एकुरेट डेट त भन्न सक्दिन, ७ वर्षमा निजगढमा प्लेन उड्छ, पर्यटनमन्त्री अधिकारीको अन्तर्वार्ता






युवानेता रविन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। मन्त्री हुने बित्तिकै सयदिने कार्ययोजना बनाएर र कार्यान्वयनमा ल्याए।विकास समितिको सभापति भएर विकास निर्माणलार्इ गति दिन निर्देशन दिने अधिकारी आफै कार्यान्वयन गर्ने ड्राइभिङ सीटमा छन्।

मन्त्री अधिकारीलाई बिजमाण्डूका सुदर्शन सापकोटा सविन मिश्रले सोधे: संसदको विकास समितिको सभापति हुनुभयो। विकास आयोजनाको निरन्तर अनुगमन गरी त्यसमा तीव्रता ल्याउन पहल पनि गर्नुभयो। त्यतिबेला सबैले अनुमान गरेका थिए तपाईं भौतिक मन्त्री बन्नुहुन्छ भनेर। तर तपाईंको भागमा पर्यटन मन्त्रालयमा पर्यो। कस्तो लागिरहेको छ?

मलाई यही नै जिम्मेवारी प्राप्त भयो। सबै कुरा रोजेकै र खोजेको त पाइँदैन नि। मलाई जे जेम्मेवारी प्राप्त गरेको छु। त्यसमा अघि बढ्न खोजेको छु। पर्यटन म आफैंले जानकारी लिइरहेको क्षेत्र हो। अर्को कुरा म जहाँबाट प्रतिनिधित्व गर्छु, त्यो पनि पर्यटकीय क्षेत्र नै छ। अर्कोतर्फ म 'कन्भिन्स' भएको कहाँ हो भने अब हामीले धेरै उपलब्धी हासिल गर्नुपर्ने क्षेत्र पर्यटन हो। त्यसकारण यो मन्त्रालयमा अलि गतिशील मान्छे चाहिन्छ भन्ने पनि भयो। त्यसैले म यो जिम्मेवारी लिन तयार भएँ। 
 
बिचमा त तपाईं मन्त्री नबन्ने भन्ने पनि थियो नि!
होइन। त्यस्तो होइन।
लोकतन्त्र स्थापनापछि पर्यटन मन्त्रालय मन्त्रीका लागि तातो तावा जस्तो लाग्छ। किनभने पर्यटनमा जुन जुन समूह सक्रिय छ, त्यो समूह मन्त्रीभन्दा शक्तिशाली छ। माथिल्ला तहसम्म सिधा पहुँच राख्छ। अर्को कुरा पहिलेको एमालेका तर्फबाट जो जो मन्त्री भए उनीहरुले पुरा समय काम गर्नै पाएनन्। तपाईंलाई कार्यकाल पुरा गर्छु भन्ने लाग्छ?
म आफ्नो कर्ममा विश्वास गर्छु र काम गर्छु। म लागेको काम गर्दै अघि बढ्ने मान्छे हुँ। म एउटा पृष्ठभूमिबाट आएको मान्छे हुँ। मेरा विगत, वर्तमान सबै कुरा छर्लंग छ। म आलोचना पनि खुला रुपमा लिन्छु। यो सँगसँगै पर्यटन मन्त्रालय 'ग्लामर' भएको तर भयंकर विवादास्पद रहेछ। साना-साना कुरा विवादस्पद रहेछ। कतिकुरा विवादास्पद पनि बनाइन्छ।

