सहुलियत पसलका लागि के छ तयारी, स्टक रित्तिएको चिनी र घ्यू आपूर्तिमा चासो कम

सरला सुवेदी/बिजमाण्डू
२०७९ भदौ २६ गते ०८:५७ | Sep 11, 2022
सहुलियत पसलका लागि के छ तयारी, स्टक रित्तिएको चिनी र घ्यू आपूर्तिमा चासो कम

काठमाडौं। सरकारले बर्सेनि दसैंतिहारलाई लक्ष्य गर्दै सुपथ मूल्य पसलको व्यवस्था गर्छ। आम उपभोक्ताका लागि खाद्यान्नका निश्चित परिमाणमा छुट घोषणा गर्छ। यसपटक पनि तयारी छ तर उपभोक्ताको मागका अनुपातमा सरकारी निकायले खाद्यान्नको व्यवस्थापन गर्न निकै गाह्रो हुने देखिएको छ।

Tata
GBIME
Nepal Life

साल्ट ट्रेडिङमा चिनी छैन। दुग्ध विकास संस्थानमा पर्याप्त मात्रामा घ्यू, बटर मौज्दात छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्रा खरिदको प्रक्रिया नै सुरु गरेको छैन। त्यसैले सरकारले घोषणा गरे पनि यी तीन निकायले उपभोक्ताका लागि खाद्यान्न व्यवस्थापन गर्न गाह्रो छ। 

सरकारले यसपटक चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। दसैंका लागि सहुलियत पसल १५ दिनसम्म सञ्चालन हुनेछ। जसमा ४१ जिल्लाका ४४ वटा आउलेटहरुबाट चामल, दाल, पिठो, मैदा र चिउरामा खानेतेल ७ रुपैयाँको दरले छुट दिने, कर्णाली सिमी र गेडागुडीमा १०, खसीबोका र च्यांग्रामा १० रुपैयाँ छुट दिइ बिक्री वितरण गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

हरेक वर्ष  चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन सरकारको खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सुपथ मूल्य सञ्चालन गर्छन्। दसैंको सहुलियत पसल सञ्चालनका लागि तीनवटै निकाय तयारीमा जुटेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खाद्यान्नको स्टक रहेकाले अहिले खसीबोका र च्याङ्ग्रा कहाँ उपलब्ध उपलब्ध हुन्छ भनेर खोजी गर्न थालेको कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले बताइन्। 'चामल, दाल कम्पनीसँग स्टकमा छ। खसीबोका र च्यांग्रा खरिद गरेर ल्याउने तयारी भइरहेको छ,' उनले भनेिन्, 'घटस्थापनाको आसपासमा दसैंको सहुलियत पसल सुरु हुने भएकाले रिपोर्टिङ भइरहेको छ। हाम्रा शाखा कार्यालयहरुबाट नयाँ सूचना आएको छैन।' 

उनका अनुसार यसपालि पनि ३९ जिल्लामा कम्पनीका ४२ वटा आउलेटहरुबाट सहुलियत दरमा खाद्यान्न बिक्री हुनेछ। उपत्यकामा दाल, तेल, नुन, चामल, गेडागुडी, खसीबोका र च्याङ्ग्रा उपलब्ध भए पनि बाहिरका जिल्लामा सबै खाद्यान्न नपाइने उनले बताइन। यो वर्ष सहुलियत पसलका लागि खाद्यान्न परिमाण र आउटलेटहरु कम्पनीले थपेको छैन।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत पसलका लागि तयारी गरिरहेको जनाएको छ। मन्त्रालयबाट छुट दिएको खाद्यान्नको दर तोकेको पत्र आउन बाँकी रहेको साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। मन्त्रालयले नुन, चिनी, चामल, चिउरा, तोरीको तेल, सूर्यमुखी र तोरीको तेलमा छुटसहित बिक्री गर्न निर्देशन दिने गरेको छ।

सरकारले तोक्ने छुटमा कम्पनीहरुलाई नोक्सान पर्ने भएका सो बराबरको रकम उपलब्ध गराउने गरेको छ। 'एक जना उपभोक्ताले कति परिमाणमा खाद्यान्न खरिद गर्ने भनेर तोकिएन भने व्यापारीहरुले आएर लैजाने सम्भावना हुन्छ,' उनले भने, 'सहुलियत सर्वसाधारणले पाउनुपर्छ भनेर कोटा तोकिन्छ। हामीले चलाउने दसैंतिहार लक्षित पसलको तयारी भइसक्यो, अब  छुटसहितको मूल्य र परिमाण तोक्न बाँकी छ।' 

