बोल्दै हिँड्नु छैन,काम ब्यालेन्स सिटमा देखिन्छ,इन्भेष्टमेन्ट बैंकका CEO पाण्डेको अन्तर्वार्ता

बिजमाण्डू
२०७३ मंसिर ५ गते १०:४१ | Nov 20, 2016
बोल्दै हिँड्नु छैन,काम ब्यालेन्स सिटमा देखिन्छ,इन्भेष्टमेन्ट बैंकका CEO पाण्डेको अन्तर्वार्ता
देशमा विकास नभएको होइन। उद्योगधन्दा पनि थपिँदै छन्। जलविद्युत आयोजनाहरु आइरहेका छन्। आयात बढिरहेको छ। खाद्यान्न, कच्चा पदार्थ अर्बौं अर्बको आउँछ। त्यसैले ऋणको माग घटेको भन्ने मलाई लाग्दैन।
 —
बैंकहरुलाई आठ अर्ब चुक्ता पूँजी पुर्याउने दवाव पर्यो। पुँजी वढाउँदै गएपछि त्यसको प्रतिफल त दिनुपर्यो। नभए सेयरधनीले त प्रश्न गर्छन्। प्रतिफल दिनकालागि नाफा गर्नैपर्छ। नाफा बढाउनकालागि लगानी बृद्धि गर्नैपर्छ।
 —
रियलस्टेटमा हामी डुब्नै लागेको भनेर पहिला पहिला बजारमा हल्ला गर्थे। आजको दिनमा हामीसँग त्यस्तो कर्जा दुई प्रतिशत पनि छैन। हाउजिङमा एकदमै न्युन छ। सेयर धितोमा लगानी गर्ने हाम्रो नीति नै छैन। रियलस्टेट अहिले पनि 'ववल' नै हो।
 —

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकमध्ये 'हाइ प्रोफाइल' पहिचान बनाइसकेको नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डे, बैंक जति अग्लिँदै गए पनि आफु भने 'लो प्रोफाइल'मा बस्न रुचाउँछन्। जुनसुकै बिषयमा पनि सार्वजनिक टिका टिप्पणी गर्न रुची नराख्ने पाण्डेलाई बिजमाण्डूका सुदर्शन सापकोटाप्रभात भट्टराईले सोधे- नाफा देखि बिजनेशसम्म बैंक यति प्रभावशाली भइसक्यो तर तपाइँ किन सधैं 'लो प्रोफाइल'मा बस्नुहुन्छ?
 
बैंकरहरुबाट सधैं कर्जा माग नबढेको सुनिन्छ। यसले विस्तारै नाफामा असर गर्न थाल्ने बताइन्छ। तर, हरेक त्रैमासमा प्रकाशित विवरण हेर्दा ऋण सहित नाफा बढेकै देखिन्छ। यो भन्नलाई मात्र भनिएको हो?
म गलत पनि हुन सक्छु, तर मेरो व्यक्तिगत विचार अलि फरक छ। देशमा विकास नभएको होइन। उद्योगधन्दा पनि थपिँदै छन्। जलविद्युत आयोजनाहरु आइरहेका छन्। आयात बढिरहेको छ। खाद्यान्न, कच्चा पदार्थ अर्बौं अर्बको आउँछ। त्यसैले ऋणको माग घटेको भन्ने मलाई लाग्दैन।
 
यहाँ भएका पुराना उद्योगहरुले आफूलाई विस्तार गरिरहेका छन्। हिजोसम्म दैनिक १२०० मेट्रिक टन उत्पादन गर्ने सिमेन्ट उद्योग अहिले १९०० मा पुर्‍याउने तयारीमा छन्। ब्यवसायको आकार वढिरहेको छ। भुकम्पपछि हाउजिङहरुको बजार पनि बढेको छ। दुई आना, चार आना जमिनमा घर बनाएर बेच्ने ब्यापार बढिरहेको छ। यस्तो क्षेत्रमा पनि बैंकहरुको ऋण गइरहेको छ। सेयर बजारमा पनि कर्जा गएको छ। गाडीमा पनि माग छ। त्यसैले बजारमा माग छैन भन्ने कुरा मलाई लाग्दैन।
 