यो मन्त्रालय निजी क्षेत्रसँग पनि सीधा जोडिएकाले विजनेस मिनिस्ट्री जस्तै छ। हाम्रा निकायले पनि बिजनेश गर्छन्। हाम्रो क्यान, वायुसेवा निगम वा पर्यटन बोर्ड भन्नुस्, सबैले बिजनेस गरिरहेका छन्। गृह मन्त्रालय जस्तो धेरै कर्मचारी भएर काम गर्ने संस्था यो होइन। थोरै संरचनामा ठूलो क्षेत्रलाई यसले कभर गरिरहेको छ। व्यावसायिक क्षेत्रलाई सहजीकरण गर्ने, नियमन गर्ने विषय हाम्रो दायित्वमा धेरै पर्छ। कि केही नगरी चुप लागेर बस्नु पर्यो। केही गर्ने हो भने धेरै कुरा आउँछन्। अर्कोतर्फ धेरै कुरा बनाएर भन्ने चलन पनि छ। 
 
राजनीतिक पहुँच माथिसम्म भएको क्षेत्र हो यो। तपाईंलाई अप्ठ्यारो छैन?
त्यो भन्छन्। तर मैले अहिलेसम्म भोग्नु परेको छैन। पर्यटन र नागरिक उड्डयनका विद्यमान नियम र कानुनी व्यवस्था तथा मूल्य मान्यता भित्र बसेर यी क्षेत्रको प्रवर्द्धन हाम्रो मुख्य उद्देश्य हो। त्योभन्दा बाहेक अन्य कुराले मलाई प्रभाव पार्दैन।


 
पर्यटन क्षेत्रमा एक/दुई निश्चित समूह छ र उनीहरुको सम्बन्ध प्रधानमन्त्री केपीशर्मा ओलीसँग छ भनेर भन्छन्। त्यो समूहको इन्ट्रस्ट सर्भ गर्न नसक्ने मन्त्री यहाँ टिक्दैन भनिन्छ...
सबैभन्दा मूख्य कुरा हाम्रो सम्माननीय प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई आफ्नो विभागीय कामका निम्ती पूर्ण स्वतन्त्रता दिनुभएको छ। मन्त्रीहरु नै आफ्नो काम प्रति पूर्ण जवाफदेही हुनुपर्छ। राष्ट्र र जनताको पक्षमा सपथ खाए जस्तै गरी काम गर्नुपर्छ। मलाई नतिजा चाहिएको छ भनेर उहाँले भन्नुभएको छ। मन्त्रीहरुलाई राम्रो काम गर्दा कुनै पनि अवस्थामा मेरो सहयोग चाहियो भने म त्यसका लागि सहयोग गर्छु भन्नुभएको छ। उहाँको जोड सुशासनमा छ। नचाहिने कुरामा नलाग्नु भनेर भन्नुभएको छ। मलाई अहिलेसम्म कुनै दबाब छैन। स्वतन्त्र भएर काम गरिरहेको छु। म फेरि पनि भन्छु पर्यटन क्षेत्रमा छोटो समयमा देखिने काम म गर्छु। व्यवसायी र आम जनताले महसुश गर्ने गरी काम गर्छु।
 
तपाईंले त्यसो भन्दैगर्दा तपाईं ५ वर्षे सरकारको मन्त्री हुनुहुन्छ। तपाईंको कार्यकाल लामो छ। तर सय दिने कार्ययोजना भन्दै लोकप्रिय हुने र सस्ता कार्यक्रममा अल्झिनु भयो। मेल खाने काम भयो र?
एकदम ठिक भन्नुभयो। प्रधानमन्त्री नियुक्त भएको दिनलाई आधार मानेर सयदिन भनिएको हो। मैले त्यतिबेला पनि भनेको थिएँ, मेरो मन्त्रालयको काम गर्ने क्षमता जाँच्नु थियो। सय दिनको होमवर्क दिँदा मेरो मन्त्रालयको जनशक्तिले कसरी काम गर्न सक्छ भनेर हेर्नुपर्ने थियो। जनशक्तिको क्षमता पनि जाँच्नुपर्ने थियो। विद्यमान कानुन र समन्वयका अभावमा के के हुँदो रहेछ हेर्नुपर्ने थियो। आफ्नो काम र अरुको सहयोगमा के के गर्न सकिँदो रहेछ त्यो पनि जान्नुपर्ने थियो। के गर्न सकिँदो रहेछ, के गर्न सकिँदो रहेनछ थाहा पाउन सय दिने कार्ययोजना ल्याइएको हो। 
 
सुरुमा म आउने बेलामा नीति कार्यक्रम थिएन। बजेट आएको थिएन। अब त सबै कुरा आएको छ। अर्को बाटो जान सकिन्छ। तत्कालीन विषय अघि सारेर काम गर्दा धेरै कुरा सिकिन्छ र मन्त्रालय बुझ्न पाइन्छ भनेर लागेको हुँ। त्यसबाट मैले धेरै 'लेसन लर्न' गरेको छु। जुन कुरा त्यत्तिकै जान्न मलाई एक वर्ष लाग्थ्यो। 


 
तपाईंले सयदिने कार्ययोजनाको ९५ प्रतिशत काम गरेँ भन्नुभयो। एक दुई ठाउँमा सार्वजनिक रुपमा नै कर्मचारीले सहयोग नगरेको गुनासो पनि तपाईंले गरेको हामीले सुनेका छौँ। तपाईं एक्लैले यति उपलब्धी हासिल गर्नुभएको हो?
सबै कर्मचारीमा क्षमता छैन भनिएको होइन। कतिपय साथीहरु क्षमतावान् हुनुहुन्छ। मन्त्रालयमा जति म सक्रिय भएँ, मलाई सचिवले जस्तै काम गर्छ। सचिवले जस्तै काम गर्छ भन्थे। धेरै ठाउँमा म आफैँ भिडेर काममा लागेँ। म सक्रिय हुँदा सुरुसुरुमा बेवास्ता गरेका साथी पनि काममा लागे। मेरो व्यक्तिगत प्रयासभन्दा पनि प्रणाली बलियो बनाउँ भन्ने मेरो योजना थियो। त्यसैअनुसार अघि बढेको छु। सकेसम्म कर्मचारी नहटाई भइरहेका कर्मचारीबाट अधिकतम उपलब्धी हासिल गर्न म लागेको छु। 
 
कर्मचारी हटाएर तपाईं कहाँ पुर्याउन सक्नुहुन्छ? एक ठाउँबाट अर्को ठाउँ वा मन्त्रालय? त्यसले के नतिजा ल्याउँछ? राम्रो कर्मचारी ल्याउने र अरुलाई फाल्ने भन्ने पनि सुनिन्छ। फालेर कहाँ जाने भए? कर्णाली वा विकट ठाउँमा जालान्। सरकारले आफ्नो सेवा प्रवाह कहाँ बढी लैजानुपर्ने त्यही ठाउँ हो। सबैभन्दा काम नलाग्ने भनिएका मान्छे त्यहाँ पुग्दा उसले के सेवा दिन्छ? त्यसकारण यसमा पुनर्विचार गर्नु  आवश्यक छ। 
 
तपाईंको सयदिनमा केही नतिजा पनि देखियो। त्रिभुवन विमानस्थल २१ घण्टा चल्न थाल्यो। अझ कतिपय जानेबुझेका मान्छेहरु विमानस्थलमा कुलमान जस्तै कोही  भए धेरै व्यवस्थापन हुन्छ भन्छन् नी ?
यो यथार्थ कुरा हो। एउटा साम्रो सिइओ हुने हो भने त्यहाँ अझै राम्रो गर्न सकिन्छ। २१ घण्टा विमानस्थल चल्न थालेपछि एयर ट्राफिक म्यानेजमेन्टमा नयाँ परिवर्तन देखिएको छ। म आफैँ पनि एक प्रकारको सिइओ भएर काम गरेको छु। मैले विज्ञ समूह बनाएँ, त्यसले मलाई धेरै सहयोग गर्यो। 
 
भनेपछि नयाँ सिइओ ल्याउन सकियो भने त्यहाँको व्यवस्थापनमा अझै सुधार गर्न सकिन्छ भन्ने तपाईंको भनाइ हो?
त्यहाँको पूर्ण व्यवस्थापन सुधार गर्न सकिन्छ। त्यसका लागि कि भएकाकै क्षमता अधिक उपयोग गर्नुपर्छ कि नयाँ ल्याउनुपर्छ। अहिले गरेको त भएकै व्यवस्थापनले हो। यसको जस त क्यानको महानिर्देशक र एयरपोर्टको व्यवस्थापनलाई नै जान्छ नि। मान्छे भन्दा पनि क्यानको संरचनामा परिवर्तन आवश्यक छ। 
 
हाम्रोमा दुईवटा हवाई सेवा प्रदायक कम्पनी छन्। ती एभिएसन कम्पनीको सिन्डिकेट नै छ। तेस्रो कोही आउनै सक्दैन। यो अवस्था कहिलेसम्म?
तेस्रो आउन सकेन भनेर तपाईंहरुकैमा पनि समाचार आइरहेको थियो। तर मैले त्यसका लागि सहजीकरण गरिसकेको छु। यसमा यो वा त्यो नभनौँ, जब कुनै विजनेसमा निश्चित समूहको मात्रै लगानी रहन्छ त्यसमा कुनै किसिमको सिन्डिकेट वा एकाधिकार सुरु भइहाल्छ। अब निजी क्षेत्र धेरै आइसके। अब उनीहरुले प्रतिस्पर्धा गर्नुपर्छ। पहिले पहिले निजी क्षेत्र आउनै नसक्दा सरकारी संरक्षण पनि पाए होलान्। अब त्यस्तो हुनु हुँदैन।
 
नागरिक उड्डनको विवरण हेर्ने हो भने सबै जहाज काठमाडौं केन्द्रित छन्। कुनै पनि विमानस्थलमा जहाज नबस्ने। राम्रो व्यापार हुने बाहेकका रुटमा जहाज चल्न छाडेका थिए। उनीहरुको चैँ सामाजिक उत्तरदायित्व हुँदैन? राजविराज विमानस्थल चल्न थालेपछि धेरै मलाई त्यो चल्दैन भने। मैले त्यतिबेलै भनेको थिए, अन्यत्रबाट कमाउने राजविराजमा सेवा दिने। दुर्गममा चल्दैन भने धेरै नाफा हुने रुटमा पनि चलाएका छन् नि। 
 
अहिले सुर्खेतमा स्टेसन बनाएर कर्णालीमा उडान सुरु भएको छ। बुद्धले विराटनगरमा स्टेसन बनाएर काम गरिरहेका छन्। अब यती र बुद्ध दुवै पोखरा जाँदैछन्। सीता एयर सुर्खेत गयो। त्यसैले हामीले विमान कम्पनीहरुलाई क्षेत्रीयस्तरमा आधार बनाएर अघि बढ्ने वातावरण बनाइदिन्छौँ। उनीहरुले सेवा दिनुपर्छ। 
 
काठमाडौंमा सधैँ ट्राफिक जाम। पार्किङ सधैँ फुल। त्यसको परिवर्तनका लागि रातिमा सेवा थपिएको छ। अहिले ५/६ बजेकोलाई नाइट भनिन्छ। हामीले ७/८ बजेसम्म उडाउने कुरा अघि बढाएका छौँ। यहाँ पिक आवर र लेन आवरको मतलब नै छैन। पिक आवरको भार लेन आवरमा ट्रान्सफर गर्न खोजिएको छ। अबको एक वर्षमा समानान्तर ट्याक्सी वे बनाउछौँ। यसले पनि धेरै ठुलो परिवर्तन ल्याउँछ। 


 
अहिले पनि कति विमानस्थल बन्द अवस्थामा छन्। तिनलाई के गर्नुहुन्छ?
आवश्यक पर्ने ठाउँमा चल्छन्। जहाँ आवस्यकता छ त्यहाँ विमान चल्छ। तर हाम्रो कर्मचारीतन्त्रको क्षमताका कारण, हाम्रो बिजनेस मोडालिटी नभएका कारण बन्द अवस्थामा रहेका विमानस्थल चल्छन्। प्यासेन्जरलाई पनि आवश्यक छैन भने त्यस्ता विमानस्थल चलाउँदैनौँ। तर कुनै प्रदेशले हामी चलाउछौँ भन्यो भने दिन सकिन्छ। 
 
