BIZMANDU
www.bizmandu.com

शेयरको कमाइले ठमेलमा होटल खोल्दै अधिकारी, भन्छन्-तरिका जानिएन भने त डुबिहालिन्छ नि!’


शेयरको कमाइले ठमेलमा होटल खोल्दै अधिकारी, भन्छन्-तरिका जानिएन भने त डुबिहालिन्छ नि!’
शेयरको कमाइले ठमेलमा होटल खोल्दै अधिकारी, भन्छन्-तरिका जानिएन भने त डुबिहालिन्छ नि!’


Tata
GBIME
Nepal Life

काठमाडौं। २०४९ सालमा नुवाकोटबाट काठमाडौं आउँदा रामप्रसाद अधिकारीलाई आफ्नो भविष्य कता मोडिन्छ भन्ने टुंगो थिएन। एउटा कुरामा भने उनी स्पष्ट थिए कमाउनकालागि सानोतिनो नै किन नहोस् ‘ब्यापार’ गर्नुपर्छ।

काठमाडौं छिरेपछि अधिकारीले नेपाली हस्तकलाका सामानको ब्यापार थाले। बिस्तारै ब्यापार बढ्दै गयो। उनले नेपालमा उत्पादन हुने हस्तकलाका सामानहरु यूरोप, अमेरिका, चीन लगायतका देशमा  समेत पठाउन थाले।उनले शेयर बजारमा पनि चासो राख्न थाले।

हस्तकलाको ब्यापार फस्टाउँदै गएपछि उनले २०५९ सालदेखि स्टक मार्केटमा लगानी गर्न थाले। शेयर बजारमा गरेको लगानीले प्रतिफल दिन थालेपछि उनको महत्वाकांक्षा अझ बढ्यो। हस्तकलाको ब्यापार र शेयरबजारमा सफल भएपछि उनले होटल ब्यवसायमा हात हाल्ने योजना बनाए। 

ठमेलमा गत जेठदेखि निर्माण सुरु भएको दि माइलस्टोन होटल अहिले निर्माण पूरा हुने चरणमा छ। भदौको दोस्रो सातादेखि होटल संचालनमा ल्याउनका लागि उनी दिनरात नभनी खटिएका छन्। ठमेल यसैपनि होटल रेष्टुरेन्टहरुको हब हो। फेरि नयाँ होटल खोल्न ठमेल एरिया नै किन?

अधिकारी भन्छन्- ‘जुन ठाउँमा बढी प्रतिस्पर्धा छ त्यहि नै बजार पनि छ। अर्थात 'मार्केट मेक्स मार्केट। प्रतिस्पर्धामा जान सके जहाँ पनि कमाउन सकिन्छ।’

होटल संचालनकालागि उनले अतिथि सत्कार र ब्यबहारलाई प्राथमिकतामा राखेका छन्। होटलले दिने हस्पिटालिटीले नै हो पाहुनालाई तान्ने। उनी भन्छन् –‘अतिथीलाई मीठो खाना खुवाएर मात्र खुसी पार्न सकिँदैन। स-साना कुरामा ध्यान पुर्याउन सकिएन भने पनि अतिथीको मन जित्न सकिँदैन।’

उनी आफ्नो होटलको सेवामा कुनै पनि कम्प्रमाइज नगर्ने बताउँछन्। बिभिन्न ब्यवसायमा हात हाल्दै सफल हुँदै गएका अधिकारीले भने –‘ब्यवसाय कसरी ह्याण्डल गर्ने भन्ने तरिका जानिएन भने त डुबिहालिन्छ नि!’

होटल बनाउन थालेपछि उनी बिभिन्न होटलहरुमा जाँदै त्यहाँको खाना, वातावरण र सेवा सुविधाको अध्ययन गर्न थालेका छन्। आफ्नो होटलमा कुनै पनि किसिमको कमी नहोस् भन्नाकालागि नै यसरी बिभिन्न होटलहरुको अवलोकन थालेको उनले बताए।

निर्माणको अन्तिम चरणमा पुगेको होटल माइलस्टोन अधिकारीकै कन्सेप्टमा तयार भैरहेको छ। होटलमा जम्मा २५ वटा कोठा छन्। जसलाई उनले चारवटा सुइट, दुईवटा अपार्टमेन्ट, छ वटा फेमिली र बाँकी सबै  डिलक्स रुममा बाँडेका छन्। होटलमा प्राइभेट र पब्लिक स्पाका साथै ज्याकुजी पनि राखिएको छ।

अपार्टमेन्टलाई लामो समयका लागि भ्रमणका आउने पर्यटकले प्रयोग गर्न सक्ने उनले जानकारी दिए।  अपार्टमेन्टमा बेडरुम, बाथरुम र किचन बनाइएको छ। होटलमा एकैपटक २५ जनाले लन्च तथा डिनर खान मिल्ने उनले बताए। होटलमा कन्टिनेन्टल र नेपाली रैथाने परिकार बनाउने उनको तयारी छ। होटलमा तीनवटा गाडी र २० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने एरिया छ। 

कलामा रुचि राख्ने अधिकारी आफ्नो होटलको हरेक कोठा र लवी चित्रकलाले सजाइरहेका छन्। माइलस्टोन होटललाई आफ्नो करियरकै माइलस्टोन भन्न रुचाउने अधिकारी एउटै होटलमा मात्र सिमित नहुने योजना सुनाए-‘छिट्टै नै काठमाडौं नजिकै अर्को होटल पनि खोल्दैछु।’