निक्षेप पनि बढिरहेको छ। तैपनि तरलता अभाव जस्तो अवस्था छ। किनभने पहिले कर्जाको वृद्धि केही सुस्त थियो। निक्षेप एग्रेसिभ थियो। अहिले कर्जा लगानी पनि एग्रेसिभ जस्तो देखिन थालेको छ। यसले निक्षेप र कर्जाको ग्याप सानो भयो। यसले गर्दा पनि तरलता अभाव भएको हो।
 
चार महिना अगाडि बैंकहरुले चार प्रतिशतमा सजिलै निक्षेप पाइरहेका थिए। आजको दिनमा त्यो ९ प्रतिशतसम्म पुगिसकेको छ। सरकारले विकास खर्च बढाउन थालेपछि ब्याजदर घट्ला तर अहिले केही माथि पुगेको छ।
 
बैंकहरुलाई आठ अर्ब चुक्ता पूँजी पुर्याउने दवाव पर्यो। पुँजी बढाउँदै गएपछि त्यसको प्रतिफल त दिनु पर्यो। नभए सेयरधनीहरुले त प्रश्न गर्छन्। प्रतिफल दिनकालागि नाफा गर्नैपर्छ। नाफा बढाउनकालागि लगानी बृद्धि गर्नैपर्छ।
 
अहिले लगानीको क्षेत्र निकै प्रतिस्पर्धी भएको छ। प्रतितपत्र खोल्दा प्रतिस्पर्धाले मार्जिन निकै घटेको छ। शुल्क तथा कमिसन आम्दानी निकै घट्न थालेको छ ।
 
निक्षेपमा पनि प्रतिस्पर्धा बढेको छ। केही समयअघिसम्म संस्थागत निक्षेपकर्ताहरु बैंकरलाई बोलाएरै ४ प्रतिशतमा निक्षेप लिइदिनुस् भन्थे। अहिले उल्टो भएको छ। 'सर्ट टर्म'मा यस्तो हुन्छ। रिभर्स भएको छ।
 

सेयरको बारेमा सोध्नुहुन्छ भने मलाई त्यति थाहा छैन। हाम्रो बैंकको सेयरको मूल्य र अरु बैंकको सेयरको भ्यालु 'जस्टिफाइ' हुन्छ र आजको मूल्यमा ? हुँदैन नि। त्यही भएर मैले यो सेयर बजार बुझेको छैन।

बैंकहरुले अहिले पूँजी बढाइरहेका छन्। यो कारणले पनि उनीहरुसँग एउटा राम्रै फन्ड बढेको छ। निक्षेप पनि बढिरहेको छ। अझ कर्जा विस्तार ह्वात्तै हुनुले अर्थतन्त्रले केहि गति लिएको संकेत गरेको हो?
त्यस्तो धेरै उत्साहित हुनु पर्ने अवस्था होइन। तर, आर्थिक कृयाकलाप बढेको भने हो। हाम्रो बैंकमा ट्रेड फाइनान्समा कर्जा माग बढि छ। हाम्रो पहिलेदेखिकै 'स्ट्रेन्थ' हो यो। हाम्रो देशको निर्यातभन्दा पनि आयातमा नै फोकस छ। त्यसमा पनि औद्योगिक कच्चा पदार्थ प्रमुख हो। मेशिनहरु पनि हुन्। तर यो एक पटक आएपछि लामो समयलाई हुन्छ। नियमित आउने भनेको कच्चा पदार्थ नै हो। उद्योग विस्तार भए। त्यसमा लगानी भयो। सिमेन्ट फ्याक्ट्रीहरु आइरहेका छन्। अझै पाइप लाइनमा ५/६ वटा ठुलाठूला सिमेन्ट उद्योग छन्।

यस्तै  'ग्राइन्डिङ युनिट'मा पनि कर्जाको माग छ। जलविद्युतमा उस्तै माग छ। त्यस बाहेक 'कन्जुमर आइटम'मा कर्जाको माग बढिरहेको छ। खासगरी आयातले गर्दा कर्जा माग बढेको हो। कर्जा बढेपछि आर्थिक कृयाकलाप बढ्नु स्वाभाविक हो।
 
भूकम्पपछि घरहरु बनिरहेका छन्। बाटो, पुल पनि बन्दैछन्। यसमा पनि कच्चा पदार्थ चाहिने भइहाल्यो।
 