अघिल्लो वर्ष सुपथ मूल्य पसलमा सूर्यमुखी तेलमा छुट थिएन। यो वर्ष प्रतिलिटर ७ रुपैयाँ छुट पाइने भएको छ। बजारबाट चलेको मूल्यमा खाद्यान्न खरिद गरेर बेच्ने भएकाले सरकारले तोक्ने छुट दिँदा कम्पनीलाई नोक्सान हुने प्रधानले बताए। 'त्यसैले सरकारले तोकेको छुट दिने हो भने कम्पनीलाई त्यो छुट बराबरको पैसा कसरी उपलब्ध हुन्छ भन्ने बारेमा हामी छलफलमा छौं,' उनले भने। 

हालको लागि चिनीको अभाव सबैभन्दा ठूलो समस्या भएको उनले बताए। अघिल्ला वर्ष बजारको भन्दा केजीमा २० रुपैयाँसम्म सस्तो चिनी पाइन्थ्यो। त्यसेले साल्ट ट्रेडिङका आउटलटमा उपभोक्ताको भीड हुने गरेको थियो। अन्य खाद्यान्नभन्दा चिनीको खपत धेरै हुने कम्पनीमा यो वर्ष स्टक शून्य रहेको उनले बताए। 

'नयाँ लट आयात भएर आइपुगेको छैन। मौज्दात सकियो,' बजार प्रबन्धक प्रधानले भने, 'साल्ट ट्रेडिङमा चिनीको स्टक सकिएको २ महिना भइसकेको छ।' सहुलियत पसलमा यसपटक सरकारले चिनी प्रतिकेजी ५ रुपैयाँ छुट दिनुपर्ने तोकेको छ। तर कम्पनीसँग स्टक नभएकाले यो वर्ष उपभोक्ताले सहुलियत पसलमा चिनी नपाउने सम्भावना बढी रहेको उनको भनाइ छ।  

मन्त्रालयले दुग्ध विकास संस्थानलाई सहुलियत पसलमा पनिर, चिज प्रतिकेजी २० रुपैयाँ छुट दिएर बेच्न भनेको छ। घ्युमा प्रतिलिटर ५० रुपैयाँ छुट दिने निर्णय गरे पनि संस्थानम कच्चा दूधसँगै दुग्धजन्य पदार्थ स्टकमा धैरै छैन।  हाल बिक्रीवितरण भइरहेको घ्यु, पनिर र चिजले बजारको मागलाई जसोतसो धान्ने महाप्रबन्धक सन्जिव झाले बताए।

दूध संकलन घटेकाले पनिर र घ्यूको उत्पादनमा असर परेको उनको भनाइ छ। चाडपर्वको समयमा करिब १० देखि १५ हजार केजी घ्यूको माग हुने गरेको छ। 'बाहिरबाट आयात गर्न दिएको छैन। सहुलियत पसलका लागि समय कम छ,' उनले भने, 'यतिबेला कच्चा दूधको संकलन पनि थोरै छ। गत साता आयात गर्न दिएको भए डेरी प्रोडक्ट अभाव हुने थिएन।' 

अब आयातका लागि समय नभएकाले स्थानीयस्तरमा दूध संकलन बढाएर भए पनि घ्यू र बटरको व्यवस्था गर्न संस्थान लागिपरेको उनले बताए। उनका अनुसार अहिले देशभर नै दुग्धजन्य उत्पादन परिमाण घटेको छ। यसकारण सहुलियत पसलमा दुग्धजन्य वस्तुको आपूर्ति सहज बनाउन कृषि मन्त्रालयलमा समेत सहयोग मागेको महाप्रबन्धक झाले बताए।

चाडपर्वमा मागसँगै खपत धेरै हुन्छ। आयात र स्थानीय बजारबाट व्यवस्थापन भएन भने सहुलियत पसलका साथै अन्य समयमा पनि घ्यू, दही, पनिर, बटर र चिजको लगायत दुग्धजन्य पदार्थ पर्याप्त मात्रामा पाउन गाह्रो हुने महाप्रबन्धक झाले बताए।

भारतले चिनी र गहुँपछि कनिका निर्यात रोकेको छ। चामलमा भन्सार बढाएको छ, जसको सोझो असर अब बजारमा चामलको खुद्रा बिक्रीसम्म पर्ने निश्चित नै छ। पेट्रोलियम पदार्थ महँगिदा सार्वजनिक यातायात र ढुवानी भाडा बढेको छ। आम उपभोक्ताका लागि यो दसैं महँगो भएर आउने देखिएको छ।