काठमाडौं। हप्तै भरी निकै उतारचढाव देखिएको सेयर बजार एक सातामा १०० अंकले घटेको छ। साताको अन्तिम दिन भने ८ अंकले बढ्दै सेयर बजारले सुखद क्लोजिङ गरेको छ।
कारोबार रकम घटेपनि दिनभर उतारचढाव देखिएको बजार २० अंक सम्म घटबढ हुँदै अन्त्यमा ८ अंकले बढेर बन्द भएको हो।
कारोबार रकम भने यो हप्ताकै सबैभन्दा कम रहेको छ। आइतबार ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको बजारमा बुधबार सम्म पौने ५ अर्ब रुपैयाँको कारोबार भएको थियो। बिहीबार भने कारोबार रकम थप खस्किदै ४ अर्ब १४ करोड रुपैयाँमा सिमित भएको हो।
बिहीबार लिबर्टी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लाग्दा नारायणी डेभलोपमेन्ट बैंक र प्रभु बैंकको प्रमोटर सेयर मूल्य पनि १० प्रतिशतले नै बृद्धि भएको छ। त्यस्तै हिमालयन डिष्ट्रिलरीको सेयर मूल्य अन्तिम १० मिनेटमा १० प्रतिशतले बढेको छ।
२ दिन लगातार १० प्रतिशतले बढेर कारोबार भएको माथिल्लो तामाकोशीको सेयर मूल्य बिहीबार १० प्रतिशतले नै घट्यो। रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य पनि बिहीबार सर्वाधिक घट्ने कम्पनीको सूचीमा छ।
एक महिना देखि सर्वाधिक कारोबार हुँदै आएको नेपाल पुनर्बिमा कम्पनीको कारोबार खस्किएको छ। बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३७ करोड रुपैयाँको सेयर किनेबच भएको छ। पुनर्बिमा कम्पनीको भने ३५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ।
त्यस्तै बजार बन्द हुनु १० मिनेट अघिदेखि सर्वाधिक किनबेच हुन थालेको हिमालयन डिष्ट्रिलरीको सेयर १८ करोड रुपैयाँको किनबेच भएको छ। नेपाल टेलिकमको १३ करोड रुपैयाँको कारोबार हुँदा माथिल्लो तामाकोशीको १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
प्रभु र सनराइज बैंकको सेयरमा अधिक माग रहँदा माथिल्लो तामाकोशी, अरण भ्याली र अरुण काबेली हाइड्रोपावरको सेयरमा बिक्री चाप अधिक रहेको थियो।
दिनभरीमा २ सय ४ कम्पनीको सवा ४ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा ९६ कम्पनीको मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको मूल्य स्थिर रहेको छ।