एक महिनापछि तातोपानी नाकाबाट भित्रियो चिनियाँ स्याउ, ढुवानी लागत बढ्दा महँगियो भाउ

सरला सुवेदी/बिजमाण्डू
२०७७ मंसिर २५ गते १०:५९ | Dec 10, 2020
एक महिनापछि तातोपानी नाकाबाट भित्रियो चिनियाँ स्याउ, ढुवानी लागत बढ्दा महँगियो भाउ

Tata
GBIME
Nepal Life

काठमाडौं। तातोपानी नाकाबाट चिनियाँ स्याउ नेपाल भित्रिन थालेको छ। लामो समय नाकामा रोकिएर भित्रिन पाएको स्याउमा ढुवानी भाडा धेरै परेकाले महँगिएको व्यवसायीले बताएका छन्।

तिहारताका व्यवसायीहरुले गरेको अर्डरको स्याउ तीन सातापछि बल्ल भित्रिन पाएको हो। नाकामा सिण्डिकेट हुनाले तोकिएको समयमा फलफूलसमेत आउन सकेको छैन। चिनियाँ फुजी स्याउ बजारमा उपभोक्ताको रोजाइमा छ।

उत्तरी नाकाबाट सामान छाड्न चिनियाँ अधिकारीहरूले कडाइ गर्दा थोक व्यवसायीहरूले री-रुट गरेर कोलकाता बन्दरहगाहबाट भारतीय सीमानाका हुँदै चिनियाँ स्याउ नेपाल भित्र्याइरहेका थिए। 'तातोपानीबाट स्याउ भित्रिन थालेको ५ दिन भयो। अहिलेसम्म १० देखि १५ नेपाली कन्टेनर बजारमा आइपुगेको छ,' कुलेश्वर फलफूल बजार विकास समितिका अध्यक्ष अमर बानियाँले भने, 'कन्टेनर धेरै दिन रोकिँदा पनि चिसोले गर्दा स्याउ बिग्रिएका छैनन्।'

ढुवानी खर्च बढेको असर भने स्याउको कारोबार मूल्यमा परेको उनले बताए। उक्त स्याउ बजारमा आइपुग्दा ढुवानी लागत जोडिएर पहिलेभन्दा प्रतिकेजी एक सय रुपैयाँसम्म भाउ बढेको उनले बताए। 'कोभिडपछि नै उत्तरी नाकाबाट आयात भएका सामाग्रीहरुको ढुवानी खर्च महंगो भएको छ। त्यसको प्रत्यक्ष असर कारोबार मूल्यमा परेको छ,' उनले भने।

व्यवसायीहरूका अनुसार हाल देशभरका बजारमा गरी दैनिक २०० टन स्याउको माग छ। तातोपानी नाकाबाट दैनिक २० देखि ४० टन आउँदा बजारमा आपूर्ति सहज भइसकेको छैन। पहिले जस्तो ढुवानीमा सिण्डिकेट लागू नभए स्याउको मूल्य ५० देखि एक सय रुपैयाँसम्म सस्तिने बानियाँको भनाइ छ।

उत्तरी नाकाबाट आयात असहज भएका कारण यो वर्ष स्याउको भाउ घट्न सकेको छैन। बजारको माग धान्न कुलेश्वरका थोक व्यवसायीले विराटनगरबाट समेत महंगो मूल्यमा खरिद गर्दै आएका थिए। तातोपानी भन्सारबाट हाल फलफूल, मेशिनरी र कपडा बिस्तारै भित्रिन थालेको छ। चिनियाँ अधिकारीहरूले हाल दैनिक १० कन्टेनर फलफूल पठाइरहेको तातोपानी भन्सारले जनाएको छ।

नेपाली उत्पादन घट्यो, भारतीय सुन्तलाको माग
दसैंअघि नै आएर मंसिर दोस्रो सातासम्म निकै कारोबार भएको भारतीय सुन्तलाको बजारमा फेरि माग भएको छ। सिजन अनुसार मंसिर दोस्रो साताबाट नेपाली सुन्तला बजारमा हुनुपर्ने हो।

तर रोगले गर्दा उत्पादन घटेर स्वदेशी सुन्तला बजारमा मागका अनुपातमा नआएको व्यवसायीले बताएका छन्। तुलनात्मकरूपमा स्वादिला नभए पनि बजारमा आएका स्वदेशीभन्दा भारतीय सुन्तला सस्तो छ।यतिबेला भारतबाट दैनिक ५० देखि ६० टन सुन्तलाको आयात र बिक्री भइरहकेको अध्यक्ष बानियाँले बताएका छन्। स्वदेशी सुन्तला आउन थाले पनि रोगका कारण कम गुणस्तर र दाना साना उत्पादन भएकाले बिक्री बढ्न सकेको छैन।

बिहेको सिजन चलिरहेकाले फलफूलको खपत बढेको हो। नेपाली उत्पादनको गुणस्तर राम्रो हुँदा भारतीय सुन्तलाले बजार पाउने थिएन।भारतमा उत्पादन बढेकाले मूल्य सस्तिएर आधै घटेको छ। गत महिना सुरुको लट आउँदा प्रतिकेजी १२० रुपैयाँमा बिक्री भएको थियो।

केरा भने महँगिएको छ। केरा पनि स्वदेशी उत्पादन निकै कम बजारमा छ। भारतीय नै प्रशस्त मात्रामा आयात भइरहेको व्यवसायीले बताएका छन्। थोकमै महँगिएको केरा खुद्रा बजारमा प्रतिदर्जन १३० रुपैयाँभन्दा बढीमा उपभोक्ताले खरिद गर्दै आएका छन्। थोक बजारमा यतिबेला भारतीय सुन्तला प्रतिकेजी ६० देखि ७० रुपैयाँ प्रतिकेजी छ। स्याउ प्रतिकेजी १४० देखि २६० रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ भने केरा ९० रुपैयाँ दर्जन र मौसम १३० रूपैयाँभन्दा माथि रहेको व्यवसायीले बताएका छन्।