BIZMANDU
www.bizmandu.com

सानिमा इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा कारोबार सुरु, ७२ घण्टाभित्र दावी भुक्तानी दिने

२०७५ असार २७

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा इन्स्योरेन्स कम्पनीले आफ्नो व्यावसायिक कारोबार सुरु गरेको छ। कम्पनीका सञ्चालक खेमलाल लामिछानेले कम्पनीको व्यावसायिक कारोबार शुभारम्भ गरे।

बीमा समितिले यसै आर्थिक वर्षमा निर्जीवन बीमा व्यावसाय गर्न अनुमति दिएको थियो।

नेपाल कृषि बीमाकालागि उपयुक्त भएको हुँदा कम्पनीले आफ्नो व्यवसाय कृषि बीमामा केन्द्रित गर्ने कम्पनीका नायव महाप्रवन्धक सुवोधलाल श्रेष्ठले बताए।

उनले भने-‘नियमनकारी निकायले आफ्नो सम्पूर्ण व्यवसायको १० प्रतिशत कृषि बीमा हुनै पर्ने भनेको छ हामी योभन्दा पनि धेरै व्यवसाय गर्ने योजनामा छौं।’

‘एकैपटक जीवन तथा निर्जीवन बीमा कम्पनी बजारमा आउँदा कर्मचारीको अभावलार्इ मध्यनजर गर्दै फ्रेस कर्मचारी नियुक्ती गर्दै बिदेशमा ट्रेनिङको लागि पठाउने योजना बनाएका छौं।’ श्रेष्ठले भने-‘प्राविधिक जनशक्तिको एकदमै खाँचो छ त्यसैले यसतर्फ विशेष ध्यान दिँदै अध्ययन तथा तालिमकालागि विदेश पठाउने छौं।’

उनले निर्जीवन बीमा व्यवसायमा दाबी भुक्तानी एकदमै ढिला हुने गरेको गुनासोलार्इ मध्यनजर गर्दै बीमितलार्इ सचेतनात्मक कार्यक्रम अगाडि बढाउने बताए।

उनले भने- ‘बीमित जति धेरै सचेत हुन्छन् हामीलार्इ पनि दाबी भुक्तानी गर्न सजिलो हुन्छ। बीमितिले समयमा कागजपत्र पेश गर्न सकेमा ७२ घण्टामा दाबी भुक्तानी गर्छौ।’

कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको एक अर्ब रुपैयाँको पूँजीको लागि कम्पनीले ३० करोड रुपैया आगामी आर्थिक वर्षमा आइपिओ निष्कासन गर्ने श्रेष्ठले जानकारी दिए।

हाल केन्द्रीय कार्यालय मात्रै रहेकोमा केही दिनमा उपत्यकाभित्र तीनवटा नयाँ शाखा कार्यालय र आगामी आर्थिक वर्षभरिमा २० वटा नयाँ शाखा खोल्ने योजना बनाएको कम्पनीले जनाएको छ।

सानिमा इन्स्योरेन्समा सानिमा बैंक, सानिमा प्रालि, गैरआवासिय नेपाल संघका पूर्व अध्यक्ष जीवन लामिछानेको मुख्य लगानी रहेको छ।