फ्रि भिषा फ्रि टिकट भनिएपनि बढि मूल्य तिर्न कामदार वाध्य, औषत ५१ हजार नतिरी विदेश जान गाह्रो

बिजमाण्डू
२०७५ जेठ ३० गते ०९:४१ | Jun 13, 2018
फ्रि भिषा फ्रि टिकट भनिएपनि बढि मूल्य तिर्न कामदार वाध्य, औषत ५१ हजार नतिरी विदेश जान गाह्रो


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले लागु गरेको फ्रि भिषा फ्रि टिकटको प्रावधानपछि कामका लागि विदेशीने नेपालीको संख्यामा गिरावट आएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

 
निशुल्क भिषा र टिकटको व्यवस्थापछि विदेशी कम्पनीबाट कामदारको मागमा कुनै पनि कमी नआएपनि आपूर्तिमा आएको कमीका कारण विदेशीने नेपालीको संख्या घटेको हुन सक्ने अध्ययनले देखाएको छ। अध्ययन राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको हो।
 
भूकम्पपछिको पूनर्निर्माणका लागि धेरै जनशक्तिको माग भएको र विदेशीने नेपाली मध्येवाटै पूनर्निर्माणमा आवश्यक जनशक्ति आपूर्ति हुँदा विदेशीने कामदारको संख्यामा कमी आएको पनि अध्ययने देखाएको हो।
 
सरकारले २०७२ जेठ २६ गतेदेखि नेपालीको प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुक मलेसिया र खाडी मुलुक कतार, साउदी अरब, युएइ, बहराइन, ओमन र कुवेतमा फ्रि भिषा फ्रि टिकटको व्यवस्था लागु गरेको थियो।
 
भिषा र टिकट निशुल्क पाइनेभएपछि कामदारको लागत घट्ने र विदेश जाने नेपालीको संख्यामा वृद्धि हुने अपेक्षा गरिएकोमा उल्टो विदेश जाने नेपालीको संख्यामा कमी आएको अनुसन्धानले देखाएको हो।
 
राष्ट्र बैंकले विदेश जान लागेको ३१३ जना कामदारमाथि अध्ययन गरेर यस्तो निष्कर्श निकालेको हो। निशुल्क भिषा र टिकटको प्रावधानपछि ३५.८ प्रतिशत कामदारले मात्र निशुल्क भिषा र टिकट अनुसार विदेश गएका छन्। १५ प्रतिशत कामदारले मात्र १० हजार रुपैयाँनै तिरेर विदेश गएका छन्। २७.८ प्रतिशत कामदारले भने ५० हजार रुपैयाँभन्दा बढी रकम तिरेर वैदेशिक रोजागरीमा गएको अध्ययनले देखाएको छ।  
 
सबैलाई निशुल्क भिषा र टिकटको बारेमा मेनपावरले जानकारी नदिने, थोरै रकममा मेनपावरले विदेश नपठाउने र एउटाले नतिरे पनि अर्को व्यक्तिले बढी रकम तिर्न तयार भइदिने, जतिनै धेरै रुपैयाँ तिरेपनि १० हजारको मात्र रसिद दिने लगायतका कारणले गर्दा फ्रि भिषा र फ्रि टिकट कार्यान्वयनमा समस्या आएको राष्ट्र बैंकको निष्कर्ष छ।
 
पछिल्लो समय औसत ५० हजार रुपैयाँनै तिरेर विदेश गएपनि विगतको भन्दा भने लागत रकम घटेको भएपनि दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान र श्रीलंका भन्दा नेपाली कामदारको खर्च बढिरहेको पनि अनुसन्धानले निष्कर्श निकालेको छ।
 
निशुल्क भिषा र टिकटको प्रवधान लागुहुनु पूर्व औषत लागत ८६ हजार रुपैयाँ रहेकोमा निशुल्क भिषा र टिकटको व्यवस्था लगुभएपछि औषत लागत ५१ हजार रुपैयाँ रहेको छ।
 
गत आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीको लागि विदेशिएका थिए। ती मध्ये ९४.९ प्रतिशत अर्थात तीन लाख ७९ हजार नेपालीहरु फ्रि भिषा र फ्रि टकट लागु गरिएका देशमा रोजगारीको लागि गएका थिए।
 
विदेशीनेमध्ये ८० प्रतिशत नेपाली मात्रै मेनपावरमार्फत विदेश गएका छन्। २० प्रतिशत नेपाली भने आफ्नै पहलमा विदेश गएका छन्।
 
राम्रो आम्दानी हुने काममा रोजगारदाता कम्पनीले निशुल्क भिषा र टिकट नदिएमा शोको शुल्क लिन पाउने व्यवस्था गरेर भएपनि उच्च आम्दानी हुने काममा नेपालीलाई पठाउनुपर्ने अनुसन्धानको सुझाव छ।