नेपाल बैंकको ‘फेवर’ मा आफ्नै निर्णयमा वर्ष दिन पनि टिकेन सेबोन, संस्थागतलाई खुलेकै दिनदेखि एफपिओ

बिजमाण्डू
२०७५ असार ५ गते १४:१४ | Jun 19, 2018
नेपाल बैंकको ‘फेवर’ मा आफ्नै निर्णयमा वर्ष दिन पनि टिकेन सेबोन, संस्थागतलाई खुलेकै दिनदेखि एफपिओ
 
काठमाडौं। धितोपत्र बजारमा प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो शेयरमा एकजना लगानीकर्तालाई अधिकतम कति कित्ता शेयर लगानी गर्न दिने भन्ने आफैँ निर्णय गर्न पाउने भएका छन्। धितोपत्र निष्काशनसम्बन्धि यसअघिको व्यवस्था परिमार्जन गर्दै नेपाल धितोपत्र बोर्डले यस्तो निर्णय गरेको हो। 
 
निष्काशन भएका प्राथमिक शेयर बिक्री हुन छाडेपछि धितोपत्र बोर्डले धितोपत्र निष्काशनसम्बन्धि नियममा संशोधन गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयर निष्काशन गर्ने कम्पनीले नै आफ्नो शेयरमा एकजना लगानीकर्तालाई कति कित्तासम्म लगानी गर्न दिने भन्ने निर्णय गर्न पाउँछ। 
 
यसअघि निष्काशित शेयरमा लगानीकर्ताले निष्काशन हुने शेयरको आकारअनुसार अधिकतम ०.५ प्रतिशतसम्म आवेदन दिन पाउने व्यवस्था थियो। बोर्डले सोमबार गरेको निर्णयअनुसार अबदेखि निष्काशित शेयरमा एक व्यत्ति वा संस्थालाइ अधिकतम कति कित्तासम्म आवेदन गर्न दिने भन्ने अधिकार स्वयं कम्पनीले नै तोकेर शेयर आह्वान गर्नु पर्नेछ।
 
यसैगरी प्रिमियमसहित निष्काशन भएका धितोपत्र र एफपिओमा निष्काशन भएकै दिनदेखि संस्थागत लगानीकर्तालाई पनि आवेदन खुला गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले जानकारी दिए। यो ब्यवस्था सोमबारदेखि नै लागू भइसकेको छ।
 
गत वर्ष जेठ १४ गते सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन भन्दै बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएको अवधिभित्र शेयर बिक्री नभएमा मात्रै संगठित संस्थाले खरिद गर्न सक्ने व्यवस्था गरेको थियो।
 
बुटवल पावर कम्पनी लिमिटेडले गत माघ १५ गतेबाट ५०१ रुपैयाँका दरले एफपिओ जारि गरेको थियो। तर निष्कासित सवै शेयर बिक्री नभएपछि ५८ करोड रुपैयाँ बराबरको एफपिओ अण्डर राइटरले उठाउनु परेको थियो। यसैगरि हालै निष्काशन भएको एनएमबी बैकको एफपिओ पनी सोमबारसम्म ५० प्रतिशत मात्रै बिक्री भएको छ। चाँडै नेपाल बैकले एफपिओ निष्काशन गर्दै छ। यसैलाइ मध्यनजर गर्दै बोर्डले नियम परिमार्जन गरेको हो।

Tata
GBIME
Nepal Life