दसैं सुरु भएसँगै बजार अनुगमनमा काठमाडौं महानगरको तीन टोली परिचालन, नेतृत्व उपमेयरको

बिजमाण्डू
२०७९ असोज ११ गते ११:५९ | Sep 27, 2022
दसैं सुरु भएसँगै बजार अनुगमनमा काठमाडौं महानगरको तीन टोली परिचालन, नेतृत्व उपमेयरको

काठमाडौं। दसैं सुरु भएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमन थालेको छ। महानगरको टोलीले मंगलबार टुकुचास्थित प्रदर्शनीमार्ग क्षेत्रका फलफूल बजारको अनुगमन गरेको छ।

Tata
GBIME
Nepal Life

त्यस आसपासका खाद्यान्न पसलहरुमा पनि टोली पुगेको छ। चाडपर्व लक्षित बजार अनुगमन महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा सुरु भएको हो। मंगलबार तीन समूह बजार अनुगमनमा परिचालित छन्।

‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु बिक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन (११८० र १६६००१०५५११) मा खबर गर्न पनि आग्रह गर्दछौं,’ उपमेयर डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैं पछि पनि निरन्तरता दिन्छौं। उपभोक्ताले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली खटाउछौं।’

उनका अनुसार मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको अनुगमनका क्रममा भेटिएको छ। उनीहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरिएको छ। 'म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौं। हामीले अनुगमन त्यहीअनुसार गरिरहेका छौं,' उनले भनिन्।

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा खाद्यान्नका प्याकेटमा उत्पादन मिति प्रष्ट नभएको र हातले पुछ्दा मेटिने भेटिएको पनि बताइन्। ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै बिक्रि गर्न भनेका छौं,’ उनले भनिन्।

उनका अनुसार कतिपय ठाउँमा लामो समयसम्म पनि मूल्यसूची ‘अपडेट’ गरेको देखिएन।  त्यस्ता पसललाई सकेसम्म दैनिक नभए पनि दिन बिराएर अनिवार्य अद्यावधिक गर्न सुझाव दिइएको छ। 

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयका प्रतिनिधि पनि सहभागी छन् । बजार अनुगमनका क्रममा पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ।