लेखापरीक्षकको भूमिकामा अर्थले उठायो प्रश्न, ‘सिएहरुकै कारण सम्पति शुद्धिकरणको जोखिम’

बिजमाण्डू
२०७५ साउन ३ गते १२:०८ | Jul 19, 2018
लेखापरीक्षकको भूमिकामा अर्थले उठायो प्रश्न, ‘सिएहरुकै कारण सम्पति शुद्धिकरणको जोखिम’



 
काठमाडौं। लेखापरीक्षकले नै संगठित संस्थाको फरक फरक वासलात तयार गरी सम्पत्ती शुद्धिकरणमा सहयोग पुर्या्एको भन्दै उनीहरुको भूमिकामा अर्थ मन्त्रालयले प्रश्न उठाएको छ। 
 
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) अन्तर्गतको क्षेत्रीय संस्था एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रिङ (एपिजी) को २१औं वार्षिक बैठकको तयारी छलफल कार्यक्रममा लेखापरीक्षकको भूमिकामाथि प्रश्न उठाइएको हो।
 
बैठकमा सहभागीहरुका अनुसार, अर्थ मन्त्रालयका अधिकारीहरुले लेखा परीक्षकले फरक फरक वासलात तयार गर्न सहयोग गर्ने र त्यसबाट गैरकानुनी क्रियाकलाप फस्टाउन सहयोग पुग्ने गरेको भन्दै उनीहरुको भूमिकामाथि प्रश्न उठाइएको थियो। 
 
'अवैध धनलाई विभिन्न माध्यमबाट वैध बनाउन अभ्यासहरु भइरहेको अवस्थामा लेखापरीक्षकले नै दुईथरी ब्यालेन्स सिट (वासलात) बनाउन सिकाउने र त्यसबाट गैरकानुनी कामलाई प्रोत्साहन भइरहेको देखिएको छ,' छलफलमा सहभागी अर्थ मन्त्रालयका एक अधिकारीको भनाइ उधृत गर्दै स्रोतले भन्यो। 
 
लेखा परीक्षकहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग लेखापरीक्षकको कामको नियमन गर्ने अधिकार भए पनि त्यसको प्रयोग नभइरहेको भन्दै छलफलमा सहभागीहरुले त्यसमा पनि असन्तुष्टी जनाएका थिए। 
 
'संस्थाले आफ्नो अधिकार प्रयोग गरी कानुनको पालना गराउन भूमिका खेल्नुपर्नेमा त्यसो नभएको भन्दै प्रश्न उठेको थियो,' एक सहभागीले भने। 
 
छलफलका क्रममा सरकारी अधिकारीहरुले लेखापरीक्षकले नै थोरै कर तिर्नुपर्ने गरी वासलात तयार गरिदिने गरेको भन्दै त्यसको नियन्त्रणमा पनि जोड दिएका छन्। व्यवसायीलाई दुईथरी वासलात बनाउन सिकाउने नै लेखापरीक्षक भएको उनीहरुको जिकिर थियो।
 
सम्पति शुद्धिकरणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुन लागेको छ। साउन ५ देखि ११ गतेसम्म आयोजना हुने सम्मेलनमा विभिन्न देशका गरी ५०० भन्दा धेरै सहभागी हुनेछन्
 
एपिजीमा ४९ देश सदस्य छन्। एफएटिएफमा विश्वका टी-२० र अन्य शक्तिशाली देश गरेर ३६ राष्ट्र सदस्य छन्। नेपाल एफएटिएफको सदस्य होइन। नेपालले एपिजीको माध्यमबाट एफएटिएफमा प्रतिनिधित्व गर्छ। नेपाललगायत एपिजी सदस्य देशहरुले सामूहिक मूल्यांकन, प्रतिवेदनलगायतको बारेमा छलफल एपिजीमाध्यमबाटै हुने गर्छ।
 
हाम्रो भूमिका गलत छैन: लेखापरीक्षक
तर, मंगलबार संस्थाको वार्षिक कार्यक्रममा भेटिएका चार्टर्ड एकाउन्टेन्टहरुले भने आफूहरुले कसैलाई पनि गलत काम गर्न नसिकाएको दावी गरे। 'चार्टर्ड एकाउन्टेन्टले यसो गर वा त्यसो गर भनेर सिकाउँदैन, उसले नैतिक रुपमा पनि त्यसो गर्न मिल्दैन,' एक चार्टर्ड एकाउन्टेन्टले भने। 
 
तर, ती चार्टर्ड एकाउन्टेन्टले केही व्यवसायीले भने बैंकबाट ऋण लिने प्रयोजनका लागि कहिलेकाँही 'प्रोजेक्टेड' ब्यालेन्स सिट बनाउन लगाउने गरेको र आफूहरुले त्यस्तो वासलात भने तयार गर्ने गरेको उल्लेख गरे। 
 
सरकारले चालु आर्थिक वर्षबाट बैंक र कर कार्यालयमा बुझाउने वासलात 'ट्याली'  गर्ने घोषणा गरेपछि यो विषयमा बहस बढिरहेको छ। केही व्यवसायीहरु सरकारी निर्णयको विरोधमा छन्। 

Tata
GBIME
Nepal Life