कर्जा प्रवाहमा अरु बैंक 'एभरेज'मा चल्दा पनि इन्भेष्टमेन्ट बैंक 'एग्रेसिभ' देखिन्छ?
त्यस्तो त होइन। हाम्रो बैंकको पोर्टफोलियो हेर्नुभयो भने एकदमै ब्यालेन्स्ड पोर्टफोलियो देखिन्छ। रियलस्टेटमा हामी डुब्नै लागेको भनेर पहिला पहिला बजारमा हल्ला गर्थे। आजको दिनमा हामीसँग त्यस्तो कर्जा दुई प्रतिशत पनि छैन। हाउजिङमा एकदमै न्युन छ। सेयर धितोमा लगानी गर्ने हाम्रो नीति नै छैन। रियलस्टेट अहिले पनि 'ववल' नै हो। मूल्य एकदमै बढेर गएको छ। सञ्चालक समितिले पनि त्यो क्षेत्रमा नजाने नीति लिएको छ।

हामी अहिले राष्ट्र बैंकले परिभाषित गरेको उत्पादनमूलक क्षेत्रमा नै फोकस भएका छौं। कृषि, उर्जा एवं साना तथा मझौला उद्योगमा हामी लक्षित छौं।
 

राष्ट्र बैंकले पनि पुँजी बृद्धिको नीति लिनु पछाडीको एउटा मुख्य कारण 'संस्था धेरै भए अब घटाउँ' भनेर पनि हो। त्यसैले केन्द्रिय बैंकको नीतिलाई समेत सघाउन एउटा संस्था गाभ्ने निर्णय गरेका हौँ। एस डेभलमेन्ट बैंक गाभ्नुको कारण नै यही हो।

अहिले हाम्रो ८ अर्ब बढि पुँजी छ। भोलि त अरुको पनि त्यति पुग्छ। हामी पनि बढाएर १०/१२ अर्ब पुर्‍याउछौँ। हाम्रो 'स्ट्रेन्थ' पहिलेदेखि नै 'क्यापिटल' हो। लगानीकालागि पनि पुँजी बढाएर लैजानुपर्छ। तर, पुँजी १२ अर्ब पुर्याएर मात्र पनि हुँदैन। त्यो अनुसारको प्रतिफल पनि दिनुपर्छ। त्यसैले पोर्टफोलियो विविधिकरण गर्दै अघि बढ्ने हाम्रो नीति हो।

ठूला ठूला पूँजीका आयोजनामा हाम्रो 'इन्भल्वमेन्ट' पहिलेदेखि नै थियो। हाम्रो एकल ग्राहक सीमा बढि थियो। त्यही भएर पनि हामीले ठूला ठूला आयोजनाहरुमा पनि लगानी गर्न सक्यौं। पछि थप बढाएर लैजान्छौं।
 
यही 'एग्रेसिभनेस'का कारणले हो ? दुई बर्षअघि खासै रोजाइमा नपर्ने इन्‍भेष्टमेन्ट बैंकको सेयरमा अचेल लगानीकर्ता ओइरिन थालेको !
सेयरको बारेमा सोध्नुहुन्छ भने मलाई त्यति थाहा छैन। हाम्रो बैंकको सेयरको मूल्य र अरु बैंकको सेयरको भ्यालु 'जस्टिफाइ' हुन्छ र आजको मूल्यमा ? हुँदैन नि ! त्यही भएर मैले यो सेयर बजार बुझेको छैन।
 
इन्भेष्टमेन्ट बैंक सुरुमा ट्रेड फाइनान्सिङमा फोकस थियो। बीचमा एउटा समयमा रियलस्टेटमा फोकस भयो। अहिले जलविद्युतमा फोकस देखिन्छ। अब जानुपर्ने क्षेत्र यहि रहेछ भन्ने बुझाइ हो?
त्यो होइन। बैंक समय अनुसार चल्नुपर्छ। 'पोर्टफोलियो म्‍यानेज' गर्नुपर्छ। हाम्रो 'ब्याक बोन'  'ट्रेड फाइनान्स' हो र त्यो जारी नै छ। घटेको छैन, बढेकै छ। हामीले बिचमा ३/४ अर्ब रुपैयाँ रियलस्टेटमा लगानी गरेका थियौँ। हामीले लगानी गर्दा रियलस्टेटको मूल्य खासै बढेको थिएन। त्यसपछि बढ्न थाल्यो। त्यसबेला रियलस्टेटमा 'रिटर्न' बढि थियो। 'ट्रेड फाइनान्सिङ'मा प्रतिश्पर्धा बढेर रिटर्न कम हुन थालिसकेको अवस्थामा हामी रियलस्टेटमा गएका थियौँ। पछि मूल्य बढ्दै जाँदा हामीले रियलस्टेटमा ऋण दिन छाड्यौं। पहिले दिएकालाई तिर्न लगायौं। हाम्रो एक पैसा पनि रियलस्टेटमा डुबेन। किनभने हामीले कुल भ्यालुको ५० प्रतिशत मात्र लगानी गरेका थियौं।


