BIZMANDU
www.bizmandu.com

मोदी सरकारको क्यासलेस इकोनोमीलाई झट्का, कहाँबाट आयो भारतीयको खल्तीमा यति धेरै पैसा!

२०७५ जेठ २८

Tata
GBIME
Nepal Life

नयाँ दिल्ली। भारतको अर्थतन्त्रलाई क्यासलेस बनाउन मोदी सरकारले लामो समयदेखि गरिरहेको प्रयास बिपरित भारतीयहरुको खल्तीमै टन्न पैसा राख्ने गरेको देखिएको छ।

यति बेला भारतीयहरुको हातैमा रहेको नगद १८.५ लाख करोड भारुभन्दा माथि पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ जुन अहिलेसम्मकै माथिल्लो स्तर हो।

यो नगद नोटबन्दीको समयको भन्दा दुईगुना बढी हो। नोटबन्दीपछि जनताको हातमा नगद ७.८ लाख करोड भारुमात्र रहेको थियो। तर अब भने यो बढेर रेकर्डस्तरमै पुगेको भारतीय रिजर्भ बैंकको तथ्यांक छ।

हाल भारतमा चलनचल्तीमा रहेको कुल नगद १९.३ लाख करोडभन्दा धेरै छ जबकी नोटबन्दीपछि यो ८.९ लाख करोड भारुमा खुम्चिएको थियो। चलनचल्तीमा रहेको कुल मुद्रामध्ये बैंकमा रहेको नगद घटाउँदा मानिसको गोजीमा कति पैसा छ भन्ने थाहा पाउन सकिन्छ।

केही महिना पहिले भारतका बिभिन्न प्रान्तमा नगदको संकट रहेको बताइएको थियो तर यसको बिपरित मानिसको हातमा प्रशस्त नगद भएको तथ्यांक भारतीय रिजर्भ बैंकले सार्वजनिक गरेको हो।

आरबीआईले जारी गरेको तथ्यांकका अनुसार एक वर्ष पहिलेको तुलनामा रिजर्व करेन्सी ३० प्रतिशतले बढेको छ। नोटबन्दीको समयमाभन्दा यसमा दुईगुनाले बृद्धि भएको देखिएको छ। नोटबन्दीभन्दा पहिला २०१६ को जनवरीमा कुल १७.९ लाख करोड रुपैयाँ चलनचल्तीमा थियो।

मोदी सरकारले क्यासलेस इकोनोमी भनिरहँदा सन् २०१४ को मेमा मोदी सरकार बनेदेखि नै मानिसको हातमा नगद बढिरहेको देखिएको छ। त्यसबेला १३ लाख करोड खल्तीमा रहेकोमा एक बर्षमा बढेर १४.५ लाख भन्दा धेरे भएको र सन् २०१६ को म  सम्ममा १६.७ लाख करोड भएको देखिन्छ।

अक्टोबर २०१६ मा मानिसको हातमा १७ लाख करोडभन्दा बढी रुपैयाँ पुगेको देखिन्छ। नोटबन्दीको समयमा यसमा केही समय ह्वात्तै गिरावट आयो । तर सन् २०१७ को फेब्रुअरीमा फेरि बढेर १० लाख करोडभन्दा बढी र सन् २०१७ को सेप्टेम्बरसम्ममा १५ लाख करोड भयो।

नोटबन्दीको समयदेखि नै मोदी सरकारले क्यासलेस इकोनोमीतर्फ अघि बढिरहेको भनेपनि केन्द्रीय बैंकको तथ्यांक अनुसार हाल भारतीयको खल्तीमा १८.५ लाख करोड भारु भन्दा बढी नगद देखिन्छ।