दुई वर्षदेखि शिथिल रुसी अर्थतन्त्रको विश्वकप कनेक्सन, अर्बौं खर्चिँदा पनि दीर्घकालिन लाभ छैन

बिजमाण्डू
२०७५ जेठ ३१ गते १७:१० | Jun 14, 2018

 
केही दिनअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरका फूटबल फ्यानहरुलाई विश्वकप हेर्न रुस आउनु भन्दै भिडियो मार्फत निम्ता गरे।  
 
उनले विश्वकै सबैभन्दा ठूलो इभेन्ट हेर्न रुस पुग्न आग्रह गर्दै यो प्रतियोगिता आफ्नो देशको लागि ‘सर्वाधिक खुशी’ र ‘गौरव’ भएको समेत बताए। 
 
राष्ट्रपति पुटिनले विश्वकप आयोजना गर्न पाउनुलाई सबैभन्दा ठूलो खुशी र गौरबको क्षण भएको बताउँदै गर्दा रुसी अर्थतन्त्रलाई प्रतियोगिताबाट के फाइदा पुग्ला भनि विश्लेषण हुन थालेका छन्। यसै क्रममा भएका बिभिन्न अनुसन्धान तथा अध्ययनहरुबाट के निष्कर्ष आएको छ भने रुसी राष्ट्रपति पुटिनले भने झैं प्रतियोगिताबाट रुसले केवल खुशी र गौरव महसुस गर्न मात्र पाउनेछ न कि ठूलो आर्थिक लाभ।  
 
समग्र विश्लेषण तथा अध्ययनहरुको सार के हो भने विश्वकप आयोजनाले रुसको अर्थतन्त्र अल्पकालीन रुपमा मात्र चलायमान हुनेछ र यसले दुई वर्षदेखि शिथिल देखिएको रुसी अर्थतन्त्रलाई उकास्न खासै ठूलो योगदान गर्नेछैन।  
 
रुसले विश्वकपमा हालसम्मकै सबैभन्दा ठूलो धनराशी खर्च गरेको छ। रुसले जुन १४ देखि आगामी जुलाई १५ तारिखसम्म होस्ट गर्न लागेको सबैभन्दा ठूलो फूटबल प्रतियोगिताका लागि १४ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ जुन विश्वकपकै इतिहासको सबैभन्दा महँगो प्रतियोगिता समेत बनेको छ। रुसले प्रतियोगिता आयोजनाका लागि खर्च गरेको रकम सन् २०१४ मा विश्वकप आयोजना गर्दा ब्राजिलले खर्च गरेको रकमभन्दा तीन गुनाले बढी हो।  
 
रुसी मिडियाहरुका अनुसार फूटबल प्रतियोगिताका लागि रुसको कुल ८८३ अर्ब रुबल अर्थात १४.२ अर्ब डलर खर्च हुनेछ।
 

प्रतियोगिताको ‘अफिसियल कस्ट’ ११ अर्ब डलरमात्र भएपनि रुसले यातायात पूर्वाधारका लागि ६.११ अर्ब डलर, स्टेडियम निर्माणकालागि ३.४५ अर्ब डलर तथा अन्य आवासीय प्रबन्धकालागि ६८० मिलियन डलर खर्च हुने मस्को टाइम्सले जनाएको छ। 
 
रुसले विश्वकप आयोजना गर्ने भनेपछि यसको तयारीका लागि बनाइएको ‘अफिसियल बजेट’ मा १२ पटक फेरबदल भएको बताइएको छ। 
 
रुसका  बिभिन्न ११ वटा शहरका स्टेडियममा विश्वकप अवधीभर फूटबल खेलहरु आयोजना हुनेछन् जसका लागि रुसले यातायात तथा अन्य पूर्वाधार विकासमा धेरै ठूलो खर्च गरेको छ।  तर यति ठूलो धनराशी खर्चिदा आयोजक राष्ट्र रुसको २ वर्षदेखि संकुचनमा रहेको अर्थतन्त्रलाई प्रतियोगिताले झिनो तथा अल्पकालीन सुधार मात्र दिने अध्ययन प्रतिवेदनले देखाएका छन्। 
 
विश्वकपको आयोजनाबाट रुसको जिडिपीमा १५ अर्ब डलरको फाइदा हुने रुसी सरकारको विश्लेषण समेत सार्वजनिक भएको छ। जुन तथ्यलाई बिभिन्न अध्ययन प्रतिवेदनले नकारेका छन्। 


 
जर्मनीको कमर्ज बैंकले यस तथ्यलाई नकार्दै भनेको छ हालसम्म विश्वकप संचालन गर्ने देशहरुको अर्थतन्त्रमा प्रतियोगिता संचालन गरेकै कारण कुनै ठूलो आर्थिक फाइदा भएको देखिएको छैन। 
 
आजदेखि सुरु हुन गैरहेको विश्वकप फूटबलले आफ्नो देशले अन्तराष्ट्रिय चर्चा पाउनुका साथै अर्थतन्त्रमा पनि छलाङ ल्याउने विश्वास राष्ट्रपति पुटिनले गरेका छन्। तर यसको बिपरित बिश्लेषकहरुले भने यो विश्वकपबाट रुसले दीर्घकालीन उपलब्धी भने हासिल नगर्ने दावी गरेका छन्। 
 