तत्काललाई हामी बिमा कम्पनीतिर लगानी गर्न खोजिरहेका छौं। नेशनल लाइफको प्रमोटर सेयर किनेका छौं। पाएमा उक्त कम्पनीको थप सेयर पनि किन्छौं। माइक्रोफाइनान्समा पनि लगानी गरेका छौं।

उद्योगतिर हाम्रो लगानी बढिरहेको छ। सँगसँगै हामीले जलविद्युतमा लगानी बढाउँदै लगेको हो। सुरुमा सिन्धुपाल्चोकको सानिमा हाइड्रो पावरमा लगानी गर्यौं। हामी पनि नयाँ थियौँ। कामले नै सिकाउँदै लग्यो। हाइड्रोपावरमा बाढी लगायतका समस्या आउने रहेछन् भन्ने पनि भोगाइबाटै सिक्यौँ। तर, परियोजना चालु भयो कि रिटर्न दिने क्षेत्र रहेछ यो। हामीले लगानी गरेको केही आयोजनामा बाढीले समस्या दियो। मर्मत गर्ने वित्तिकै रिटर्न सुरु भइहाल्यो।

हामी हाइड्रोपावरको 'एक्सपर्ट' होइनौँ। तर, अलिकति सोचबिचार गरेर ऋण दिँदा अहिलेको 'सिनारियो'मा जलविद्युतमाथिको लगानी राम्रो छ। अलिअलि सामाजिक समस्या हो। त्यो स्थानीयको प्रतिनिधित्व गराएपछि समाधान भइहाल्छ। अलि ठूलो समस्या भनेको प्रशारण लाइनको हो। हामीले ८६ मेगावाटको सोलु दुधखोला परियोजनामा लगानी गरेका छौं। अरु काम राम्रै ढंगले अघि बढेको छ। तर, अब त्यहाँ प्रशारण लाइन बनेन भने अप्ठ्यारो अवस्था आउन सक्छ। नेपालमा जति लागिपर्दा पनि भनेको दिनमा काम सम्पन्न गर्न चाहिँ कठिन रहेछ। साना समस्या आइरहने रहेछन्। तिनलाई संबोधन गर्दै अघि बढ्दा हाइड्रोपावर लगानीको उपयुक्त क्षेत्र हो। यो मुलुकको आवश्यकता पनि हो।
 
एक समय एक रुपैयाँमा खाता खोल्ने स्किम ल्यायो इन्भेष्टमेन्ट बैंकले। त्यो यति सफल भयो कि एक रुपैयाँ भनेपछि इन्भेष्टमेन्ट बैंक सम्झिने जुन छवि बनाएको थियो, निक्षेपबाट जुन नतिजा आएको थियो त्यो तपाईहरुले लगानीको क्षेत्रमा चाहिँ लैजान सक्नुभएन। 'मास' ऋणीमा तयार गर्न किन प्रयास गर्नुभएन?
निक्षेपमा हामीले धेरै राम्रो गरेका हौं। सातलाख खाता धनी पुगिसके। ऋणीको संख्या त्यसरी बढाउन अलिक गाह्रै कुरा हो।

गाडी कर्जामा सबै बैंक गएका छन्। हामी त्यसमा गएका छैनौं। हाउजिङ अलिअलि गर्ने हो। त्यसमा पनि धेरै प्रतिस्पर्धा छ। त्यहाँ नगएर अरु ठाउँमा जाँदा हामीलाई बढि फाइदा हुने अवस्था पनि छ। तर, त्यसो भन्दैमा त्यो ठाउँमा नजाने भन्ने हुँदैन। 'मास स्केल'मा जान हामीले केही काम गरिरहेका छौं।

