कोरोनामै श्रीलंकाले विदेशी पर्यटक भित्र्याउने अभियान थाल्यो, पीसीआर रिपोर्ट भने अनिवार्य

रासस
२०७७ पुष १४ गते ११:१५ | Dec 29, 2020

Tata
GBIME
Nepal Life

कोलम्बो। कोरोना महामारी फैलिइरहेका बेला श्रीलंकामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ। विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ।

विमानस्थल खुल्ला गर्दै विदेशी पर्यटक भित्र्याउने अभियान नै सुरु गरेको सरकारी अधिकारीले जानकारी दिएका छन्। श्रीलंकाले गत मार्चदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा स्थगित गरेको थियो। बन्दारानाइके अन्तर्राष्ट्रिय विमानस्थलका अध्यक्ष जीए चन्द्रासिरिले सिन्ह्वालाई दिएको जानकारी अनुसार २०० जना युक्रेनी पर्यटक मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंका आउने भएका छन्।

आगामी दिनमा विमानबाट धेरै पर्यटकहरू आउने श्रीलंकाको सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन्। श्रीलंका आउँदा कोरोना भाइरसको परीक्षण गरिएको पीसीआर रिपोर्ट पनि पेस गर्नु पर्ने र त्यो रिपोर्टमा कोरोना भाइरसको संक्रमण नभएको देखिनुपर्ने सर्त पनि राखिएको छ। श्रीलंकामा कोरोना भाइरसबाट अहिलेसम्म ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

यहाँ अहिले दोस्रो चरणको महामारी चलिरहेको छ। श्रीलंकामा २४ घण्टामा कोभिड–१९ संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख छ। सक्रिय संक्रमितको संख्या झण्डै आठ हजार रहेको र १८६ भन्दा बढी संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप सावधानी अपनाउन लागिएको बताएको छ। श्रीलंकाको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द छन्। राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामीण बस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ। ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी सावधानीका उपायलाई कडाइका साथ लागू गरिएको छ।