप्त हुने अवस्थामा पुगे।’ मुलुकभित्र अहिले २२ वटा डन्डी उद्योग छन्।

ती उद्योगको क्षमता वार्षिक ३० लाख टन छ। तर अहिले कोभिडका कारण डन्डीको माग ९ लाख टन मात्रै छ। ‘उदाहरणका लागि सय किलो उत्पादन भइरहेको छ। तर माग भने ४० किलोको मात्रै हुनेबित्तिकै त्यहाँ बजार लिन अस्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो,’ अग्रवालले भने, ‘अहिले उद्योगीलाई नाफा भन्दा पनि बैंकको ब्याज र कर्मचारीको तलब खुवाउनका लागि नोक्सानीमै भएपनि डन्डी बिक्री भइरहेको छ।’

उनका अनुसार एक/दुई वर्षको अवधिमा आएका सिमेन्ट र डन्डी उद्योग ठूलो संकटमा परेका छन्। ‘बैंक ऋण मुक्त भएकालाई खासै समस्या नहोला। तर भर्खरै आएका उद्योग ठूलो संकटमा छन्। उनीहरुले कसरी रिकभरी गर्छन् भन्न कठिन छ,’ अग्रवालले भने, ‘कमाउने वर्गले समेत कोरोनाका कारण घर निर्माण गरेका छैनन्। उनीहरुले पनि भएको पैसा स्वास्थ्यका लागि चाहिने भन्दै राखिरहेका छन्।’