अनलाइनबाट कारोबार गर्न सर्वसाधारणले छिटोमा दशै कुर्नु पर्ने, कम्पनी छनौट गर्ने काम सुरु

बिजमाण्डू
२०७५ असार ५ गते ०९:४९ | Jun 19, 2018
अनलाइनबाट कारोबार गर्न सर्वसाधारणले छिटोमा दशै कुर्नु पर्ने, कम्पनी छनौट गर्ने काम सुरु

 
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तयार गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीबाट कारोबार गर्न आमसर्वसाधारण लगानीकर्ताले छिटोमा दशैंसम्म कुर्नु पर्ने देखिएको छ। नेप्सेले 'युजर एसेप्टेन्स टेस्टिङ (युएटी)' र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै अनलाइन प्रणालीमा कारोबार लैजाने भएकोले कारोबार गर्न दशैं कुर्नु पर्ने भएको हो।
 
नेप्सेले तयार गरेको अनलाइन प्रणालीको बिहीबारदेखि नेपाल स्टक ब्रोकर एसोसिएसनले सिफारिस गरेका पाँच ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परीक्षण भइरहेको छ। ब्रोकर कम्नीले परीक्षण सकेलगत्तै नेप्सेले युएटी गराउने छ।
 
युएटी परीक्षणका लागि एक महिनाको समय राखेर नेप्सेले सूचनासमेत प्रकाशित गरिसकेको छ। युएटी परीक्षणका लागि सफ्टवेयर सेवा प्रदायक कम्पनीहरूले असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन्। सोमवारसम्म  पाँच स्वदेशी/विदेशी कम्पनीले परीक्षणका लागि आशय व्यक्त गरेको नेप्सेका एक अधिकारीले जानकारी दिए। जसमा दुई विदेशी कम्पनी रहेका छन् भने तीन कम्पनी स्वदेशी छन्। आवेदन दिने समय असार १० सम्म रहेकाले यो सङ्ख्या बढ्न सक्ने ती अधिकारीको भनाइ छ।
 
युएटी गर्दा नेप्से र बाइकोबिच भएको करार सम्झौता, एसआरएस (सिस्टम रिक्वायर स्पेसिफिकेसन) बमोजिम सफ्टवेयर बनेको छ/छैन परीक्षणमा एकिन गरिने छ। सफ्टवेयरको सुरक्षा प्रणालीका विषयलाई परीक्षणमा बढी जोड दिइने ती अधिकारीको भनाइ छ। यसैका लागि नेप्सेले अन्तर्राष्ट्रिय स्तरमा काम गरेको कम्पनीलाई प्राथमिकता दिने ती अधिकारीले बताए। युएटी परिक्षणका लागि नेप्सेले करिब एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याको छ।   
 
आवेदन दिएका कम्पनीमध्येबाट आएका आशयपत्रलाई नेप्सेले अध्ययन गरी एक कम्पनी छनौट गर्नेछ। कम्पनीको आशयपत्र अध्ययन गर्ननै नेप्सेलाई कम्तीमा दुईदेखि तीन साता लाग्ने ती अधिकारीको भनाइ छ। अध्ययनपछि छनौट भएको कम्पनीलाई नेप्सेको सञ्चालक समिति बैठकले परीक्षणको अनुमति दिने छ। यो प्रक्रिया सम्पन्न हुन कम्तीमा असार अन्तिम साता सम्म लाग्ने छ।
 
अनुमति दिँदा कम्पनीलाई सम्झौता भएको दुई महिनाभित्र सम्पूर्ण परीक्षण सक्न निर्देशन दिने तयारी नेप्सेको छ। साथै युएटी परीक्षण गर्ने कम्पनीले नै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) समेत प्राप्त गर्ने प्रक्रिया सम्पन्न गर्नु पर्ने प्रावधान नेप्सेले समेट्ने भएको छ। जसले अन्तर्राष्ट्रिय स्तरमै सफ्टवेरको मान्यता पाउने नेप्सेको योजना छ।   
 
परीक्षण गर्ने जिम्मा पाएको कम्पनीलाई परीक्षण सम्पन्न गर्न भदौको अन्तिम सातासम्म लाग्ने छ। युएटी परीक्षण सम्पन्न भएपछि नेप्सेले अनलाइन कारोबार सुरु गर्न नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि अनुमति माग्ने छ। बोर्डले तत्कालै स्वीकृति दिए छिटोमा असोजको दोस्रो सातासम्म सर्वसाधारण लगानीकर्ताले अनलाइनबाट शेयर कारोबार गर्न पाउने छन्। 
 
पूर्ण स्वचालित अनलाइन प्रणाली जडान गर्न नेप्सेले गत वर्ष बेङ्ग्लोरस्थित भारतीय कम्पनी इन्फिनिटी कम्प्युटर सोलुसनलाइ ठेक्का दिएको थियो। कम्पनीको तर्फबाट नेपालको वाइकोले नेप्सेसँग डिल गर्दै आएको छ। सम्झौतामा कम्पनीले १४ महिनामा सम्पूर्ण प्रणालीको विकास गरी नेप्सेलाई हस्तान्तरण गर्ने उल्लेख छ। 

Tata
GBIME
Nepal Life