ब्यापारमा रामदेवलाई टक्कर दिँदै रविशंकर,पतन्जलीसँग प्रतिस्पर्धा गर्न २०० करोड खर्चिने

बिजमाण्डू
२०७५ जेठ २८ गते १४:३६ | Jun 11, 2018

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतमा बाबा रामदेवको पतन्जलीलाई टक्कर दिनेगरी अर्का योगी श्री श्री रविशंकरको ब्राण्ड बजारमा आएको छ। रामदेवको पतन्जलीका उत्पादनहरुले राम्रो बजार बनाइरहेका बेला हर्बल उत्पादनकै साथमा रविशंकरको ब्राण्ड ‘श्री श्री तत्व’ बजारमा आएको हो।

रविशंकरले आफ्नै एफएमसिजी ब्राण्ड बजारमा ल्याएका छन् र त्यसको बजार बढाउन कसरत पनि गरिरहेका छन्। हालै रविशंकरको एफएमसिजी ब्राण्ड श्री श्री तत्वको प्रचारकालागि कम्पनीले २ सय करोड भारु खर्च गर्न लागेको सार्वजनिक भएको छ।

आयुर्वेदिक तथा हर्बल उत्पादनको सेगमेन्टमा नयाँ ब्राण्डका रुपमा श्री श्री रविशंकरले तत्व ब्राण्ड बजारमा ल्याएका हुन्।उनको कम्पनीले भारतभर १ हजार स्टोर मार्फत उत्पादनलाई बजारमा फिँजाउने योजना बनाएको छ।

कम्पनीको प्रचारकालागि मास मिडिया बिज्ञापन तथा आउटडोर क्याम्पेनमाथि ठूलो रकम खर्च गर्ने बताइएको छ। श्री श्री तत्व स्टोर्स श्री श्री आयुर्वेद ट्रस्ट अन्तर्गत खुल्न लागेको हो। ट्रस्टका सिइओ तेज कटपिटियाका अनुसार यो  बर्ष एग्रेसिभ रुपमा बिज्ञापन गरी उत्पादनको बिस्तार गरिने छ।

ट्रस्टले आक्रामक बिज्ञापन गर्ने र यो अघिल्लो वर्षको तुलनामा फरक किसिमको हुने पनि उनले बताएका छन्। ट्रस्टले बर्षमा ४ वटासम्म ठूला बिज्ञापन क्याम्पेन चलाउने छ जसमा ठूला टेलिभिजन च्यानहरुपनि सहभागी हुने बताइएको छ।

ट्रस्टले बिज्ञापनमा खर्च गर्ने बजेटबारे केही पनि जानकारी नदिएपनि यो वर्ष प्रमोसनकालागि २०० करोड रुपैयाँ खर्च गर्न लागेको एजेन्सीहरुले बताएका छन्।
पतन्जली कै जस्तो श्री श्री तत्वको दन्त मन्जन, साबुन, स्याम्पु जस्ता पर्सनल केयरका सामाग्रीहरुका साथै खाद्य उत्पादनपनि ल्याएको छ।

तत्वको पर्सनल केयरतर्फ फेस वास, क्रिम, लोसन, स्याम्पु छ भने घ्यू, चामल, नरिवल तेल जस्ता खाद्य उत्पादनहरु पनि छन्।

पर्सनल केयर तर्फ बजारमा प्राकृतिक तथा हर्बल उत्पादनहरुको बजार ४१ प्रतिशत रहेको अनुमान गरिएको छ।

बाबा रामदेवको पतन्जली आयुर्वेदको बार्षिक बिक्री १० हजार करोडभन्दा बढी रहेको छ। पतन्जलीको टर्नओभरमा तीब्र बृद्धि भैरहेको कारण बहुराष्ट्रिय कम्पनीहरुकै पोर्टफोलियोमा असर परिरहेका बेला श्री श्री रविशंकरको ब्राण्डले पनि बजारमा दह्रो उपस्थिती जनाउने तयारी गरेको बताइएको छ।

रविशंकरको ब्राण्डले बाबा रामदेबकै  ब्यापारको बजार खोस्ने एजेन्सीहरुले अनुमान गरेका छन्।