तपाईंको मातहतमा पोखरा र भैरहवा विमानस्थल निर्माणाधीन छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काम भइरहेको छ। निजगढको मोडालिटी छिट्टै टुंग्याउछौँ भन्नुभयो। यो सबैलाई थाँती राखेर नयाँ विमानस्थल खोज्न दौडिरहनुभएको छ?
तपाईंले बजेटमा हेर्नुभयो भने कुनै पपुलर कार्यक्रम राखेको छैन। मैले राष्ट्रिय विमानस्थल नीति बनाउँछु भनेको छु। जहाँ पायो त्यँही विमानस्थल बनाउँदै हिँड्ने भन्ने कुरा ठीक होइन। जहाँसम्म नागीडाँडाको कुरा हो आन्तरिक उडानको मुख्य हिस्सा सार्न त्यहाँ विमानस्थल बनाउने भनिएको हो। अहिलेको अवस्थामा करिब ३०० र त्यो बन्दासम्म करिब ५०० फ्लाइट त्यहाँबाट सञ्चालन गर्ने अवधारणासहित अघि बढाउन खोजिएको हो। त्यसले काठमाडौंको ३१ प्रतिशत 'कन्जेक्सन' घटाउँछ। काभ्रे काठमाडौंबाट नजिक छ। काभ्रे विकसित बन्दै छ। भोली प्रदेशको राजधानी पनि होला। कम खर्चमा बनिहाल्ने भएकाले त्यहाँ गएको हो। 
 
सुर्खेत कुरामा चाँही कर्णाली प्रदेश र राजधानीलाई सीधा जोड्न हवाईजहाज चलाउने भनिएको हो। अहिले भएको विमानस्थल विस्तार गर्न सकिँदैन। मैले अध्ययन पनि गर्न लगाएँ। कमिलो हिँडिरहेको विमानस्थलमा जहाजको फ्लो हेर्नुस् त। 
 
कर्णाली चल्ने जहाजलाई पनि सहज भएको छ। कर्णाली प्रदेशलाई पर्यटकीय हिसाबले अघि बढाउने हो भने त्यहाँ मात्रै होइन, मैले अर्को पनि अध्ययन गराउँदैछु, मानसरोवर वा राराको नजिक ७० सिटसम्म जहाजको क्षमता भएको विमानस्थल चाहिएको छ। अन्यत्र चाँहिदैन। कहिल्यै जहाज नचल्ने तर विमानस्थल मात्रै बनाउने कुरामा म छैन। 
 
नागीडाँडाको सबैभन्दा राम्रो भनेको काठमाडौंमा हुस्सु लाग्दा त्यहाँ प्रभावित हुँदैन। माउन्टेन फ्लाइटहरु त्यहाँबाट हुन सक्छन्। सबै डोमेस्टिक फ्लाइट त्यहाँबाट चल्ने भन्ने हुँदैन। त्यहाँ ४० सिटे जहाज मात्रै अवतरण र उडान हुन सक्छन्। आन्तरिकतर्फका मध्यम आकारका विमान चलाउन त्यहाँ विमानस्थल भनिएको हो। 
 
अर्को हामीले लुक्ला हेरौँ, त्यहाँ पूर्ण क्षमतामा चलाउने हो भने २/३ सय फ्लाइट अहिल्यै हुन्छन्। जान नपाएर मात्रै हो। त्यसले गर्दा नागीडाँडा भनिएको हो। धादिङ वा अन्यत्र किन नसकिएको भन्दा होटल चाहियो। पूर्वाधार पनि बलियो हुनुपर्यो। एक हजार प्यासेन्जर बस्न सक्ने क्षमता चाहियो नि। धुलिखेलको मुख्य बजार पनि बिग्रिँदैन। 


