अधिनायकवाद आएको भन्दै राजपा र नयाँ शक्तिसँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन कांग्रेस प्रस्ताव

बिजमाण्डू
२०७५ साउन ३ गते १३:५६ | Jul 19, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा रहेका लोकतान्त्रिक शक्तिहरुलाई मिलाएर ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन प्रस्ताव गरेको छ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेसले बोलाएको छलफलमा कम्युनिष्ट सरकार अधिनायकवादी बनेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक शक्तिहरु मिल्नु पर्ने धारणा राखेको हो।

छलफलमा कांग्रेस सभापति देउवाले अधिनायकवाद आइसकेकोले अब गठबन्धन बनाएर अगाडि बढ्नु पर्ने प्रस्ताव राखेका थिए। देउवाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलगायतका विषयहरुमा समान धारणा बनाउन पनि आग्रह गरे।

छलफलमा सहभागी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने अहिले कुनै निर्णय दिन नसक्ने धारणा राखेका थिए। राजपाका तर्फबाट नेता राजेन्द्र महतोले पार्टीमा छलफल गरी निर्णय दिने बताएका थिए।

राजपाका अर्का नेता राजकिशोर यादवले भने,‘कांग्रेसको प्रस्तावमाथि हामीले छलफल गर्दैछौं। छलफल पछि हामीले गठबन्धन अथवा अहिलेको विषयहरुमा धारणा बनाउने छौं।’

छलफलमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पनि सहभागी थिए। डा.भट्टराईले डा.गोविन्द केसीको विषयमा आफ्नो धारणा राखेका थिए। तर विस्तृत प्रतिक्रिया अर्को बैठकमा दिने बताए।

कांग्रेसले सरकार विरुद्ध घोषणा गरेको राष्ट्र व्यापी आन्दोलनमा समर्थन खोज्दैछ। जसका लागि उसले गठबन्धन बनाउने तयारी गर्दैछ।