प्रचण्डको क्षेत्रमा तीन अर्ब भन्दा बढीको विकास योजना, २ अर्ब लगानीमा रिङरोड र लिंक रोड बन्ने






चितवन।
भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् ।


शहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नं ३ पर्छ । यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्र हो ।

शहरी विकास मन्त्रालयमार्फत सञ्चालन हुन लागेका योजनाहरुमा अधिकांशतः सडक कालोपत्र गर्ने रहेका छन् । त्यसका अतिरिक्त अत्याधुनिक सिटी हल निर्माण, देवघाटमा शवदाह स्थल, बसपार्क सुधार, मन्दिर संरक्षण, रानीपोखरी व्यवस्थापन र भरतपुर अस्पतालमा कुरुवा घर निर्माण रहेका छन् । भरतपुर महानगरकी प्रमुख रेनु दाहालका अनुसार दुई अर्ब रुपैयाँ बराबरको रिङरोड र लिंकरोड ठेक्का लागिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा रहेको छ । सो बजेटबाट ५९ किलोमिटर सडक कालोपत्र गरिँदै छ ।

त्यसैगरी, सिटी हल निर्माणका लागि रु ५० करोड बजेट शहरी विकास तथा भवन निर्माण विभागले छुट्याएको छ । भरतपुर महानगरपालिका–१८ को रानीपोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, वडा नं ६ को लक्ष्मीनारायण मन्दिरलाई व्यवस्थापन गर्न र ९ नं वडामा रहेको केन्द्रीय बस टर्मिनल मर्मत सम्भारका लागि रु ४५ करोड सो विभागले विनियोजन गरेको छ ।

यसैगरी, भरतपुर अस्पतालको कुरुवाघर निर्माणका लागि सात करोड ५० लाख र देवघाटमा शवदाह स्थल निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन भएको दाहालले बतार्इन् । सिटी हलको जग्गा टुङ्गो लागि नसकेकाले आगामी आर्थिक वर्षमा काम हुने भए पनि अन्य सबै काम यसै आर्थिक वर्षदेखि शुरु हुने दाहालले बतार्इन्।

महानगर प्रमुख दाहालले यस क्षेत्रका सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सो बजेट आएको बतार्इन् । उनले भनिन्, “हाम्रो महानगरको विकास बजेटभन्दा बढी शहरी विकासले बजेट दिएको छ ।” भरतपुर महानगरको आउँदो वर्षको पूँजीगत बजेट रु एक अर्ब ६२ करोड ५६ लाख मात्रै रहेको छ । महानगरको कुल बजेटमा तीन अर्ब ३४ करोडको ४८ दशमलब ६६ प्रतिशत मात्र पूँजीगत खर्च रहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले सघन शहरी विकास कार्यक्रमअन्तर्गत विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताए।उनका अनुसार भारतसँग सीमा जोडिएका भद्रपुरदेखि धनगढीसम्मका २१ सदरमुकामका शहरमा विभागले काम थालेको छ ।

महानगरमा ठेक्का लागिसकेका करीब रु दुई अर्ब बराबरको सडक शुक्रबार शिलान्यास हुने र २०७७ साल असार मसान्तसम्ममा सम्पन्न हुने उनले बताए।नेपाल सरकारको वैदेशिक ऋणबाट महानगरमा विभिन्न योजनाको काम शुरु गर्न लागिएको हो ।


Share this Story

   

प्रचण्डको क्षेत्रमा तीन अर्ब भन्दा बढीको विकास योजना, २ अर्ब लगानीमा रिङरोड र लिंक रोड बन्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.