Bizmandu
www.bizmandu.com

नेपाल लघुवित्तको एक लाख ८० हजार कित्ता आइपिओ आउँदै, बैशाख १२ देखि निष्कासन हुने


काठमाडौं। नेपाल लघुवित्त वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा एक लाख ६७ हजार कित्ता शेयर सर्वसधारणको लागि बैशाख १२ गतेदेखि निष्कासन गर्न लागेको हो।

संस्थाले निष्कासन गर्ने मध्ये तीन हजार ६०० कित्ता कर्मचारी र ९ हजार कित्ता सामुहिक लगानी कोषकालागि छुट्याएको छ। आइपिओमा न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताकालागि आवेदन दिन पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।


संस्थाले छिटोमा बैशाख १६ र ढिलोमा जेठ १० गतेसम्मकालागि बिक्री खुला गरेको छ। इच्छुक आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन्।

आइपिओ निष्कासन पश्चात संस्थाक शेयरधनीको अनुपात ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको ३० प्रतिशत अर्थात् एक करोड ८० लाख रुपैयाँ कायम हुनेछ। संस्थाको अधिकृत पूँजी १० करोड रुपैयाँ र जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त संस्थाको कार्यक्षेत्र सिन्धुपाल्चोक, नुवाकोट र रसुवा रहेका छन्। हाल ८ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।