बजारमा खानेतेलको आपूर्ति अझै असहज, निर्यात गर्छन् तर आन्तरिक बजारलाई दिँदैनन् उद्योगी



सरला सुवेदी/बिजमाण्डू
२०७८ चैत्र २८ गते १३:२४ | Apr 11, 2022
बजारमा खानेतेलको आपूर्ति अझै असहज, निर्यात गर्छन् तर आन्तरिक बजारलाई दिँदैनन् उद्योगी



काठमाडौं। खानेतेलमा उपभोक्तालाई दोहोरो मार परेको छ। एकातिर मूल्य आकासिएको छ, अर्कातिर बढेकै भाउमा भए पनि किन्छु भन्नेले सजिलै पाउँदैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले पनि आँखा चिम्लिदिँदा आन्तरिक बजारमा अभाव भएको हो।

Tata
GBIME

खानेतेल अचाक्ली महँगो त छँदैछ, दुई महिनायता बजारमा आपूर्ति नै सहज छैन। उद्योगीहरुले रुस र युक्रेन युद्धको असरलाई कारक देखाउँदै प्रशोधित तेलमा मूल्यवृद्धि गरिसकेका छन्। महँगो बनाइएकै तेल पनि बिक्रीवितरण सुलभ छैन।

चालु आर्थिक वर्षको आठ महिनामा नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम, सोयाबिन, भटमास तेल लगायतको छ। आठ महिनामा तेस्रो देशबाट  कच्चा पदार्थ आयात भएर ८४ अर्ब बराबरको प्रशोधित तेल भारत निर्यात भएको छ। यो कुल निर्यातको ५७ प्रतिशत हिस्सा हो। 

रुस र युक्रेनको युद्धको लामो समय भए पनि व्यवसायीहरुले बजारको माग अनुसारको खानेतेल खरिद गर्न पाएका छैनन्। उपभोक्ता हालसम्मकै उच्च मूल्यमा तेल किन्न बाध्य छन्। यतिबेला आन्तरिक बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज नभए पनि  नेपालबाट भारततर्फ हुने निर्यात रोकिएको छैन। तोरी तेल भारत जाँदैन, तर नेपाली बजारमा सजिलै पाइँदैन।

स्थानीय बजारमा तेल बिक्री गर्न छोडेर उद्योगीहरु निर्याततर्फ लाग्दा असर उपभोक्ताको भान्छा परेको छ।  कच्चा पदार्थ आयात गरी प्रशोधनपछि निर्यात गर्दा उद्योगीहरुलाई फाइदा हुन्छ। त्यसैले अहिले उद्योगहरुले स्वदेशी बजारमा बिक्री गर्ने तेलको परिमाण कम गर्न थालेको पाइएको छ। 

'कम्पनीहरुले खानेतेलको मूल्य त बढाए बढाए, मागको अनुपातमा बजारलाई सप्लाइ दिन दिन छाडे,' खाद्य किराना व्यवसाय संघका महासचिव अमुलकाजी श्रेष्ठले भने, 'अहिले तेल उद्योग र डिलर्सले व्यवसायीहरुले मागेजति तेल नदिँदा बजारमा आपूर्ति प्रभावित भएको हो।' उद्योगीहरुले डलरमा कच्चा पदार्थ आयात गरेर भारुमा आम्दानी लिन ध्यान दिइरहँदा स्वदेशी बजारमा अभाव भएको उनले बताए। 

कतिपय उद्योग र थोक व्यवसायीले थोरै तेल दिएर धेरै लगेको बिल बनाउने गरेको पाइएको उनको गुनासो छ। 'आफूले लगे जति मात्रैको पुरा बिल मागे तेल नै दिन्न भनेर चेतावनी दिन्छन्,' उनले भने। उपभोक्ताले खानेतेल निकै महँगोमा किन्नु परेको छ। थोक व्यवसायीहरुको संगठनले सूर्यमुखी प्रतिलिटर ३ सय, भटमास तेल २ सय ७० र काँचो तोरीको तेल प्रतिलिटर २ सय ९० रुपैयाँ रहेको बताउने गरे पनि बजारमा कतै पनि यो दाममा तेल पाइँदैन। 

पहिले मूल्य बढेको केही समयमै घट्ने गरेको थियो। तर यसपटकको अवस्थाले खानेतेलको मूल्य तत्काल नघट्ने देखिएको व्यवसायी दुर्गाराज श्रेष्ठले बताए। 'युद्ध र शतप्रतिशत मार्जिनलाई कारण बनाएका उद्योगीहरुले तेलको मूल्य बढाए। युद्ध सुरु भएको केही दिनमै कच्चा पदार्थको अभावले उत्पादन घटेको बहाना बनाए,' उनले भने, 'उत्पादित तेल बजारमा नपठाएर निर्यात गर्दा मूल्यवृद्धिको मारमा उपभोक्तालाई अझ मर्का परेको छ।' 

दुई महिनायता बजारमा खानेतेलको आपूर्ति सहज नभएको किराना व्यवसायी कृष्ण भट्टले बताए। 'मूल्य अझै घटेको छैन। हामी पुरानो स्टकको तेल बेचिरहेका छौं,' उनले भने, 'खानेतेलको मूल्यमा एकरुपता नहुँदा पनि उपभोक्तालाई महँगो परेको हो। डिलर्सले प्याकेटमा राखिएको मूल्यमा थोकलाई बिक्री गरिरहेका छन्।'

यस अघि प्याकेटमा उल्लेख भएभन्दा कम मूल्यमा व्यवसायीले उपभोक्तालाई बिक्री गर्थे। 'अहिले तेलको मूल्य मनपरी छ,' उनले भने 'बजारमा तेलको पुरै अभाव भएको होइन। होलसेल र रिटेल व्यवसायीले पर्याप्त तेल खरिद गर्न पाएका छैनन्।' भन्सार महसुलको फाइदा लिएर उद्योगीहरुले तेल धमाधम निर्यात गरिरहेका कारण स्थानीय बजारमा माग अनुसारको आपूर्ति नभएको व्यवसायीहरुको भनाइ छ। 

दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदा र आपूर्ति असहज हुँदा पनि सरकारी अनुगमन निकाय चुपचाप छ। मुलुकको आन्तरिक प्रयोजनका लागि कति स्टक राख्ने भन्ने व्यवस्था छैन।