BIZMANDU
www.bizmandu.com

सेबोनले कमोडिटीको लाइसेन्स प्रक्रिया अघि बढाएन, सञ्चालनमा रहेका कमोडिटी बन्द हुने अवस्थामा

२०७५ जेठ ३१

सेबोनले कमोडिटीको लाइसेन्स प्रक्रिया अघि बढाएन, सञ्चालनमा रहेका कमोडिटी बन्द हुने अवस्थामा
सेबोनले कमोडिटीको लाइसेन्स प्रक्रिया अघि बढाएन, सञ्चालनमा रहेका कमोडिटी बन्द हुने अवस्थामा



 
काठमाडौं। वस्तु तथा विनियम बजार सञ्चालन गरिरहेका तीन कमोडिटी एक्सचेन्जले नयाँ करार गर्न नपाउँदा कर्मचारी कटौती गर्न थालेका छन्। धितोपत्र बोर्डले वस्तु तथा विनिमय बजार सञ्चालन गरिरहेका एक्सचेन्जलार्इ नयाँ करार नगर्न निर्देशन दिएसँगै एक्सचेन्जले भइरहेका कर्मचारी कटौतीदेखि आफ्नो कार्यालय सिफ्ट गर्न थालेका हुन्। 
 
हाल मर्कन्टाइल एक्सचेन्ज नेपाल, डेरिभेटिभ एण्ड कमोडिटी एक्सचेन्ज र नेपाल डेरिभेटिभ एक्सचेन्ज सञ्चालनमा छन्। तीनवटै एक्सचेन्जले यसभन्दा अगाडि गरेको करारको अवधि यहि डिसेम्बर (पुस १५) बाट सकिँदैछ। डिसेम्बरमा म्याद सकिने भए पनि यसको सेटलमेन्ट भने एक महिना अगाडि नै सकिने मर्कन्टाइल एक्सचेन्जका उपमहाप्रबन्धक नरेन्द्रप्रसाद भट्टले जानकारी दिए। 
 
धितोपत्र बोर्डले नयाँ करार नगर्न निर्देशन दिएसँगै अहिले १२ वटा बस्तुको मात्रै करार बाँकी रहेको भट्टले बताए। 'बोर्डले निर्दशन गर्नु भन्दा अघि २५ वटा भन्दा धेरै करार थियो,' उनले भने, 'करार अवधि विस्तारै सकिँदै गर्दा कर्मचारी पनि कटौती गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।' 
 
त्यस्तै डिसिएक्स नेपालले पनि १७ जना कर्मचारीबाट ७ जनामा झार्नु परेको प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र बास्कोटाले जानकारी दिए। डिसेम्बरबाट करार सकिएसँगै कार्यालय बन्द गर्नु पर्ने अवस्थामा पुगेको उनले जानकारी दिए। 
 
धितोपत्र बोर्डले एक्सचेन्जको लागि अनुमति पनि नदिने अनि करार गर्न पनि नदिने हो भने विस्तारै यस उद्योगबाटै बाहिरिनु पर्ने बाध्याता भएको उनले दुखेसो पोखे। अनुमति दिने प्रकृया लम्बिने हो भने बेरोजगार भएर बिदेशिनु पर्ने अवस्था आउने उनले बताए। 
 
एक्सचेन्जका साथै ब्रोकरसहित यस क्षेत्रमा अहिले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार पाइरहेका हजारौँ बेरोगार हुनुपर्ने अवस्था आएको उनले बताए।  
 
लामो समयदेखि सञ्चालनमा रहेको व्यवसायलाई नसोची ऐन ल्याएर एकतर्फी कार्यान्वयन गर्दा बस्तु बजार नै सकिने अवस्था सिर्जना भएको उनले बताए। 'ऐन थिएन आयो राम्रो भयो,' उनले भने, 'तर पुरानालार्इ कुनै पनि स्पेस दिइएन। यसले भैरहेको बस्तु बजार नै गुम्ने डर भएको छ। नियमनकारी निकायले बेलैमा सोच्नुपर्छ।'
 
अनुमतिको लागि धितोपत्र बोर्डले समय लम्व्याउँदा सञ्चालनमा रहेका एक्सचेन्जलार्इ कार्यालय चलाउन पनि समस्या परेको हो। बोर्डले नयाँ लाइसेन्सको अनुमति प्राप्त गर्नको लागि निवेदन खुलाएर पनि बन्द गरिसेकेको छ। अनुमतिका लागि बोर्डमा ५ वटा कम्पनीले निवेदन दिएका छन्। तीमध्ये ३ वटा हाल सञ्चालनमा रहेका कम्पनी हुन्। 
 
नयाँ अनुमतिको लागि निवेदन आएको र यसलार्इ चाँडै नै टुङ्ग्याउने योजना भएको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए। 'पहिलेको अवस्थामा ऐन थिएन अहिले ऐन बनेको छ। नयाँ कानुनले पुराना संस्थालाई चिन्दैन। त्यसैले अनुमतिबीना वस्तु बजार सञ्चालन गर्न पाइँदैन,' कार्कीले भने। 
 
बोर्डले निवेदन प्राप्त गरेको लामो समय बितिसके पनि अहिलेसम्म त्यसमा थप कारबाहीको प्रक्रिया अघि बढाएको छैन। 
 
बोर्डले अनुमति दिन ढिला गर्दा अहिले भएका कारोबारी पनि बाहिरिने डर रहेको भट्टले बताए। खुला सीमाना र अनलाइन प्रणालीबाट कारोबार हुने भएकाले लगानीकर्ताले विदेशी एक्सचेन्जमा कारोबार गर्ने सम्भावना भएको उनले जानकारी दिए। 

Tata
GBIME
Nepal Life