BIZMANDU
www.bizmandu.com

शेयर लगानीकर्ता भन्छन्, ‘पुँजी बजारलाई सम्बोधन गर्न मौद्रिक नीति असफल, बजेट जस्तै आयो’

२०७५ असार २७


काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजारको विकास र विस्तारका लागि सहायह नहुने पुँजी बजार लगानीकर्ताले बताएका छन्। पुँजी बजारको विकासका लागि मौद्रिक नीतिले अपेक्षाकृत सम्बोधन गर्न नसकेको लगानीकर्ताले बताएका हुन्। 
 
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसादपौडेलले मौद्रिक नीति पुँजी बजारको विकास र विस्तार गर्न सहायक सिद्ध नभएको बताए। आगामी आर्थिक वर्षको बजेट जस्तै मौद्रिक नीति आएको भन्दै उनले केन्द्रीय बैंकले सार्वजनिक गरेको नीतिको आलोचना गरे। 'जसरी बजेटले पुँजी बजारलार्इ प्राथिकतामा पारेन, मौद्रिक नीतिले पनि संबोधन गर्न सकेन,' उनले भने। 
 
पुँजी बजारबाहेक अन्य क्षेत्रको विकासका लागि मौद्रिक नीति राम्रो भए पनि पुँजी बजारलार्इ भने यसले संकुचित गरेको भनाइ छ। ओभरड्राफ्ट ऋण लिएर लगानी गर्ने लगानीकर्ताको ठुलो हिस्सा रहेको बजारमा व्याक्तिगत कर्जाको  ७५ लाखबाट ५० लाखको सीमामा ल्याउँदा नै प्रभाव देखिने र अहिले वाणिज्य बैंकले प्राथमिक पुँजीको ४० प्रतिशतबाट २५ प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्थाले थप संकुचन ल्याउने उनको तर्क छ। 
 
अधिकांश बैक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा खासै चासो दिदैनन्। केही बैंकहरु मात्रै शेयर धितो कर्जामा उदार देखिएकोमा उनीहरुले ऋण दिन सक्ने सीमामा थप संकुचन ल्याउँदा बजारलार्इ हतोत्साहित पार्न खोजिएको पौडेलले बताए। समग्रमा पुँजी बजारमैत्री मौद्रिक नीति नआएको इन्भेष्टर्स फोरमको धारण रहेको पौडेलले उल्लेख गरे।
 
बैंकको तरलताको समस्यालार्इ हल गर्न कोशिश गरिएको देखिए पनि शेयरबजार प्रति मौद्रिक नीति गभिर नदेखिएको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। मार्जिन कललार्इ संबोधन गर्न खोजिए पनि ऋणको सिमा भने यथावत राख्न खोज्दा लगानीर्ताको वास्तविक माग संबोधन हुन नसकेको उनले आरोप लगाए। 
 
शेयर बजारमा शेयरको आपुर्ति बढिरहँदा बैंकले शेयरमा दिने ऋणको सीमा घटाइँदा बजारमा नकारात्मक असर पार्ने उनको विश्लेषण छ। 
 
नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरे पनि मौद्रिक नितिप्रति सन्तुष्ट छैनन्। नीतिले शेयर बजारलार्इ उल्टो गतितर्फ धकेलेको उनको आरोप छ। मार्जिन कलको सीमालाई २० प्रतिशतमा झारिएको भएपनि यसले लगानीकर्तालाई खासै ठुलो राहत नमिल्ने घिमिरेको तर्क छ। 

Tata
GBIME
Nepal Life