यसपटक तिहारमा सोचेभन्दा बढी फूलको कारोबार, ३१ करोड रुपैयाँको त सयपत्री मात्रै बिक्यो!

बिजमाण्डू
२०७९ कात्तिक १४ गते १६:४२ | Oct 31, 2022
यसपटक तिहारमा सोचेभन्दा बढी फूलको कारोबार, ३१ करोड रुपैयाँको त सयपत्री मात्रै बिक्यो!


काठमाडौं। यसपटकको तिहारमा ३४ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारको ४ दिनमा ३४ करोड ६३ लाख २५ हजार रुपैयाँको ३४ लाख ४५ हजारवटा सयपत्री, मखमली र गोदावरी फूलको खपत भएको छ । 

Tata
GBIME
Nepal Life

यो वर्ष अनुमान गरेभन्दा राम्रो फूलको खपत भएको अध्यक्ष मिन बहादुर तामाङले बताए । 'तिहारमा ठूलो परिमाणमा फूल खपत हुन्छ भन्ने थिएन।'-उनले भने- 'गत वर्षको भन्दा केही बढी फूलको माग बढ्ने अनुमान त थियो। एसोसिएसने १३ करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखेको थियो। तर बजारमा सोचेभन्दा धेरै बढी फूलको माग भयो।'   

 तिहारमा  ३१ करोड ६२ लाख रुपैयाँको ३१ लाख सयपत्री फूलको माला खपत भएको छ । १ करोड ६२ लाख ५ हजार रुपैयाँको ३ लाख ३५ हजार मखमली माला बिक्री भएको छ । साथै एक करोड १० लाख रुपैयाँको  २० हजार  वटा गोदावरी माला खपत भएको हो ।

एसोसिएसनले  थोकमा १३ करोड रुपैयाँ बराबरको २४ लाख फूलको माला खपत हुने अनुमान गरेको थियो। जसमा २० लाख सयपत्री फूलको माला ३ लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको थियो। एसोसिएसनले सयपत्री मालाको खुद्रा बिक्री मूल्य १०२ रुपैयाँ , मखमली ४५ रुपैयाँ र  गोदावरी ५ सय ५० रुपैयाँ  तोकेको थियो । 

तर एसोसिएसनको अनुमानभन्दा धेरै गुना बढीको फूलको कारोबार भएकोले उत्साहित भएको अध्यक्ष तामाङले बताए। तिहारमा सबै भन्दा बढी फूलको खपत बाग्मती प्रदेशमा भएको छ । सो प्रदेशमा मात्र १९ करोड ८३ लाख रुपैयाँ करिब २० लाख माला खपत भएको छ । 

कुल खपतमध्ये प्रदेश १ मा ११ प्रतिशत, लुम्बिनी प्रदेशमा १० प्रतिशत, गण्डकी प्रदेशमा ८ प्रतिशत, प्रदेश २ मा ६ प्रतिशत, सुदुरपश्चिममा ४ प्रतिशत र कर्णाली प्रदेशमा ३ प्रतिशत फूलको खपत भएको एसोसिएसनले जनाएको छ ।

९ लाख सयपत्री फूलको माला आयात 

हरेक वर्ष तिहारमा स्वदेशी फूलले बजारको माग नधान्ने भएकोले भारतबाट कम परिमाणमा आयात हुने गरेको छ। फ्लोरिकल्चर एसोसिएसनले यसपालीको तिहारमा भारतबाट ३ लाख सयपत्री फूलको माला आयात गर्ने भनेको थियो। तिहारमा करिब ९ लाख सयपत्री फूलको माला आयात भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मिन बहादुर तामाङले बताए।

एसोसिएसनले स्वदेशी उत्पादन १७ लाख  र आयातित ३ लाख माला खपत हुने भनेको थियो। २४ लाखवटा सयपत्री फूलको माला स्वदेशीमात्र थियो। यसले गर्दा भारतबाट परिमाण बढाएर आयात गरेको हो।

तिहारका लागि भारतबाट करिब ४ करोड ९५ लाख रुपैयाँको सयपत्री फूलको माला आयात भएको उनको भनाइ छ। सयपत्री फूलको माला पहिलेनै आयात थियो। आयात भएको सबै माला खपत भएको उनको भनाइ छ ।

एक लाख मखमली फूलको माला निर्यात 
तिहारमा नेपालबाट बाहिरी मुलुकमा मखमली माला निर्यात हुने गरेको छ। जसमा यो वर्ष नेपालबाट ४५ लाख रुपैयाँको  एक लाख मखमली फूलको माला निर्यात भएको एसोसिएसनले जनाएको छ।