साढे दुई बर्षदेखि नेपाल आर्मीसँग मिलेर लघुवित्त कर्जा दिइरहेका छौं। अहिले दुई अर्ब ३५ करोडजति लगानी भइसकेको छ। वहालवाला र अवकासप्राप्त गरि दुबै समुहका सैनिक परिवारलाई लगानी गरेका छौं। पहिला दिएको ऋण तिरि पनि सकेका छन्। उनीहरुलाई अब राष्ट्र बैंकको नियम अनुसार बढाएर दिन सक्छौं। पहिले हामीलाई यसमा नोक्सान थिएन। अहिले ब्याजदरका कारण समस्या सुरु भइसक्यो। हामीले साढे ४ प्रतिशतमा यो ऋण दिएका थियौं। अहिले कस्ट अफ फन्ड नै त्यति पुगिसकेको छ।
 

पूँजी बढ्यो। त्यसलाई सम्पत्तिमा पनि लगाउनुपर्छ भन्ने छ। त्यसैले पूर्वमा विराटनगर र मध्य पश्चिममा नेपालगञ्जमा पनि जग्गा लिने सोच बनाएका छौँ। किनभने अब त 'रिजनल' अफिस राख्नु पर्छ।

यो त माइक्रोफाइनान्स भयो। तर, व्यवसायिक कर्जाको कुरा गर्दा इन्भेष्टमेन्ट बैंक जति ठूलो भयो उति कर्पोरेटको मात्र बैंक भइरहेको छ?
हामी सुरुदेखि नै कर्पोरेट हौं। कर्पोरेट लगानी नै गर्थ्यौँ। अहिले आएर 'एसएमइ' गर्न थालेका छौं। राष्ट्र बैंकको परिभाषा एउटा छ। हाम्रो अलग्गै छ। नेपालको सन्दर्भा अहिले एउटा सानो उद्योग लगाउन पनि ४/५ करोड लागिहाल्छ।
 
बैंकहरुले पहिले पहिले जुन कर्पोरेट समातेर बस्थे पछिल्लो समय आएर कर्पोरेट मात्र समाएर बसेर हुने रहेनछ, निक्षेप त अर्को वर्गसँग हुँदो रहेछ भन्ने तथ्य छर्लंग भइसकेको छ। लगानीको अवसर पनि फराकिलो हुन थाल्यो। कर्पोरेट घरानाभन्दा बढि र समयमै ब्याज तिर्ने बर्ग तयार भएको छ। अरु बैंक यसलाई लक्षित गरेर नेटवर्क वढाउन तिर लागे। तपाईहरुले भने यति ठूलो भइसक्दा पनि नेटवर्क बढाउने बारे सोच्नु भएन?
त्यस्तो होइन। तपाईँलाई मैले नेपाल आर्मीको माइक्रोफाइनान्सको कुरा गरे नि, त्यसमा हामीले करिब १५ हजारलाई यस्तो कर्जा दिएका छौं। १५ हजारलाई दिन सजिलो छैन। यसमा पनि धेरै जनशक्ति खपत हुन्छन्। यो कुरा बाहिर देखिँदैन। तर हामीलाई थाहा छ नि कति मेहेनत भएको छ भनेर।
 
अब म शाखामा आउँछु। कतिपय अवस्थामा हामीलाई शाखा 'फिजिवल' नै भएन। हाम्रो स्टान्डर्डमा एउटा शाखा खोल्न कम्तिमा एक देखि डेढ करोड रुपैयाँ लाग्छ। 'ब्रान्च' खोलेपछि सबै सुविधा दिनुपर्छ। हरेक ठाउँमा एक /डेढ करोडको ब्रान्च खोल्न 'फिजिवल' भएन। त्यही भएर हामी शाखारहित बैंकिङतिर फोकस भएका छौं। सुदूरपश्चिममा हामी धेरै ठाउँमा यस्तो सेवा दिएका छौं। भैरहवाबाट सुरु गरेको हो यो सेवा देशका अरु भेगमा पनि विस्तार गर्दैछौँ।

