BIZMANDU
www.bizmandu.com

आइसिटी अवार्ड २०१८ आयोजना हुँदै, अनलाइन तथा मोबाइल एप मार्फत असार १६ गते सम्म आवेदन दिन सकिने

२०७५ असार ३

Tata
GBIME
Nepal Life

काठमाडौं। लिभिङ विथ आइसिटीको आयोजनामा ‘आइसिटी अवार्ड २०१८’ हुने भएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आइसिटी अवार्ड हुन लागेको जानकारी दिएको हो। अवार्डमा आइसिटी क्षेत्रका विभिन्न ७ विधा समेटएको छ।

जस अन्तर्गत बेस्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्ट्रप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड समावेश गरिएको आयोजकले जानकारी दिएको छ।

स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आइसिटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ। यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ। त्यस्तै आइसिटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई दिइने आयोजकले जनाकारीदिएको छ।
यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्ड भने कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई दिइने छ।

आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ। आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन्।

अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ। अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला गरिएको छ। असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड पूरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन्।

अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट www.ictaward.org तथा  ICT Award नामक एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्नुपर्ने छ।
आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले यस संस्करणको अवार्डलाई भव्य र विश्वसनीय बनाउने तयारी गरेको जानकारी दिए। ‘यस वर्षको संस्करणमा ३ विधा थप गर्दै प्रविधिको क्षेत्रका सबै व्यक्ति तथा संस्थालाई समेट्ने प्रयास गरिएको छ,’ उनले भने। त्यस्तै प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको छनोट प्रक्रियाअन्तर्गत विभिन्न चरणका मिटिङ, अन्तर्वार्ता तथा अनलाइन भोटिङ सञ्चालन गरिने निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए।
 
कसरी गर्ने अनलाइन आवेदन?
अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको अप्लाइ नाव मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ। उक्त फर्ममा उल्लिखित मापदण्ड अनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ।

पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि दिन सकिनेछ। यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ICT Award एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ। असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुनेछ। अवार्डबारे सेलेक्सन प्रसेस तथा क्यालेन्डरसँगै सम्पुर्ण जानकारीहरु वेबसाइटमा उपलब्ध छ।

यो समग्र नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयास हो। लम्सालले भने, यसले अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर दिन्छ।