नगदै कारोबार गर्न उक्साउने गरी राष्ट्र बैंकको नयाँ निर्देशन, लाख माथि रेमिटेन्स बैंक खाताबाट

बिजमाण्डू
२०७५ साउन १ गते ११:४३ | Jul 17, 2018
नगदै कारोबार गर्न उक्साउने गरी राष्ट्र बैंकको नयाँ निर्देशन, लाख माथि रेमिटेन्स बैंक खाताबाट

 
काठमाडौं। नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट नगद झिक्ने सीमा ५ प्रतिशत बिन्दुले बढाउँदै विद्युतीय माध्यमबाट गरिने कारोबार सीमा सम्बन्धि निर्देशन जारी गरेको छ। नयाँ आर्थिक बर्षका लागि राष्ट्र बैंकले क्रेडिट कार्डबाट नगद झिक्न पाउने सीमा २० प्रतिशतबाट २५ प्रतिशत पुर्याएको हो।
 
राष्ट्र बैंकले प्रिपेड कार्ड एक पटकमा एक लाख रुपैयाँसम्मको जारी गर्न पाइने छ। कार्डबाट बढीमा २५ हजार रुपैयाँ मात्र झिक्न पाइन्छ।
 
डेबिट कार्डबाट एक पटकमा अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइन्छ। बैंकहरुले ३५ हजार रुपैयाँसम्म झिक्न दिइरहेका थिए। दिनभरीमा एक लाख रुपैयाँ मात्र झिक्न पाइने छ।
 
राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्न नीति ल्याए पनि उसले गरेका ब्यवस्थाले नगद कारोबारलाई नै प्रोत्साहित गरेको छ। प्रणालीभित्र पैसा राख्नलाई समेत कडाइ गरिएको छ। 
 
मोबाइल बैंकिङ
मोबाइल बैंकिङबाट एक पटकमा ५ हजार रुपैयाँसम्म मात्र भूक्तानी गर्न पाइन्छ। दिनभरीमा १५ हजार भूक्तानी गर्न पाइन्छ।
 
इन्टरनेट बैंकिङबाट दैनिक एक लाख रुपैयाँसम्म भूक्तानी गर्न पाइन्छ। मासिक पाँच लाख रुपैयाँसम्म भूक्तानी गर्न पाइन्छ। सरकारी कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, जरिवाना, दस्तुरलगायत शुल्कहरु बिल बमोजिम गर्न सकिने ब्यवस्था गरिएको छ।
 
मोबाइल वालेट
मोबाइल वालेट सेवा प्रदायक कम्पनीमार्फत एक पटकमा ५ हजारसम्म नगद भूक्तानी गर्न सकिने छ। दिनभरीमा १५ हजार भूक्तानी गर्न सकिन्छ। मासिक २५ हजार भूक्तानी गर्न पाइन्छ।
 
अब विदेशमा काम गर्ने नेपालीले पठाएको पैसा एक लाख रुपैयाँभन्दा तल भए नगदै पाइन्छ। बढी भएमा बैंक खाता अनिवार्य गरिएको छ।

Tata
GBIME
Nepal Life