जब हामीले गाउँ गाउँमा आर्मीका परिवारलाई कर्जा दियौँ उनीहरुलाई ऋण तिर्न टाढा आउनु पर्‍यो। महिनाको दुई/तीन हजार तिर्न सदरमूकाम आउँदा अर्को त्यतिनै खर्च हुने अवस्था आयो। त्यहि कारणले हामी 'एग्रेसिभली ब्रान्चलेस बैंकिङ'मा गएका हौं। हामी यस्तो कर्जा लिने आर्मीको बढाएर लैजान चाहन्छौँ। अहिले रहेको १५ परिवारबाट ४५ हजारमा पुर्‍याउने योजना छ। त्यसकालागि पनि 'ब्रान्चलेस'मै फोकस हुनुपर्ने हुन्छ।
 
भनेपछि केही समय इन्भेष्टमेन्ट बैंकले शाखा खोल्दैन?
त्यसो पनि होइन। हामी शाखा खोल्छौं। हामीले अहिले 'स्लो डाउन' गर्नुको अर्को कारण एस डेभलपमेन्ट बैंकको 'एक्विजिसन' पनि हो। एस गाभेपछि हामीसँग १३ वटा शाखा थपिन्छन्। ती मध्ये कतिपय शाखा 'रिलोकेट' गर्नु पर्ने हुन्छ। हामी दोलखा लगायतका स्थानमा शाखा खोल्न हतारिइसकेका छौँ। 'एक्विजिसन'लाई मात्र पर्खिएको हो।
 
तपाईहरुलाई पुँजी त चाहिएको थिएन। एस गाभ्नुको मुख्य कारण यही शाखा नै हो?
एसमा केही संस्थापक सेयरधनी साझा छन्। राष्ट्र बैंकले पनि पुँजी बृद्धिको नीति लिनु पछाडीको एउटा मुख्य कारण 'संस्था धेरै भए अब घटाउँ' भनेर पनि हो।  त्यहि सन्दर्भमा हामीले एउटा संस्था गाभ्ने निर्णय गरेका हौँ। त्यसले केन्द्रिय बैंकको नीतिलाई समेत सघाउ पुर्‍याउँछ। एस गाभ्नुको कारण नै यही हो। पुँजीका हिसावले त गाभ्न आवश्यक थिएन।
 
निक्षेप र पुँजीका हिसावले इन्भेष्टमेन्ट बैंक ठूलो भइसक्यो। तर, ठिकठिकैको आयोजनामा लगानी गर्नुपर्यो भने पनि तपाईहरु सहवित्तियकरणका लागि अरु बैंक खोज्दै हिँड्नुहुन्छ?
जोखिम न्यूनीकरणका लागि पनि यो गरेको हो। कर्पोरेट हाउसहरु नेपालमा लिमिटेड छन्। अहिले 'मल्टिपल बैंकिङ' बढ्न थालेको छ। एउटै 'क्लाइन्ट'मा धेरै बै‌क लाग्न थाले। यसले ठूला ऋणीको ब्याजदर घट्न थाल्यो। अर्कोतिर प्रतिस्पर्धाका कारण बैंकहरुले 'क्लाइन्ट'लाई 'लिमिट' दिन थाले। उसलाई चाहिएको हुन्छ एक अर्ब तर बैंकहरुले दुई अर्बसम्म 'लिमिट' दिए। यो ठिक होइन। त्यही भएर केन्द्रीय बैंकले सहवित्तीयकरण जाने नीति लियो। त्यहि कारण एक अर्ब माथिको ऋणमा सहवित्तीयकरण हुने गरेको हो। हामीले अरु बैंकसँग मिलेर लगानी गर्नुको कारण पनि यहि हो।
 