रुसले यो खेलकुद प्रतियोगिताबाट जुन आर्थिक उपलब्धीको अपेक्षा गरेको छ त्यो त्यति ठूलो नहुने विश्लेषणहरु भैरहेका छन्। गत महिना मात्रै रुसमा विश्वकपले के कस्तो प्रभाव पार्ला भनि प्रसिद्ध मुडि इन्भेष्टर सर्भिसले गरेको अध्ययनमा प्रतियोगिताबाट रुसले ‘लङ टर्म बेनिफिट’ लिन नसक्ने विश्लेषण गरिएको छ। 
 
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकासका लागि रुसले धेरै खर्च गरिसकेको छ तर प्रतियोगिताबाट आउने नाफाले रुसी अर्थतन्त्रको मजबुतीका लागि दीर्घकालीन असर नपर्ने प्रतिवेदनको ठहर छ।
 
प्रतियोगिता अवधिभर अर्थतन्त्रमा देखिने गतिशिलताले रुसको १.३ खर्ब डलरको अर्थतन्त्रमा धमिलो मात्र प्रभाव छोड्ने मुडि इन्भेष्टर सर्भिसका वरिष्ठ उपाध्यक्ष क्रिष्टिन लिन्डोले बताए। 
 
नयाँ पूर्वाधार विकासले थप ट्याक्स रेभेन्यू सिर्जना गर्ने तथा भविष्यमा पूँजीगत खर्चमा कटौती हुने मुडी इन्भेष्टरको प्रतिवेदनमा उल्लेख छ।  यसबाट रुसको सरकारी बित्त अवस्थामा नकारात्मक प्रभाव पर्ने बताइएको छ। 
 

रुसले प्रतियोगिता अवधिभर ५ लाख ७० हजार विदेशी  फूटबल फ्यान तथा ७ लाख रुसीहरु म्याच हेर्न आउने अपेक्षा गरेको छ। यसबाट पर्यटन क्षेत्र फस्टाउने र होटल तथा रेष्टुरेन्ट ब्यवसाय चलायमान हुने सरकारी अपेक्षा छ तर विश्लेषकहरुले यसलाई अल्पकालीन मात्र मानेका छन्।
 
अल्पकालीन रुपमै भएपनि रुसी अर्थतन्त्र चलायमान हुने विश्लेषण हुँदै गर्दा मुडि इन्भेष्टर सर्भिसको अध्ययन भनिएको छ- विश्वकपको सबैभन्दा बढी लाभ मस्कोमा रहेका बिमानस्थलहरुलाई हुनेछ जहाबाट लाखौंका संख्यामा फूटबल फ्यानहरु रुस छिर्नेछन्।  
 
रुसका मुख्य शहरका रुपमा मस्को र सेन्ट पिटर्सबर्गलाई मुख्य रुपमा ‘फ्यान-हब’का रुपमा मानिएको छ जहाँ विश्वकप अवधीभरमा चारलाख पर्यटकले भ्रमण गर्ने अपेक्षा गरिएको छ।
 
प्रतियोगिता आयोजकले भनेका छन् – ‘यो प्रतियोगिताले फूटबल मात्र देखाउने छैन रुस के हो भनेर विश्वलाई देखाउने छ। यसले विश्वको सुन्दर शहरका रुपमा मस्कोलाई चिनाउने छ भने रुसप्रतिको छवि पूरै बदलिन सहयोग पुग्ने छ।’ 
 

बजार अनुसन्धान कम्पनी यूरोमोनिटरका अनुसार वर्ल्डकप सकिएपनि प्रतियोगिता संचालन गरेकोमा रुसलाई थप पर्यटक भित्र्याउने अवसर प्राप्त हुनेछ। 
 
अध्ययन अनुसार सन् २०२२ सम्ममा रुसले पर्यटन क्षेत्रमा ४ प्रतिशतको बृद्धिको अपेक्षा गरेको छ। जसकालागि विश्वकप संचालनले पनि सकारात्मक प्रभाव पार्नेछ। 
 
यूरो मोनिटरका अनुसार सन् २०१८ मा विश्वकपकै आयोजकको हैसियतले रुसको पर्यटन क्षेत्रमा १.४ प्रतिशतको बृद्धि हुनेछ। 
 
रुस हालसम्म पनि अमेरिका, यूरोपेली युनियन तथा अन्य देशहरुको आर्थिक प्रतिबन्धबाट ग्रुज्रिरहेको छ। सन् २०१४ को क्रिमिया तथा पूर्वी युक्रेनमाथिको हस्तक्षेपको कारण देखाउँदै अमेरिका तथा बिभिन्न देशहरुले रुसमाथि लगाएको आर्थिक नाकाबन्दी कायमै छ। यसैको असर स्वरुप बिगत २ वर्षदेखि रुसको अर्थतन्त्र खस्कदै गएको छ। 
 
यहि पृष्ठभूमिलाई मनन गर्दै रुसी राष्ट्रपति पुटिनले फूटबल खेललाई राजनीतिभन्दा पर राख्दै देशको पर्यटन प्रवर्द्धनलाई नै विश्वकप आयोजनाको मुख्य मुद्दा बनाएका छन्। बुधबार मन्तब्य दिँदै उनले भनेका छन्-‘फुटबललाई राजनीतिभन्दा पर राखेकोमा फिफालाई धेरै धेरै धन्यवाद।’ 

Tata
GBIME
Nepal Life