BIZMANDU
www.bizmandu.com

अन्ततः सौर्य एयर ६७ करोडमा बिक्री, श्याम अधिकारी समूहले किन्यो, सोमबारदेखि नियमित उडान


Tata
GBIME
Nepal Life

विराटनगर।दुई हप्ता लामो वार्तापछि नयाँ व्यवस्थापनले सौर्य एयर सञ्चालन गर्ने टुङ्गो लागेको छ ।
 

गैरआवासीय नेपाली (एनआरएन) श्याम अधिकारीसहितको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयरको व्यवस्थापन जिम्मा लिएको हो ।

सौर्यका अध्यक्ष दीपक पोखरेलले श्याम र उनको समूहले ६७ करोडमा सौर्यको जिम्मेवारी लिएको पुष्टि गरे ।नयाँ समूहले बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड सकारेको छ । नयाँ व्यवस्थापनसित बुधबार राति कम्पनी बिक्रीको सम्झौंतापत्रमा हस्ताक्षर भएको पोखरेलले जानकारी दिए।
 

उनका अनुसार नयाँ व्यवस्थापनमा एनआरएन श्याम अधिकारीसहित श्याम श्रेष्ठ र अर्का एक जना पनि छन् ।‘हामी केही पुराना सञ्चालक पनि शेयर सदस्यका रूपमा रहने निश्चित भएको छ’, पोखरेलले भने, ‘नयाँ समूह उत्साहका साथ आएको छ ।

अब दशैँअगाडि थप २ वटा जहाज ल्याएर ४ वटाले उडान भर्ने र भारतका विभिन्न मुख्य शहरमा पनि उडान पुर्याउने लक्ष्य छ । यसपछि कम्पनी नाफामा जाने विश्वास लिएका छौँ ।’
 

सौर्यका उडान विगत तीन हप्तादेखि स्थगित छन् । अध्यक्ष दीपकले सोमबारदेखि पहिलेकै जस्तो उडान नियमित हुने दाबी गरे ।सौर्यसित अहिले रहेका दुबै ५० सिटे सिआरजे २०० जहाज क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बार्डियर कम्पनीमा निर्मित भएको उनले बताए ।
 
सौर्यले काठमाडौंबाट माउन्टेन फ्लाइट २ वटासहित काठमाडौबाटै विराटनगर ३, भद्रपुर, भैरहवा र नेपालगञ्ज २–२ र धनगढी १ उडान नियमित गरिरहेको थियो ।