तपाइँले माथि नै उल्लेख गरिसक्नु भयो की अहिले ब्याजदर बढ्दो छ। तर, ब्याजदर बढे पनि इन्भेष्टमेन्ट बैंकलाई त त्यति गाह्रो नहोला नि। मासवेस निक्षेप छ?
हाम्रो बैंकको कमजोरी भनेको 'कष्ट अफ फन्ड' बढि हुनु हो । हामी हाराहारीका बैंक मध्ये सबैभन्दा महङ्गो कष्ट अफ फन्ड हाम्रो छ। नबिल, एभरेष्ट, हिमालयन लगायतका बैंकभन्दा हाम्रो महँगो छ। यसको कारण पनि छ। जस्तो नविल नै भनौँ न। नबिल सुरुदेखि नै राम्रो बैंक हो। उनीहरु सुरुबाटै 'एग्रेसिभ' थिए। हाम्रोमा सुरुमा फ्रेन्च म्यानेजमेन्ट थियो। उनी धेरैहदसम्म 'कन्जरभेटिभ' थिए। उनीहरुको बिजनेस नै सानो थियो। २००२ मा नेपाली म्यानेजमेन्ट आएपछि बैंक बल्ल बिजनेस बढाउन 'एग्रेसिभ' भयो। रकममा हेर्दा ती बैंक र हाम्रो निक्षेप बराबरी नै जस्तो होला। तर, उनीहरुसँग सुरुदेखिका 'क्रिम' निक्षेपकर्ता छन्। उदाहरणकालागि  आइएनजिओ, कुटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनीका बचत खाता ती बैंकमा छन्। उनीहरुबीच गहिरो विश्वास कायम भइसकेको छ। आज हामीले जति मार्केटिङ गरे पनि ती 'क्लाइन्ट' सम्बन्धित बैंक छोडेर आउँदैनन्।
 

कतिपय अवस्थामा हामीलाई शाखा 'फिजिवल' नै भएन। हाम्रो स्टान्डर्डमा एउटा शाखा खोल्न कम्तिमा एक देखि डेढ करोड रुपैयाँ लाग्छ। 'ब्रान्च' खोलेपछि सबै सुविधा दिनुपर्छ। हरेक ठाउँमा एक /डेढ करोडको ब्रान्च खोल्न 'फिजिवल' भएन।

सुरुमा हाम्रो मासवेस सेभिङ एकाउन्ट कम थियो। उनीहरुको सुरुबाटै सेभिङ एकाउन्ट थियो। त्यो पनि  'लो कस्ट' वाला। आज त हाम्रो पनि निक्षेप राम्रो छ। 'मास बेस्ड' नै  छ। तर पनि उनीहरुको भन्दा महङ्गो छ। कष्ट अफ फन्ड बाहेक अरुमा त हामी पनि 'कम्पिटेन्ट' छौं। अरुभन्दा नराम्रो छैनौं भनौँन अहिले।
 
तर, तपाईँहरुसँग न्युन लागतको संस्थागत निक्षेप त छ नि?
बचत खातामा त्यस्तो छैन। मुद्दतीमा एक बर्षको निक्षेप परिपक्क हुँदै जान्छ। ती निक्षेप नवीकरण गर्न अहिले चलेकै दरमा ब्याज दिनुपर्छ। हिजो सस्तो थियो भनेर हुँदैन। कुनै पनि संस्थागत निक्षेपकर्ताहरुले अरुबाट ८ प्रतिशत ब्याज पाउने अवस्थामा हामीले ७ प्रतिशत मात्र दिन्छौँ भन्दा मानेर बस्दैनन्। आफ्नो 'मार्केट सेयर' नगुमाउन पनि हामीले बढेको रेट दिनैपर्छ। त्यसैले यस्तो वेला मुद्दती निक्षेपबाट होइन बचतबाट नै राहत हुने हो।
 
 इन्भेष्टमेन्ट यति ठूलो भइसक्यो। तर, राष्ट्र बैंकले कुनै 'पोलिसी' ल्याउँदा होस् या सार्वजनिक रुपमा बैंकिङको कुनै विषयमा बहस चल्दा होस्, तपाईहरु चुप बस्नुहुन्छ। किन 'पोलिसी'मा तपाईँहरुको कुनै प्रतिकृया हुँदैन?
इमान्दारीतापूर्वक भन्दा काम गरेर देखाउने हो। बोलेर किन हिँड्नु पर्यो र? कतिपय चिजमा नबोल्नु ठिक हुन्छ। 'लो प्रोफाइल'मा बस्दाको फाइदा धेरै छ। काम गरेर देखाउने हो। जुन हाम्रो 'ब्यालेन्स सिट'मा देखिएकै छ। कसैको बोलेर हिँड्ने बानी हुन्छ। हामी बोल्दै नबोलेको पनि होइन। नियामकले लिएका नीतिहरु राम्रा छन्। कतिपय नीतिले तत्काललाई मर्का पर्ला। तर, लामो समयकालागि यसले फाइदा दिन्छ। भोलि फाइदा हुन्छ भने आज बोलेर किन हिँड्नु पर्यो?
 
