काठमाडौ। मंगलबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। ५ अंकले घटेर २३२६ बिन्दुमा रोकिएको बजारमा कारोबार रकम भने साढे सात अर्ब रुपैयाँ पुगेको छ।
अधिकांश उपसूचक रातो भएको बजारमा जीवन बीमा, फाइनान्स र व्यापार समूहको उप सूचक मात्रै हरियो भएका छन्। जीवन बीमा समूह ५३५ अंकले बढ्दा सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बीमा समूह १२४ अंकले घटेको छ।
बजार घट्दा पनि ७ कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लागेको छ। नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलोपमेन्ट बैंक, जानकी फाइनान्स र प्रभु लाइफको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
नेपाल लाइफको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ।सर्वाधिक कारोबार हुने कम्पनीमा भने नेपाल लाइफको करिब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। प्रभु बैंकको ३५ करोड रुपैयाँको किनबेच हुँदा पुनर्बीमा कम्पनीको ३० करोड रुपैयाँको किनबेच भएको छ।
नेपाल टेलिकमको २९ करोड रुपैयाँ र एचआइडीसीएलको २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। २०६ कम्पनीका एक करोड ६३ लाख कित्ता सेयर सात अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन्।
६ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ५५ वटा कम्पनीको मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।