 
यसलाई एग्रेसिभ्ली नै अघि बढाउनु हुन्छ?
यसको काम अघि बढ्छ। यो अघि बढ्दा निजगढ नबन्ने भन्ने होइन। निजगढ भनेको हाम्रो देश नेपालालई 'ग्लोबल' स्टाण्डर्डमा उभ्याउने आयोजना हो। यो काम गौतम बुद्ध विमानस्थलबाट पनि हुँदैन, पोखराबाट पनि हुँदैन। 
 
नागीडाँडा भन्दा निजगढमा तपाईंको सक्रियता भएन भन्ने पनि छ। अर्कोतर्फ वातावरणविदहरुले पनि त्यसमा प्रश्न उठाएका छन्। यो सबै समस्याका बीच कसरी अघि बढ्नुहुन्छ?
निजगढ विमानस्थल अघि बढ्छ। यो दुई महिनामा निजगढको जति काम भएको त्यो त काम फाँडेको हो। इआइए पास भएको छ। मोडालिटी पास हुने चरणमा छ। हामीले विभिन्न मोडालिटीमा १०० अंक भार दिएर कुनबाट जाँदा कस्तो हुन्छ भनेर अध्ययन गराएका छौँ। लगानी बोर्डसँग पनि मिलेर काम गरेका छौँ। कुन मोडलमा कति नम्बर आउँछ भनेर तयार गरिएको छ। मैले त्यसको चारकिल्लालाई अन्तिम रुप दिएको छु। 
 
अहिले २४ लाख रुख काट्ने भनेर कुरा ल्याइएको छ। हामीले त्यति रुख काट्ने नै होइन। काट्ने भनेको ८ लाख जति हो। त्यसलाई पनि २ लाखमा घटाएर अघि बढ्न सकिन्छ कि भनेर हेर्दैछौँ। वैकल्पिक शहर अन्यत्र खोजिरहेका छौँ। त्यसो हुँदा कम रुख काटे पुग्छ। पुनर्वासको काम अन्तिम रुपमा पुर्याएका छौँ। स्थानीय बासिन्दालाई पनि मनाएर अघि बढेको छु। मुआब्जालाई मिलाएका छौँ। हात्ती हिँड्ने बाटो र पानीको मुहानको संरक्षण गर्दै अघि बढ्ने विधि खोजेका छौँ। एउटा लार्ज प्रोजेक्टको लागि वन्डरफुल काम भएको छ। हाम्रा विकास साझेदारहरुले मलाई यति छिटै काम हुन सक्दो रहेछ भन्छन्। 
 
भैरहवा विमानस्थलमा तीव्र गतिमा काम भइरहेको छ। यो महिनाको अन्तिमसम्ममा त्यहाँ ४८ प्रतिशत काम हुन्छ। त्यहाँ जे समस्या थियो म आफैँ अघि सरेर समाधान गरेको छु। त्यसमा म खुशी छु। त्यसलाई छिटो बनाउन सकियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 'रिहाभ' गर्न पाइन्छ। त्यसले विकल्प दिन्छ। म आउने बित्तिकै त्यसको द्रुत गतिमा काम अघि बढाएको छु। 
 
निजगढको काम भएको कुरा तपाईं जति खुशीसाथ सुनाउँदै हुनुहुन्छ, जब त्यो रन वेमा विमान ल्याण्ड गर्छ, त्यो त उच्चतम होला। त्यो दिन कहिले आउँछ?
विमान ल्याण्ड हुने 'एकुरेट डेट' तोक्न सक्दिनँ। तर अबको ५ वर्षमा आधाभन्दा धेरै काम भइसकेको हुनेछ। अबको ६-७ वर्षमा निजगढमा प्लेन ल्याण्ड हुन्छ। त्यहाँ एभिएसन हब हुन्छ। २५/२६ वटा जहाजको कनेक्टिङ हब हुन सक्छ। हाम्रोमा इन्धन अलि महँगो छ। तर हामीले त्यसलाई पनि मिलाउनु पर्छ। निजगढ बनेपछि हामी ग्लोबल नेटवर्कमा प्रवेश गर्छौँ। त्यो गेम चेन्जर पनि हो। कार्गो व्यवस्थापनदेखि सबै काम फरक हिसाबले हुन्छन्। 


