बालाजु ‍औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थाले, माग नआउँदा क्षमताभन्दा निकै कम उत्पादन

बिजमाण्डू
२०७७ मंसिर ८ गते १४:११ | Nov 23, 2020
बालाजु ‍औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थाले, माग नआउँदा क्षमताभन्दा निकै कम उत्पादन

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९ संक्रमणको दर बढेयता प्रभावित बालाजु औद्योगिक क्षेत्र भित्रका अधिकांश उद्योगहरु सञ्चालनमा आउन थालेका छन्।

बजारमा चहलपहल बढ्न थालेपछि सञ्चालन भएका औद्योगिक क्षेत्रका उद्योगहरुको उत्पादन परिमाण भने बढ्न सकेको छैन। पहिलेभन्दा माग घट्न थालेकाले क्षमताभन्दा कम उत्पादन गर्नु परेको व्यवसायीहरुले बताएका छन्। यतिबेला बजारमा मागको अवस्था हेरेर उद्योगले उत्पादन गर्ने गरेको छन्।

पानी प्रशोधन र बिस्कुटका उद्योगको उत्पादन सन्तोषजनक भए पनि अन्य उद्योगले पूरा क्षमतामा उत्पादन गरेका छैनन्। उत्पादित वस्तु सबै बजारमा जान नसकेको र माग पनि घटेर आउनु थाल्नुको प्रभाव उद्योगहरूमा परेको छ। 

उद्योग खुले पनि बजारमा माग नहुँदा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बालाजु औद्योगिक क्षेत्रका पूर्व अध्यक्ष मिलनप्रेम श्रेष्ठले बताए। 'उद्योगहरू सधैं बन्द राख्ने कुरा भएन। चल्न थाले तर उनीहरूले गर्ने उत्पादनको माग नबढेसम्म पूर्ण क्षमतामा चल्न सक्ने अवस्था छैन,' उनले भने, 'बजार नर्मल भएर माग बढ्यो भने सबै उद्योग पूर्ण क्षमतामा चल्नेछन्।' 

बजारबाट अपेक्षित परिमाणमा माग नआउँदा उत्पादित वस्तु स्टकमा राख्नु परिरहेको उद्योगीहरूको भनाइ छ। कोरोना महामारीको संकट कम भएर बजार सामान्य अवस्थामा फर्किने दिनको प्रतीक्षा रहेको उनीहरूको भनाइ छ।  

कोरोना संकट सुरू भएयता उपभोक्ताले आवश्यकता बाहेकका वस्तु तथा सेवाहरुको प्रयोग घटाएका छन्। यसका कारण बजारमा माग कम भएको छ। 'यतिबेला ४० प्रतिशत व्यापार भए पनि खुसी हुनुपर्ने अवस्था छ,' पूर्वअध्यक्ष श्रेष्ठले भने।
यो औद्योगिक क्षेत्रमा एक सय ४२ वटा उद्योग स्थापना भएकाए रेकर्डमा छ। लकडाउन अघि एक सय ३० वटाको हाराहारीमा सञ्चालन हुँदै आएका थिए। लकडाउनको समयमा खाद्यान्न र डेरीका उद्योगहरुमात्र चलेका थिए। अहिले एक सय १० वटाको हाराहारीमा उद्योग सञ्चालन भइरहेको छ।

धेरैजसो उद्योग खाद्यान्नका छन्। लकडाउनपछि उ्दयोगहरूमा कामदार संख्या घटेको थियो। बिस्तारै कामदार आउन थाले पनि उत्पादित वस्तुको माग अपेक्षित परिमाणमा नबढ्दा धेरैजसो उद्योग खुले पनि आधाभन्दा कम क्षमतामा चलेका छन्। पहिले २४ घण्टा चल्ने उद्योग अहिले १० देखि १४ घण्टामात्र चल्ने गरेका छन्। 

हिमालयन मल्टिप्लाष्ट इन्डष्ट्रिज प्रालिका अनुसार उत्पादन भएका सामान माग घट्दा बजारमा पठाउनए परिमाण घटेको छ। हिमालयनले प्लाष्टिकका सामान उत्पादन गर्ने गरेको छ । 

बिस्कुट उत्पादक नेबिको प्रालिले भने उद्योगको क्षमता बढाएर काम गरिरहेको छ। थप नयाँ परिमाण उत्पादन गर्न लागेको जनरल म्यानेजर केशव भट्टराईले बताए। 'लकडाउनका बेला माग अनुसारको उत्पादन गर्ने गाह्रो भएको थियो,' उनले भने, 'यतिबेला उत्पादनहरु थप गर्न लागेका छौं।'