BIZMANDU
www.bizmandu.com

पिच उप्किने समस्या दोहोरिन थालेपछि साना जहाज ल्याउन हवाई सेवा प्रदायकलाई आग्रह


पिच उप्किने समस्या दोहोरिन थालेपछि साना जहाज ल्याउन हवाई सेवा प्रदायकलाई आग्रह
पिच उप्किने समस्या दोहोरिन थालेपछि साना जहाज ल्याउन हवाई सेवा प्रदायकलाई आग्रह


काठमाडौं। ठुला जहाज उडान र अवतरण गर्दा विमानस्थलको धावनमार्ग नै बिग्रिन थालेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिरकण अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुलाई साना जहाज मात्रै नेपाल ल्याउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिचमा पटक पटक समस्या देखिन थालेपछि प्राधिरकणले साना जहाजमार्फत उडान गर्न हवाई सेवा प्रदायकलाई भनेको हो। 
 
बुधबार प्राधिकरण, विमानस्थल र अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक संघबीचको छलफलमा प्राधिकरणले साना जहाज मात्रै ल्याउन भनेको आग्रह गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख इन्जिनीयर मुरारी भण्डारीले जानकारी दिए। 'हामीले एयरलाइन्स अपरेटरसँगको बैठकमा साना जहाज सञ्चालनमा ल्याउन अनुरोध गरेका छौं,' उनले भने, 'बिग्रिनु त छँदैछ, मर्मत गर्दै विमानस्थल संचालनमा ल्याउनै पर्छ। जतिसक्दो चाँडो धावनमार्गको पुनर्निर्माण गर्ने योजना बनाएका छौँ। त्यतिन्जेल साना विमान ल्याउन भनिएको हो।'
 
अहिले ठूला जहाजको अधिक उडान अवतरण भइरहेको कारणले धावनमार्गको दैनिक उडान अवतरण दबाब थेग्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए। ६ वर्ष यता एयरबस ३३०, बोइङ ७७७ लगायतका ठूला अन्तर्राष्ट्रिय जहाज उडान तथा अवतरण क्रमबद्ध सञ्चालनमा आउन थालेपछि धावनमार्गको पिच उप्किने समस्या देखिँदै आएको भण्डारीले बताए। 
 
वर्षा याममा पानी परिरहरने र घाम पनि लाग्ने भएकाले त्यसले पिचमा असर गर्ने गरेको छ। 'जाडोमा कन्क्रिट खुम्चिन्छ भने गर्मी भएपछि तातेर खुकुलो हुने गरेको छ,' उनले भने, 'राती पानी परेर भावनमार्ग नरम र चिसो भएको धावनमार्ग घाम लागेर ताते पछि पिच पग्लन थाल्छ। यो अवस्थामा ठूला जहाज अवतरण गर्दा पिच उप्किने समस्या देखा पर्छ।' 
 
विमानस्थल र प्राधिकरणले ठुलाको साटो सानो जहाज ल्याउन अनुरोध गरेपछि उडान तथा अवतरण तालिकासमेत परिवर्तनको तयारी थालिएको छ।

Tata
GBIME
Nepal Life

साना जहाज धेरै आएर हुन सक्ने 'कन्जेसन्'लाई मध्यनजर गर्दै रातीको समयमा पनि स्लटमा उडान तथा अवतरणको तालिका बनाउने तयारी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनको निर्णय भए पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन। 
 

'अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो सेड्युल ६ महिना अगाडि नै एप्रुभ गराइसकेको हुन्छ। इन्टर सिजनको सेड्युल परिवर्तन गर्ने समयमा हवाई कम्पनीले रातीको स्लट राख्न सक्नेछन्। यो उपायमा हामीले अन्तर्राष्ट्रि हवाई संचालक संघसँग छलफल सुरु गरिसकेका छौँ,' भण्डारीले भने। 
 
भण्डारीका अनुसार सन् २०११ बाट ठूला जहाजको संख्या बढेसँगै पिच उप्कने समस्या दखिँदै आएको छ। यो समस्या समाधानका लागि प्राधिकरणले स्थानीय परामर्शदातालाई बोलाएर अध्ययन गराउँदा धावनमार्ग मुनीको संरचनादेखि पिचसम्म पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो। तर, विमानस्थलको धावनमार्ग पुनर्निर्माणको काम थाल्दा भइरहेको उडान तथा अवतरणमा प्रभाव पर्ने देखिएपछि त्यसलाई रोकिएको थियो। 
 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएपछि त्रिभुवन विमानस्थलको धावनमार्गको पूर्ण मर्मत गर्ने योजना बनाइए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। सरकारले विमानस्थलको धावनमार्ग मर्मतको लागि ठेक्का लगाउने प्रक्रियामा छ। 


 

विमानस्थलले अहिलेसम्म पिच उप्किने बित्तिकै त्यसलाई टाल्ने र उडान सञ्चालनमा ल्याउने काम गरिरहेको छ। यसले गर्दा कतिपय अवस्थामा अन्तर्राष्ट्रिय उडान गरेर आएका विमानहरु लामो समयसम्म आकाशमा होल्ड हुने गरेका छन्। 
 
पाँच वर्ष अघि पनि प्राधिकरण र विमानस्थलले अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई कम क्षमताको विमान ल्याउन वा भार घटाउन पत्राचार गरेका थिए। त्यतिबेला प्राधिकरणले २ सय ५० सिट क्षमता भन्दा ठुला जहाजको भार विमानस्थलले थेग्न नसक्ने भन्दै साना जहाज ल्याउन वा ठुला ल्याउने भए भार घटाउन भनेको थियो। 
 
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दैनिक नेपाल वायु सेवा निगम, सिल्क एयर, एयर एसिया, कोरियन एयर, टर्किस एयरलाइन्स, थाइ एयरवेज, ड्रागन एयर, कतार एयरवेज, मलेसियन एयरलगायतका अन्तर्राष्ट्रिय विमान कम्पनीका ३० वटा ठूला जहाज संचालनमा छन्। थाइ एयरलाइन्सले कहिलेकाहीँ बोइङ ७७७ उडान अवतरण गर्ने गरेको उनले जानकारी दिए। 
 
एयरबस ३३०को यात्रुविनाको तौल दुई सय ४० टन हुने गरेको छ भने बोइङ ७७७को तौल दुई लाख ९९ हजार तीन सय ८० किलो रहेको छ। यस्ता विमान नियमित आउँदा विमानस्थलको धावनमार्गले भार थेग्न नसक्ने भएपछि उडानमा रोक लगाउने तयारी सुरु गरिएको हो।