बजारमा ६४ अंकको उतारचढाव: मुस्किलले बढेर बन्द, कुल कारोबारको २१ प्रतिशत नेपाल लाइफको

बिजमाण्डू
२०७७ पुष ८ गते १५:१९ | Dec 23, 2020
बजारमा ६४ अंकको उतारचढाव: मुस्किलले बढेर बन्द, कुल कारोबारको २१ प्रतिशत नेपाल लाइफको


Tata
GBIME
Nepal Life

काठमाडौं। अघिल्लो दिन ९५ अंकले बढेको सेयर बजारमा बुधबार तीब्र उतारचढाव देखिएको छ। केही समय रातो रहेको बजार अन्तत: ७ अंक बढेर बन्द भएको छ।

बजारमा  दिनभरीमा ६४ अंकको उतारचढाब देखिएको छ। २०९४ अंकबाट खुलेको बजार २१२७ अंकसम्म पुगेको थियो। त्यसपछि घट्दोक्रममा सूचकमा उतारचढाव आएको थियो। सूचक २०६३ अंकसम्म ओर्लिएको थियो। 

सूचमा बीमा र बाणिज्य बैंक समूहले उचालेको बजारलाई दुबै समूहले खासै साथ दिएनन्। अन्य बाँकी सूचक घटेरै बन्द भए। साढे ९ सय अंकसम्म बढेको जीबन बीमा सूचक ३९४ अंक मात्रै बढ्यो। बाणिज्य बैंक समूह पनि २४ अंकले मात्रै उक्लिएको छ। 

सूरुको केही मिनेट बजारलाई नेपाल लाइफले उचालेको थियो। १० प्रतिशत सर्किट लागेर केही बेर कारोबार भएन। त्यसपछि बृद्धि दर घट्न थाल्यो। नबिल बैंकको भने सुरुमै सर्किट लाग्यो, जुन अन्तिमसम्म कायम रह्यो। नेपाल लाइफ मूख्य ८ को सूचीभित्र मात्र अटाएको छ।

दिनभरीमा ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल २०३ कम्पनीको सेयर किनबेच भएको हो। निरन्तर बढिरहेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य फेरि त्यसैगरी घट्न थालेको छ। ६३६ रुपैयाँमाथि पुगेको सेयर मूल्य बुधबार ३९३ रुपैयाँमा झरेको छ। 

नेपाल लाइफको सेयर मूल्यमा सूरुमा सर्किट लागेर फेरि फर्किएपछि कारोबार रकमले भने तिब्रता पाएको छ। एउटै कम्पनीको सेयर कारोबार यति ठूलो आकारमा भएको यो संभवत पहिलो पटक हो। कम्पनीको एक अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। कुल कारोबारको यो २१ प्रतिशत हो।

दोस्रोमा नेशनल लाइफको ४५ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। एनआइसी एसियाको ३३ करोडको किनबेच भएको छ। नबिल बैंकको २७ करोड ९१ लाख पैयाँको कारोबार भएको छ भने रिइन्स्योरेन्स कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको किनबेच भएको छ।