राष्ट्र बैंकले प्रणालीगत जोखिम ल्याउने बैंकको नियमन गर्ने, संस्था पहिचानका लागि आधार तय

बिजमाण्डू
२०७५ साउन ३ गते १५:०१ | Jul 19, 2018
राष्ट्र बैंकले प्रणालीगत जोखिम ल्याउने बैंकको नियमन गर्ने, संस्था पहिचानका लागि आधार तय

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रणालीगत रुपमा जोखिम निम्त्याउन सक्ने खालका बाणिज्य बैंकहरुको विशेष नियमन गर्ने भएको छ।

सम्बन्धित बैंकमा समस्या आउँदा समग्र प्रणालीलाई पनि अप्ठेरोमा पार्न सक्ने खालका संस्थाहरु पहिचान गरेर विशेष नियमन र सुपरिवेक्षण गर्न लागिएको हो।प्रणालीगत रुपमा महत्वपुर्ण मानिएका बैंकहरुको पहिचान गरिने चालु आर्थिक बर्षको मौद्रिक नीतिमा समेत उल्लेख गरिएको छ। राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख नारायण पौडेलले निक्षेप र कर्जाको रुपमा मात्र ठूला नभइ अन्तर्राष्ट्रिय सम्बन्ध, वाह्यीय तथा भित्री अवस्थाका आधारमा समेत प्रणालीमा जोखिम ल्याउन सक्ने खालनका बैंकहरुलाई विशेष नियमन र सुपरिवेक्षण गरिने जानकारी दिए।

विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई भित्र्याउनका लागि विद्यमान नीति परिमार्जन गर्न खोजिरहेको राष्ट्र बैंकले जरैदेखि बलियो सुपरिवेक्षणका लागि संस्था पहिचान गर्न खोजेको हो। 'जुन संस्था समस्यामा पर्दा अन्य संस्थाहरु पनि ढल्ने अवस्था आउन सक्ने खालका बैंकहरुलाई विशेष निगरानी गर्ने भन्ने हाम्रो उद्देश्य हो' पौडेलले भने, 'यसले गर्दा सानातिना संस्था ढल्दा पनि प्रणालीलाई फरक पर्दैन।'

राष्ट्र बैंकले अहिले सबै खालका संस्थालाई एकै किसिमले नियमन र सुपरिवेक्षण गर्दै आएको छ। राष्ट्र बैंकले नियमित रुपमा आन्तरिक र वाह्यीय गरी बैंकहरुको सुपरिवेक्षण गर्दै आएको छ। यसभन्दा एक कदम अगाडि बढेर निश्चित संस्थाहरुलाई विशेष निगरानी गर्न लागिएको हो।

'पूँजी, निक्षेप वा ऋणका हिसावले ती संस्था साना वा औषत पनि हुन सक्छन्' उनले भने, 'तर प्रणालीगत रुपमा तिनीहरुले पार्ने प्रभाव ठूलो हुन सक्छ। वासलातलाई मात्र आधार मानेर विशेष निगरानी हुँदैन। चार/पाँच वटा आधारहरु तयार पारेर त्यसभित्र पर्ने संस्थाहरुलाई विशेष नियमन गरिन्छ।'

राष्ट्र बैंकले आन्तरिक खपतका रुपमा 'क्यामेल रेटिङ' गरेर पनि निगरानी गर्दै आएको छ। यो रेटिङ राष्ट्र बैंकले सार्वजनिक गर्दैन। विशेष निगरानीमा रहेका बैंकहरुको विवरण भने सार्वजनिक गर्ने पक्षमा राष्ट्र बैंक छ।

'विशेष नियमन र सुपरिवेक्षणले वित्तीय स्थायित्वमा असर गर्न सक्ने सम्भावित जोखिमहरुलाई वेलैमा नियन्त्रण गर्न सकिन्छ' प्रवक्ता पौडेलले भने, 'जसले गर्दा समग्र प्रणाली र अर्थतन्त्रलाई पनि सवल बनाउन मद्दत पुग्छ।'

राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सवल बनाउनका लागि वित्तीय सवलता सुचकाङ्कसमेत विकास गर्ने भएको छ। जुन सुचकलाई राष्ट्र बैंकले नियमित अन्तरालमा सार्वजनिकसमेत गर्ने छ। यसबाट वित्तीय संस्था छनौट गर्न सर्वसाधारणलाई सहज हुनेछ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुको नियमन र सुपरिवेक्षणलाई थप दरिलो बनाउनका लागि यसपालीबाट ठूला शाखाहरुको छुट्टै लेखापरीक्षण गर्ने ब्यवस्थासमेत मिलाउने भएको छ। अहिले बैंकहरुले आन्तरिक रुपमा लेखापरीक्षण गरेपनि वाह्यीय लेखापरीक्षणबाट शाखाको लेखाजोखा गरिरहेका थिएनन्।

'अबका दिन बैंकहरुको नियमन र सुपरिवेक्षण थप सवल हुने छ' पौडेलले भने, 'विगतबाटै गर्ने गरी नीतिहरु ल्याइएको पनि थियो। तर यसपालीबाट हामी संस्थाहरु पहिचान गरेरै विशेष नियमन र सुपरिवेक्षण गर्ने छौं।'

राष्ट्र बैंकले मौद्रिक नीतिमा भएका ब्यवस्थाहरुमध्ये तत्काल गर्नु पर्ने बिषयहरुका निर्देशन जारी गरेपछि संस्था पहिचान गरेर नियमन गर्ने बिषयमाथि काम थाल्ने छ। 'अहिले अध्ययन मात्र भएको छ' पौडेलले भने, 'नियमित काम सकिने वित्तिकै हामी त्यता हात हाल्छौं।'