BIZMANDU
www.bizmandu.com

अंशबण्डामा पनि कडाइ गर्दै मालपोत कार्यालय, जग्गाको प्लटिङ गर्ने चोरबाटो बन्द

२०७५ जेठ २९

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले खेतीयोग्य जमिनको खण्डीकरण रोक्न बर्षमा एक पटक मात्र कित्ताकाट गर्न पाउने नीति लिएपछि चोरबाटो प्रयोग गरेर जग्गाको खण्डीरण हुँदै आएको थियो।

 
अनुमति लिएर वा नलिएर कुनैपनि तरिकाले कृषियोग्य जमिनको खण्डीकरण गर्न नपाउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले पनि साथ दिएपछि व्यावसायीहरुले चोरबाटो प्रयोग गर्दै अंशबण्डा गराएर प्लटिङ गरिरहेका थिए।
 
पछिल्लो समय भने मालपोत कार्यालयले वास्तविक अंशवण्डा होकी होइन भनेर क्रस चेक गरेर मात्रै अंशबण्डा गर्न थालेका छन्।
 
सामान्य अवस्थामा भन्दा बढीनै अंशबण्डाका फाइल आउन थालेपछि मालपोत कार्यालयहरुले वास्तविक अंशबण्डा होकी होईन भन्दै क्रस चेक गर्न थालेको विराटनगर मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत गौतम अमात्याले बिजमाण्डूलाई बताए।
 
पहिला पहिला समान्य रुपमा महिना १/२ वटा मात्रै अंशवण्डाका फाइल आउने गरेकोमा सरकारले कित्ताकाट रोक्ने निर्णय गरेपछि दिनहुँजसो अंशबण्डाका फाइलहरु आउन थालेका थिए। यो रोग विराटनगरमा मात्र होइन, देशभरीकै मालपोत कार्यालयमा देखिएको थियो।
 
चोरबाटो प्रयोग गरेर अंशबण्डा हुन थालेको चाल पाएपछि मालपोत कार्यालयहरुले कडाइ गरेको कास्की लेखनाथ मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेलले बताए।
 
'वास्तवमै अफ्ठेरो पर्दा वा छोरा विदेशमा हुनेको अंशबण्डा गरिदिएका थियौ,' पौड्यालले भने, पछिल्लो समय बनावटी समस्या बनाएर जग्गा प्लटिङ गर्ने उदेश्यले अंशबण्डा गर्न आउनेहरु बढेपछि त्यस्ता व्यक्तिको अंशवण्डा गरिएको छैन।'
 
धनगढी मालपोत कार्यालयमा पनि केहि समय अघिसम्म नक्कली अंशबण्डा गर्नेहरुको विगविगी नै थियो।  अहिले भने वास्तविकता पत्ता नलगाइ अंशबण्डाको फाइल अगाडि नबढाएको मालपोत कार्यलय धनगढीका प्रमुख मालपोत अधिकृत मनोहर श्रेष्ठले बताए।
 
खासगरी प्रदेश राजधानी तोकिएका ठाउँमा जग्गाको माग बढेपछि व्यावसायीहरुले चोरबाटो प्रयोग गरेर जग्गाको खण्डीकरण गराएका थिए। अहिले पनि प्रदेश राजधानी तोकिएका ठाउँमा घरघडेरीको माग उच्च छ। 
 
कृषियोग्य जमिनको खण्डीकरण रोक्न सरकारले गरेको निर्णयलाई सर्वोच्चले पनि कानुन बनाएर कार्यान्वयन गर्नु भनेपछि जग्गा व्यावसायीहरु कानुनी छिद्रामा टेकेर कारोबार गरिरहेको मालपोत कार्यालय शाँखुका प्रमुख मालपोत अधिकृत किरणकुमार भट्टराइले बताए।
 
महिना दिन अघि जग्गा किनेर अंशबण्डा गर्न आएमा त्यो स्वत: प्लटिङ हो भनेर बुझ्न कुनै समस्या भएन, भट्टराइले भने, त्यस्ता केशहरुमा मालपोत कार्यालयले फाइल फिर्ता पठाएका छन्।'
 
अंशबण्डा गर्नलाई कुनै रोकटोक छैन। तर यहि छिद्रको प्रयोग गरेर कारोबारी प्लटिङमा सक्रिए भए। यो विकृति मौलाउन थालेपछि मालपोत कार्यालयले कडाइ थालेका हुन्।
 
विगतको भन्दा अंशबण्डाका फाइलहरु बढेका छन्। केहि साँच्चिकै अंशबण्डा हुन् भने केहि अंशबण्डाको नाममा प्लटिङका फाइल हुन्। कानुन नबनेसम्म यस्ता छिद्रमा टेकेर जग्गाको खण्डीरण भइरहने भएकाले सरकारले जतिसक्दो छिटो कानुन निर्माण गरेर अघि बढ्नुपर्ने भट्टराइले बताए।