अमेरिकाका उद्योगपतिहरुले भने, ‘अहिले नै डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसबाट हटाऔं’

बिजमाण्डू
२०७७ पुष २३ गते ०९:०२ | Jan 7, 2021

Tata
GBIME
Nepal Life

अमेरिकी संसदको संयुक्त सत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि ट्रम्पलाई अहिले नै ह्वाइट हाउसबाट हटाउन माग गरिएको छ।

जो बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नका लागि चलिरहेको सत्रमा समर्थकहरुले आक्रमण गरेपछि अमेरिकी उद्योगपतिहरुले ट्रम्पलाई हटाउन आह्वान गरेका हुन्।

एक्सन मोबिल कर्प, फाइजर, टोयाटा मोटर कर्प, लगायत १४ हजारभन्दा बढी कम्पनीहरु संलग्न संस्थाका बिजनेस ग्रुपले ट्रम्पलाई राष्ट्रपतिबाट अहिले नै हटाउने बारेमा सोच्न आग्रह गरेका हुन्।

अमेरिकाको नेशनल म्यानुफ्याक्चर्स एशोसिएसनका अध्यक्ष जे टिम्मनसले ट्रम्पले क्यापिटलभित्र हिंसा फैलाउन उक्साएको आरोप लगाएका छन्। शक्तिमा रहिरहन ट्रम्पले संविधानको उल्लंघन गरेको भन्दै टिम्मनसले उपराष्ट्रपति माइक पेन्स र अमेरिकी क्याबिनेटलाई ट्रम्पलाई हटाउन आग्रह गरेका हुन्।

ह्वाइट हाउसमा ट्रम्पको कार्यकाल अब मात्र १४ दिन बांकी छ। जो बाइडेनले जनवरी २० मा नयाँ राष्ट्रपतिको रूपमा सपथ लिँदैछन्।

अन्य व्यापारिक संघसंस्थाले पनि सदनमा भएको आक्रमणको विरोध गरेका छन्। तर म्यानुफ्याक्चर्स ग्रुपले जस्तो कडा विज्ञप्ति भने जारी गरेका छैनन्।

ह्वाइट हाउससँगै कार्यालय रहेको अमेरिकाको चेम्बर अफ कमर्सले पनि हिंसात्मक प्रदर्शनको विरोध गरेको छ। चेम्बरले राष्ट्रपति निर्वाचनको प्रक्रिया पूरा गर्न कंग्रेसले आफ्नो काम सुरु गर्नुपर्ने बताएको छ।