प्रचण्डको प्रस्ताव फिर्ता गराउन वामदेवलाई ‍ओलीकाे आग्रह, गाैतमकाे जवाफ : कार्यशैली सच्याउनुस्

बिजमाण्डू
२०७७ कात्तिक ३० गते १४:१८ | Nov 15, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिएका छन्।

आइतबार बिहान बालुवाटारमा भएको भेटमा ओलीले गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताको पहल गर्न आग्रह गरेका थिए। तर, गौतमले बैठकबाट समाधान खोज्न सुझाएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए।

'यसरी छलफल गरेर प्रस्ताव फिर्ता हुँदैन। यसका लागि बैठक बसौं। बैठकमा यही प्रस्ताव राख्नुस् र छलफल गरौैं। प्रस्तावभन्दा पनि मुख्य तपाईंको कार्यशैली सच्चिने कुरा हो। कार्यशैली सच्चियो भने प्रस्ताव नै गौण हुन्छ भन्ने कुरा उपाध्यक्षले राख्नुभएको छ,' सुवेदीले भने।

गौतमले ओलीलाई कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चल्ने स्थिति बनाएमात्र प्रस्ताव फिर्ता हुने बताएका थिए। गौतमले ओली यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता नहुने चेतावनी समेत दिएका छन्।

'कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चलाउने स्थिति बनाउनुस्। यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता हुँदैन। यो पाँचै जनाको प्रस्ताव हो,' गौतमको भनाई सुवेदीले उद्धृत गरे।

दुई नेताबीच एक घण्टा छलफल भएको थियो।