 
हामी जसरी ल्याण्ड लक्ड छौँ, त्यसैगरी एयर लक्ड पनि छौँ। यो समस्या कसरी अन्त्य हुन्छ?
यही जुनको १४-१५ मा भारतीय उड्डयन क्षेत्रका उच्च अधिकारीहरु नेपाल आउनेछन्। मैले धेरै प्रयास पनि गरेको छु। यही संकेत पछि बुद्ध एयरले नेपालगञ्जबाट नयाँदिल्ली फ्लाइटको कुरा गरेको छ। हामी त्यो बैठकमा एयररुटका विषयमा धेरै कुरा अघि बढ्छौँ। त्यसले हाम्रो देशको हित गर्छ। हाम्रो र मित्र राष्ट्रहरुको हितालाई ध्यानमा राखेर अघि बढ्छौँ। 
 
हाम्रो नेपाल वायुसेवा निगममा धेरै समस्या छन्। जति प्रभावकारी काम गर्न सक्थ्यो त्यति छैन। चिनियाँ जहाज अलपत्र छन्। अन्य काम पनि उस्तै छन्। त्यसको सुधारमा के गर्नुहुन्छ?
चिनियाँ जहाज सय दिनभित्र उडाउने भनिएको हो। तर त्यो लक्ष्य पुरा हुन्न कि भन्ने डर छ। मैले पाइलट खोज्न लगाइरहेको छु। एनएसीभित्र डोमेस्टिक र इन्टरनेसनललाई छुट्याएको छु। एनएसीको सामाजिक उत्तरदायित्व पनि छ। एयरपोर्ट ह्यान्डलिङबाट पैसा लिन्छ। त्यो त राज्यको पैसा हो। 
 
एनएसीले अन्तर्राष्ट्रिय उडानबाट पनि पैसा कमाएको छ। तर डोमेस्टिकमा नउडाई बस्ने भन्ने त भएन नि। यो त नमिल्ने कुरा भयो। मलाई साफेँबगर किन गएको भनेर सोधे, त्यहाँ अब जहाज चल्दैछ। अब सबै काठमाडौंबाट भन्दा पनि रिजनल फ्लाइटका लागि काम गर्नुपर्छ। काठमाडौंबाट जान अनिवार्य भएका ठाउँमा यहीँबाट उडान हुन्छ। 
 
त्यसबाहेक अन्य सुधारका कुरा छन्। रणनीतिक साझेदारका विषय पनि थिए। कता पुग्यो?
रणनीतिक साझेदार आवश्यक छ। म विकास समितिमा हुँदा पनि यो कुरा भनेको थिएँ। म निजी क्षेत्र र प्रतिस्पर्धालाई बुझ्ने मान्छे हुँ जस्तो लाग्छ। तर हामीकहाँ कागजी साझेदार आउने भए। ब्रोकर मात्रै आउने भए। उनीहरु जहाज र लगानीसहित आउनुपर्यो। लुफ्थान्सा आफैं आउँछ भने खुशी भएर दिनुपर्छ। तर त्यसको नाममा कुन आउँछ। 
 
पेटी ठेकदारको पनि पेटी ठेकेदार आउने अवस्था हुँदैन। लुफ्थान्सा आफैं उपस्थित हुनुपर्छ। हाम्रा कानुनी व्यवस्थाले पनि केही बाधा पुर्याएको छ। त्यसबाहेक उसलाई खुला आकासमा पुर्याउन केही काम गर्नुपर्ने छ। हामी व्यवस्थित गर्ने चरणमा छौँ। पहिले अन एयर मार्क त्यसपछि सेट्। सेट् आइपुगेको छैन। हाम्रो स्वामित्व र झण्डामा साझेदार भित्र्याएर काम गर्छौं। हामी ५० लाख पर्यटक भनिरहेका छौँ। आफ्नो एयरलाइन्स र उसका एयरक्राफ्ट छैनन् भने संसारमा कसैले पनि पर्यटन विकास गर्न सक्दैन। 
 