यसपाली त इन्भेष्टमेन्ट बैंक नाफामा पनि लिडर हुन्छ जस्तो छ?
मैले माथि नै भनिसकेँ, मेरो समस्या भनेको महँगो कस्ट अफ फन्ड नै हो। अरु भन्दा एक प्रतिशत बढि ब्याज तिर्नु भनेको एक अर्ब रुपैयाँ जानु हो। अरु 'परफरमेन्स' राम्रो छ। हामी 'लो प्रोफाइल'मा बस्ने र काम गर्ने हो।
 
अहिले इन्भेष्टमेन्ट बैंक बसेको दरवारमार्गको सम्पति एनआइडिसीको हो। तपाईहरुले कथम् कदाचित यो ठाउँ छाड्ने अवस्था आएमा विकल्प हुने गरि लाजिम्पाटमा टावर बनाउने कुरा पनि थियो। कहाँ पुगेको छ?
यहाँ डेढ बर्षजति हाम्रो सम्झौता नै बाँकी छ। अवधि थप बढाउन कुराकानी पनि गरिरहेका छौं। यहाँ हामी बसेको ३४ बर्ष भइसकेको छ। त्यो नाताले हाम्रो अलकति हक पनि लाग्छ। अलिकति 'डिमान्ड' पनि गर्नसक्छौं। हामी कुनै निजी कम्पनी त होइनौं। पब्लिक कम्पनी हौं। त्यो हिसाबले उहाँहरुले पनि पोजिटिभ्ली नै हेर्नु होला। अरु तीन चार बर्ष नवीकरण गर्ने कुरा पनि छ।
 
तर के छ भने हामीसँग केही ठाउँमा सम्पति छन्। लाजिम्पाटमा सात रोपनी जमिन छ। पुतलीसडकमा तीन रोपनी तीन आना छ। दरवारमार्ग आसपासमा पनि हामीले केही जग्गा खोजिरहेका छौं। दरवारमार्ग महँगो छ। पब्लिक कम्पनी भएकाले जे पायो त्यही गर्नु पनि भएन। सोचविचार गरेर हामी हेरिरहेका छौं।
 
अहिले रहेको ठाउँ छाड्‍नुपर्यो भने पनि हामीले यतै कतै अफिस त राख्नु पर्छ। लाजिम्पाटमा पनि टावर बनाउने कुरा छ। अहिले हामी केही न केही संरचना बनाउँछौं। नक्सा बनिसकेको छ। लाजिम्पाट सहित पुतलीसडकमा पनि बनाउँछौं।
 
पूँजी बढ्यो। त्यसलाई सम्पत्तिमा पनि लगाउनुपर्छ भन्ने छ। त्यसैले पूर्वमा विराटनगर र मध्य पश्चिममा नेपालगञ्ज पनि जग्गा लिने सोच बनाएका छौँ। किनभने अब त 'रिजनल' अफिस राख्नु पर्छ। पहिले हामी बैंकलाई सम्पति थुपार्दा फाइदा छैन भनेर बेच्ने मुडमा पनि थियौं । तर, अब भने राष्ट्रियस्तरको बैकको विभिन्न क्षेत्रमा आफ्नै भवन भएको राम्रो हुन्छ भन्ने निधोमा पुगेका छौँ। त्यही भएर भवन वनाउने उध्येश्यले नै जग्गा किन्ने योजनामा छौं।
 
अरु सहायक कम्पनीमा पनि जाँदै हुनुहुन्छ? अहिले एनआइबिएल क्यापिटल मात्र छ।
तत्काललाई हामी बिमा कम्पनीतिर जान खोजिरहेका छौं। नेशनल लाइफको प्रमोटर सेयर किनेका पनि छौं। पाएमा उक्त कम्पनी थप सेयर पनि किन्छौं। माइक्रोफाइनान्समा पनि लगानी गरेका छौं। सबै बैंकको पुँजी आठ अर्ब हुँदा 'रिटर्न' पनि बराबर हुने अवस्था आउँछ। त्यही भएर प्रतिफल बढाउन यस्तै सहायक कम्पनीहरुमा लगानी गर्दै जाने हो। त्यता बाट पनि आम्दानी वढ्छ।