BIZMANDU
www.bizmandu.com

विश्व बैंक बोर्डबाट ५ वर्षे सिपिएफ स्वीकृत, सहायता बढ्ने, पुनर्निर्माणमा थप सहयोग गर्न प्रस्ताव

२०७५ साउन २६

विश्व बैंकमा आयोजित 'नेपाल डे'मा दातृ निकायका प्रतिनिधिलाई सम्बोधन गर्दै खतिवडा। तस्बिर: विश्व बैंक

काठमाडौं। विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)बाट नेपालले प्राप्त गरिरहेको सहयता दोब्बरले बढ्ने भएको छ। अर्को वर्ष (सन् २०१९)मा नेपालमा उसले दिने सहयोग यो वर्ष (२०१८)को भन्दा दुई गुणाले बढ्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन्। 
 
विश्व बैंक र नेपालबीचको ५ वर्षीय देशीय साझेदारी ढाँचा (कन्ट्री पार्टरसिप फ्रेमवर्क-सिपिएफ) अन्तर्गत आइडाले नेपालमा गर्ने सहयोग बढाउने भएको हो। दुई पक्षबीच आगामी ५ वर्ष (२०१९-२०२३)का लागि सिपिएफ तयार भई विश्व बैंकको बोर्डबाट पारित पनि भइसकेको छ। 
 
'अहिले विकास सहायता बढाउने भनिरहँदा हामीले कार्यक्रमको खाका तयार गरेका छौँ। तिनीहरुको लागत अनुमान पनि भएको छ,' अर्थमन्त्री खतिवडाले भने, 'न्यूनतम पनि हाम्रो सहयता दोब्बर हुन्छ भनेर उहाँहरुले भन्नुभएको छ।'
 
विश्व बैंक समूहबाट अहिले नेपालले २ अर्ब ७० करोड अमेरिकी डलर बराबरका २३ आयोजना अघि बढाइरहेको छ। सरकारले तयारी अवस्थामा रहेका र तत्काल प्रतिफल दिन सक्ने आयोजनामा लगानी बढाउन लगानीका 'विन्डो' खोज्ने क्रममा विश्व बैंकसँग सहायता बढाउन आग्रह गरेको हो। 
 
विश्व बैंक समूहकै अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले पनि नेपालमा हुने लगानीको आकार बढाउने उनले जानकारी दिए। 'आइएफसीले पनि धेरै गुणाले पोर्टफोलियो बढाउँछ,' विश्व बैंकसँगको बैठकबाट फर्कने क्रममा खतिवडाले भने। बहुपक्षीय लगानीको सुरक्षण गर्दै आएको मल्टिलेटरल इन्भेष्टमेन्ट ग्यारेन्टी एसोसिएसनले पनि आफ्नो हिस्सा बढाउन उनले बताए। 
 
विश्व बैंक एवं अन्य दातृ निकाय एवं अमेरिकी सरकारका प्रतिनिधिसँगको छलफलका क्रममा अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन र विकासका आवश्यकता पुरा गर्न लगानी बढाउन आग्रह गरेका थिए। 'संघीयता कार्यान्वयनका क्रममा तीनै तहबीच वित्तीय सन्तुलन र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ,' खतिवडाले भने। 
 
नेपालले भूकम्पपछिको पुनर्निर्माणको क्रममा निजी आवास निर्माणमा सहयोग बढाउन पनि विश्व बैंकसँग प्रस्ताव गरेको छ। नेपालको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग गरिरहेको विश्व बैंकलाई आफ्नो सहायता बढाउन र अन्य स्रोत खोजिदिन पनि सरकारले आग्रह गरेको छ। 
 
विश्व बैंक र अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा 'नेपाल डे' पनि मनाइएको छ। विश्व बैंक समूह र अमेरिकास्थित नेपालमा सहयोग गरिरहेका दातृ निकायका प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए। 'नेपालले विकासको अभूतपूर्व अवसर पाएको छ र यसमा हामीले पनि सहयोग गर्नुपर्छ भन्ने उहाँहरुको पनि धारणा छ,' खतिवडाले भने, 'नेपालमा लगानी गर्ने लगानीकर्ताहरु उत्साही हुनुहुन्छ।'
 
अर्थमन्त्री खतिवडा अघिल्लो शनिबार अमेरिका प्रस्थान गरेका थिए। एक साता अमेरिका बसाईका क्रममा उनले विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय मुद्रा कोष, मिलिनियम च्यालेन्ज कोअपरेसनलगायतका संस्थाका उच्च व्यवस्थापनसँग नेपालमा लगानीको संभावनाबारे ब्रिफिङ गरेका थिए। 

Tata
GBIME
Nepal Life