करिब ७ अर्ब रुपैयाँको सेयर कारोबार, ५० अंकको उतारचढाव, बैंकिङले जोगायो बजार

बिजमाण्डू
२०७७ मंसिर ७ गते १५:२२ | Nov 22, 2020
करिब ७ अर्ब रुपैयाँको सेयर कारोबार, ५० अंकको उतारचढाव, बैंकिङले जोगायो बजार

Tata
GBIME
Nepal Life

काठमाडौं। छोटो समयका लागि १८०० अंक नाघेको सेयर बजारमा लगानीकर्ता नाफा सुनिश्चिततातिर लाग्दा तीव्र उतारचढाव देखिएको छ। बजारमा ५० अंकको उतारचढाव देखिएको हो। 

सेयर बजारमा ब्यापक उतारचढाव देखिए पनि कारोबार रकमले अर्को नयाँ रेकर्ड कायम गरेको छ। गत बिहीबार अहिलेसम्मकै उच्च ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको थियो । आज ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।

हिजोअस्ति ब्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु त्यहाँको सेयर बेचेर बैंकतिर लागेका थिए। उनीहरुले ती समूहको सेयर आपूर्ति बढाउँदा बजार हरियो-रातो-हरियो भइरहेको थियो।

लगानीकर्ता तुलनात्मक रूपमा सस्तो देखिएको वाणिज्य बैंक र विकास बैंकका सेयरतिर झुम्मिएका छन्। अचानक माग बढेका कारण वाणिज्य बैंक समूह केही बढेको छ। विकास बैंक समूहमा भने बढ्ने दबाब थियो। घरिघरि यो समूह रातो भएको थियो। अन्ततः १३.४६ अंकले बढेर बन्द भएको छ। बजार बन्द हुनु केही मिनेट अगाडि मात्र अन्य समूह उकालो लागेको छ। 

वाणिज्य बैंक समूह २९.४४ अंकमाथि उक्लिएको छ। वाणिज्य बैंक र विकास बैंकले गर्दा नै आइतबार सेयर बजार हरियो भएर बन्द भएको हो। खासगरी बीमा, लघुवित्त र जलविद्युत समूहको सेयर मूल्य घटेको छ।

बजार सूचक ४.६९ अंकले उक्लिएर १७८२.८१ अंकमा पुगेको हो। सुरुमा सेयर बजार साढे ३३ अंक हाराहारीले बढेको थियो। बजार १६ अंकसम्म रातो भएको थियो। यद्यपि बजारले दुई पटक १८११ अंकलाई छोएको थियो। यो भनेको उच्चतम अंक १८८१ भन्दा ७० अंक कम मात्र हो।

तिहार बिदापछि खुलेको बजार लगातार दुई दिन बढेर ६० अंक माथि पुगेको थियो। आज पनि सुरुवातबाट बजार हरियो भएको थियो। बजार निरन्तर बढेपछि लगानीकर्ताहरु बेचेर अर्को समूहतिर 'सिफ्ट' हुन थालेका थिए। यही कारण बजारलाई असर गरेको हो।

बजार केही समय १६ अंकसम्म घटेको थियो। २ बजेर ३६ मिनेटबाट फेरि बजार हरियो भएको थियो। अन्तत बढेर बन्द भएको हो।

आइतबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने १० कम्पनीको कुल हिस्सा ३९ प्रतिशत छ। सदाझैं नेपाल रि-इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक भएको छ। कम्पनीको सेयर ५७ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। 

कम्पनीको १६ प्रतिशत सेयर सर्वसाधारणमा छ। सर्वसाधारणतर्फ पनि सगरमाथा इन्स्योरेन्सले सबैभन्दा ठूलो हिस्सा राखेको छ। नबिल इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्डले कम्पनीको सेयर बेच्दा एनआइबिएल सहभागित फण्ड, ग्लोबल आइएमइ समूहगत स्किम-१ र सानिमा इक्विटी फण्डले सेयर उठाएका छन्। संस्थागत लगानीकर्ताहरुको आकर्षण बढ्दा कम्पनीको कारोबार बढेको हो। सगरमाथाले मात्र १६ लाख १८ हजार कित्ता उठाइसकेको छ।

यसपछि नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कम्पनीको सेयरमा २७ वटा संस्थाको संस्थागत लगानी छ। यसमध्ये चार वटाले थोरै थोरै बिक्री गरे पनि अधिकांशले खरिद गरेका छन्। यही कारण पनि कम्पनीको सेयर कारोबार पछिल्लो समय बढिरहेको छ।

नेपाल टेलिकमको पनि २७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि हिमालयन डिस्टिलरीको २६ करोड ५३ लाख, नेपाल बैंकको २२ करोड ९८ लाख, प्रभु बैंकको २२ करोड ३७ लाख, नबिल बैंकको २१ करोड ५७ लाख, नेको इन्स्योरेन्स २१ करोड ३८ लाख, शिवम् सिमेन्ट २० करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १७ करोड ७४ लाखको कारोबारसहित एनआइसी एसिया मुख्य १० कम्पनीभित्र पर्न सफल भएको छ।

केही दिनदेखि निरन्तर बढिरहेको साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य ४४१ रुपैयाँले घटेको छ। यद्यपी यो कम्पनीभन्दा धेरै गुमाउने (प्रतिशतका हिसाबले) मा माउन्टेन हाइड्रो र राष्ट्रिय बीमा कम्पनी लिमिटेड (संस्थापक) रहेको छ। कम्पनीको साधारण सेयरको मूल्य पनि घटेको छ। 

सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको इकाइ मूल्य १० प्रतिशतले बढेको छ। यसपछि बढ्नेमा जानकी फाइनान्स रहेको छ। कम्पनीको सेयर मूल्य ९.२१ प्रतिशतले बढेको छ।