BIZMANDU
www.bizmandu.com

भूकम्पप्रभावित चार जिल्लामा नेपाल टेलिकमको इन्टरनेट सुरु, २ वर्षसम्म सित्तैमा चलाउन पाइने

२०७५ असार २०

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।
 
टेलिकमले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २१३, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका २०५ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याएको  जनाएको छ ।
 
समग्रमा ३१३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको टेलिकमले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
 
टेलिकमले सिन्धुपाल्चोकका ९३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ७१ विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको छ।
 
यसैगरी काभ्रेपलाञ्चोकका १२८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०३ विद्यालयमा इन्टरनेट चलाउन सकिने ब्यबस्था छ।
 
टेलिकमले नुवाकोटका ७५ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ८० विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरेको जनाएको छ ।
 
सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट  दुई  वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने बिज्ञप्तीमा उल्लेख छ।
 
 कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स सीपीई तथा थ्रीजी/ईभीडीओ वाइफाई राउटर उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ ।
 
दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएको थियो।

नेपाल टेलिकमले २०७५ जेठ मसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।  

प्राधिकरणले तोकेको समयभन्दा एक महिना अघि नै टेलिकमले सेवा सुरु गरेको जनाएको छ।