शेयर बजारमा प्रविधीले फड्को मार्यो, लगानीकर्ताले अनलाइन प्रणालीलाई नपत्याउँदा नेप्से ओरालो

बिजमाण्डू
२०७५ साउन १ गते १५:२० | Jul 17, 2018


काठमाडौं। लगानीकर्ताले लामो समयदेखि प्रतिक्षा गरेको अनलाइन प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ।

Tata
GBIME
Nepal Life

अनलाइन प्रणाली कार्यान्वयन भएसँगै शेयर बजारमा सुधार देखिन्छ भन्ने लगानीकर्ताको बुझाइ भने गलत सावित भएको छ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो कारोबार तथा अनलाइन प्रणाली आएको दिनमा शेयर बजारमा ८.०३ अंकले गिरावट आएको छ। अंकसँगै कारोबार रकम पनि २० करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ।

कारोबार सुरु भएको २४ मिनेटसम्म २.३८ अंकले सुधार देखिए पनि त्यसपछि बजार ओरालो लाग्दा एक बजेर २० मिनेटसम्ममा ९.५१ अंकले ओरालो लागेको थियो।

नेपाल स्टक एक्सचेन्जले आजै देखि छुट्टाएको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उपसूचक भने र घटेको छ।

व्यापार फाइनान्स र अन्य उपसूचक बाहेक अरु सबै सूचक तथा उपसूचक घटेका छन्। सबैभन्दा धेरै नविल बैंकको ५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने रैराङ हाइड्रोपावरका शेयरधनीले ६.७६ प्रतिशतले कमाएका छन् साथै बोटलर्स नेपाल तराइका शेयरधनीले ५.८२ अंकले गुमाएका छन्।
 
लगानीकर्ताले लामो समयदेखि प्रतिक्षा गरेको अनलाइन प्रणाली आजदेखि लगानीकर्ताको पहुँचमा पुगेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्विका प्रसाद पौडेलले बताए।

शेयर बजारले नयाँ फड्को मारेको छ उनले भने 'पूर्ण रुपमा कार्यान्वयन हुन केही समय लाग्ला तर नेपालको शेयर बजार प्रविधिमैत्री भएको छ'।   

नेपालको शेयर बजारमा अनलाइन प्रणालीले एउटा फड्को मारेको लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए। उनले भने 'अनलाइन प्रणालीको प्रस्थान विन्दु सुरु भएको छ यसलार्इ राम्रोसँग अगाडि बढाउन सम्पूर्ण सरोकारवाला निकाय तथा लगानीकर्ताले साथ दिनुपर्छ'।

नेप्सेले आजदेखि लगानीकर्ताको हातमा अनलाइन प्रणाली पुग्ने बताए पनि केही ब्रोकरले मात्रै 'युजर नेम' र 'पासवर्ड' दिए। केही दिनमा नै सम्पुर्ण ब्रोकरले आफ्ना ग्राहकहरुको हात हातमा अनलाइन प्रणाली पुर्याउने बताएका छन्।  

लामो सयमदेखि लगानीकर्तालार्इ पर्खाएको नेप्सेले ब्रोकर मार्फत लगानीकर्ताको हातमा अनलाइन प्रणाली पुर्याएको हो। आफ्नो अर्डर आफैँले दिन नपाए पनि उनीहरुले आजदेखि आफ्नो कारोबारको विवरण भने आफैँले हेर्न पाएका छन्।

नेप्सेले 'युएटि' परिक्षण गरेपछि लगानीकर्ताले आफ्नो अर्डर आफैँले दिन पाउँछन्। यसको लागि अझै दशैँसम्म कुर्नुपर्ने नेप्सेका प्राविधिकले बताउँदै आएका छन्।

आजदेखि सुरु भएको अनलाइन व्यवस्थाले पूर्ण अनलाइन प्रणाली कार्यान्वयन हुँदासम्म लगानीकर्ता अलमलमा नपर्ने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले बताए।

ब्रोकर तथा लगानीकर्ता अनलाइन प्रति अभ्यस्त हुँदासम्ममा पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन सजिलो हुने नेप्सेको बुझाइ छ।