BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिमा बाणिज्य बैंकको संख्यानै तोकेर मर्जर नीति ल्याउन राष्ट्र बैंक तयार


मौद्रिक नीतिमा बाणिज्य बैंकको संख्यानै तोकेर मर्जर नीति ल्याउन राष्ट्र बैंक तयार
मौद्रिक नीतिमा बाणिज्य बैंकको संख्यानै तोकेर मर्जर नीति ल्याउन राष्ट्र बैंक तयार



 
काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘विग मर्जर’ नीति ल्याउने भएको छ। मौद्रिक नीतिमा समायाअवधि र संख्या तोकेरै मर्जर ल्याउनुपर्नेमा राष्ट्र बैंकका उच्च तहका अधिकारी सहमत भइसकेका छन्। तर यो दीर्घकालिन महत्व राख्ने र ‘शक्तिशाली’ मुद्दा भएकाले अर्थमन्त्री डा.युवराज खतिवडासँग छलफलपछि मौद्रिक नीतिमा राखिने स्रोतले बतायो।
 
अर्थमन्त्री खतिवडाले सहमति जनाए वाणिज्य बैंकको संख्या आधा घटाउने गरि मौद्रिक नीतिमा मर्जर नीति समेटिने स्रोत बताउँछ। गभर्नर हुँदा एकाघरको लगानी भएका बैंक तथा वित्तिय संस्थालार्इ 'ट्रि ग्राफ' नै देखाएर फोर्सफूल मर्जर गर्न लगाएका अर्थमन्त्री खतिवडाले मर्जरका बारेमा औपचारिक रुपमा बोलेका छैनन्। 
 
राष्ट्र बैंक एक्लैको अडानबाट मात्रै बिग मर्जर नहुने भएपछि उसले अर्थमन्त्रालयको साथ खोजेको हो। पूँजी वृद्धिको कोर्ष पुरा भइसकेकाले संख्या घटाएर वित्तीय संस्था बलियो बनाउन विग मर्जरको प्रयासमा राष्ट्र बैंक लागेको हो।
 
अर्थमन्त्रालयले विग मर्जरका लागि मञ्जुरी नदिए मर्जरलाई भने प्राथमिकतामा राखेरै मौद्रिक नीति ल्याउने योजना राष्ट्र बैंकको छ। अहिले २८ वटा बाणिज्य बैंक छन्। संख्या धेरै हुँदा नियमन र सुपरिवेक्षण गर्न कठिनाइ भोगिरहेको राष्ट्र बैंक वित्तीय क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरु रोक्नलाई विग मर्जर गर्न खोजिरहेको छ।
 
अर्थमन्त्री र सचिववाहेकसँग राष्ट्र बैंकका अधिकारीहरुले हिजो मात्रै पनि मर्जरका बारेमा छलफल गरेका छन्। छलफलमा संख्या नै तोक्ने भन्दा पनि मर्जरको आवश्यक्ता खड्किएको छ भनेर मर्जरलाई बढावा दिने नीति लिनु पर्ने निष्कर्ष निस्किएको थियो।
 
'सरकारी साथ भए समय सीमा तोकेर फोर्सफुल मर्ज गर्ने योजना हो' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'साथ भएन भने  मर्जरलाई बढावा दिने गरी नीति ल्याउनु पर्छ भन्ने हो।'
 
दुई बर्षमा चुक्ता पूँजी चार गुणाले बढाउने नीति लिँदा राष्ट्र बैंकले राजनीतिक तथा सरकारी विरोध सामना गर्नु परेको थियो। दुई बर्षको सीमा बढाउनलाई संसदीय समितिहरुबाट राष्ट्र बैंकलाई दवाव दिइएको थियो। ब्यापक विरोधका बाबजुत पनि राष्ट्र बैंकले चुक्ता पूँजी बृद्धि योजनालाई पूर्णता दिन सकेको थियो।
 
'पूँजी बृद्धि त जसोतसो पार लगाइयो। फोर्सफुल मर्जर त्यो भन्दा ठूलो मुद्दा हो' राष्ट्र बैंक स्रोतले भन्यो, 'फोर्सफुल मर्जर नीति लिएर पछि फिर्ता लिनु पर्ने अवस्था आएमा राष्ट्र बैंकको साख खस्किन्छ। त्यो गर्नुभन्दा सरकारी साथ पाएर नीति ल्याउनु उत्तम हुन्छ।'
 
अर्थमन्त्रीले विग मर्जरका बारेमा मुख खोलिसकेका छैनन्। अर्थसचिव प्रधानमन्त्रीसँगै चीन गएका छन्। मौद्रिक नीति लेखन लगभग सकिसकेको राष्ट्र बैंकले आफ्ना सञ्चालकसमेत रहेका अर्थसचिवलाई पर्खिरहेको छ।
 
'अर्थसचिव फर्किएपछि अर्थमन्त्रीसँग मर्जर बारे विस्तारमा कुराकानी गर्ने पक्षमा उच्च ब्यवस्थापन छ' राष्ट्र बैंक स्रोतले भन्यो, 'कन्फिडेन्स आयो भने २८ को संख्यालाई १४/१५ मा झार्ने योजना हो।'
 
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विग मर्जर नीतिका बारेमा उच्च तहमा छलफल नभएको बताए। 'अन्तिम समयमा छलफल हुन पनि सक्ला' उनले भने, 'तर अहिलेसम्म छलफल भएको छैन।'
 
विग मर्जरका लागि सरोकारवाला निकायबाट पनि आवाज उठ्न थालेको छ। बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले एक सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकले मर्जर नीति ल्याए त्यसलाई सघाउने बताएका थिए। गभर्नर उपस्थित कार्यक्रममा उनले मर्जरका बारेमा भने राष्ट्र बैंक स्पष्ट हुनु पर्ने बताए।
 
विकास बैंक संघले पनि गभर्नर उपस्थित कार्यक्रममै अहिले विग मर्जरको उपयुक्त समय भएको भन्दै ढिला गरेमा भने मर्जरमा जान समस्या हुने जनाएको छ। उद्योगपति राजेन्द्र खेतान, बैंकर शोभनदेव पन्त, शशिन जोशी, सुमन जोशीलगायतले पनि मर्जरमा जानु पर्ने सुझाव सार्वजनिक रुपमा दिँदै आएका छन्। राष्ट्र बैंककै पूर्वअधिकारीहरुले पनि अब मर्जरको एजेण्डामा जानु पर्ने सुझाव दिइरहेका छन्। 

Tata
GBIME
Nepal Life