बनिरहेका विमानस्थलमध्ये कुनै निजी क्षेत्रलाई सञ्चालनका लागि हस्तान्तरण गर्नुहुन्छ?
भैरहवा विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सकिन्छ। एक दुई होइन म पाँच वर्षका लागि सञ्चालनमा दिन सक्छु। अर्को बुट मोडलमा विश्वसनीय कोही आयो भने निजगढ र नागिडाँडा दिन्छौँ। कार्यक्षमता र विश्वसनीयता भएको टिम आउनुपर्छ। नेपालमा अहिले पनि सरकारी संरचना स्टेबल भइसकेका छैनन्। 
 
हामीले त्यो विश्वास दिलाउनुपर्छ। भोलि म मन्त्रीबाट हट्दा पनि नीतिगत निरन्तरता दिनुपर्नेछ। यो व्यवस्थामा कसरी टिक्न सकिन्छ त्यसरी नै निजी क्षेत्र बनेका छन्। हाम्रो व्यवस्थाले जस्तो बनाएको त्यस्तै निजी क्षेत्र भए। 'क्रोनी क्यापिटलिजम'ले यस्तै चरित्रको व्यापार विस्तार गर्दो रहेछ। 


 
टिआइएमा पनि म्यानेजमेन्ट कन्ट्रयाक्टको संभावना छ?
त्यहाँ अहिले सोचेका छैनौँ। 
 
बजेटमा पनि भिजिट नेपाल २०२० को कुरा आएको छ। २० लाख पर्यटक कसरी ल्याउनुहुन्छ?
नेपालमा बनिरहेका र बनेका होटलले १८ लाख पर्यटक थेग्न सक्छन्। मैले गरेको अध्ययनले यही देखाएको छ। त्यतिबेलासम्म भैरहवा सुरु भइसक्छ। आज पनि लुम्बिनी आउने मात्रै वास्तविक पर्यटकको गणना भएको छैन। जो त्यहाँ आउँछ उसलाई बस्ने र खर्च गर्ने वातावरण बनाउनु पर्छ। भारतीय बाटो हुँदै तेस्रो देशबाट आउने पर्यटकको गणना भएको छैन। त्यसैले अहिले पनि १२/१३ लाख छन्। त्यतिबेलासम्ममा २० लाख पुर्याउन सकिन्छ। 


Share this Story

   

एकुरेट डेट त भन्न सक्दिन, ७ वर्षमा निजगढमा प्लेन उड्छ, पर्यटनमन्त्री अधिकारीको अन्तर्वार्ता को लागी ४ प्रतिक्रिया(हरु)

Manis[ 2018-06-14 10:37:32 ]
Pahila ta jos ra bichar ramroooxxx aabbaa kam herdai jauu rabindra sir ko lagii 5yrs xxx kam garera dekhauunee

   हालसम्म ७६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नारायण[ 2018-06-12 07:14:12 ]
दबाबै दबाबमा सुरुत गर्लान् ! तर सम्पन्न हुन अर्को शताब्दी कुर्नुपर्छ !

   हालसम्म ७० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sushil[ 2018-06-10 06:52:22 ]
plan accident भयकै छ । flight delay भयकै छ । experts ले हुदैन भने पनि जनताको भोट का लागि airport जबर्जस्ती भनाउदा पछि तिनै जनता ले सराप्छ्न । खाली शब्द मा मात्र गुलियो हालेर के गर्ने?

   हालसम्म ७७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Samju[ 2018-06-10 01:37:43 ]
सबै गफ मात्र गर्ने हो। आफै कमाउने हुन

   हालसम्म ७४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.