तरकारीमा वर्षाको प्रभावः बेमौसमीको घट्यो आपूर्ति, वर्षे तरकारी क्रमिक सस्तिँदै, केके बढे-घटे?

बिजमाण्डू
२०७९ असार १३ गते १४:५१ | Jun 27, 2022
तरकारीमा वर्षाको प्रभावः बेमौसमीको घट्यो आपूर्ति, वर्षे तरकारी क्रमिक सस्तिँदै, केके बढे-घटे?



काठमाडौं। वर्षा लागेसँगै बेमौसमी तरकारी महँगिएका छन्। वर्षा लागेसँगै उत्पादन घटेका तरकारीको मूल्य उच्च हुन सुरु भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।  तर वर्षायाममा पाइने तरकारी भने सस्तिएका छन्।

Vigo
GBIME
Tata

समितिका अनुसार वर्षा निरन्तर हुन थालेयता कालीमाटी थोक बजारमा तरकारीको आपूर्तिमा कमी आएको छ। बजारमा भित्रिने परिमाण गत साताभन्दा घटेको छ। गत साता दैनिक सरदर ६ सय टन भित्रिएको तरकारी यो हप्ता घटेर दैनिक सरदर ५ सय टनमा आइपुगेको छ।

सिजन सकिएका तरकारी एक सातामै दोब्बरसम्म महँगो भएको छ। भटमास प्रतिकेजी ९० रुपैयाँबाट १६० रुपैयाँसम्म पुगेको छ। तोरीको साग एक सातामै ४० बाट ८० रुपैयाँ पुगेको छ।  

यसैगरी तामा प्रतिकेजी ८० रुपैयाँबाट १००, काउली प्रतिकेजी ५० बाट ७० रुपैयाँ भएको छ। करेला प्रतिकेजी ३५ बाट ५०, सानो गोलभेँडा ३० बाट ४०, हरियो लसुन २०० बाट २२० रुपैयाँ भएको छ।  

सिजन सुरु भएका वर्षे तरकारीको मूल्य भने सस्तिएको छ। कालिमाटी तरकारी बजारको मूल्यसूची अनुसार केही दिनअघिसम्म किलोको ७० रुपैयाँ रहेको तने बोडी अहिले ३० रुपैयाँ केजीमा आइपुगेको छ। 

यस्तै लौका प्रतिकेजी ६० बाट ५० रुपैयाँ, परवर ४० बाट ३०, बन्दा १०० बाट ७० रुपैयाँ भएको छ। हरियो धनिया आधा सस्तिँदा प्रतिकेजी ५० रुपैयाँमा झरेको छ।