BIZMANDU
www.bizmandu.com

‘हाइप्रोफाइल’ जसका लागि रद्द गरियो एनएसीको ‘सेड्युल्ड फ्लाइट’, सोमबार मात्रै जहाज उडाइयो


‘हाइप्रोफाइल’ जसका लागि रद्द गरियो एनएसीको ‘सेड्युल्ड फ्लाइट’, सोमबार मात्रै जहाज उडाइयो
‘हाइप्रोफाइल’ जसका लागि रद्द गरियो एनएसीको ‘सेड्युल्ड फ्लाइट’, सोमबार मात्रै जहाज उडाइयो

काठमाडौं। आइतबार राति ११ बजे नेपाल वायुसेवा निगमको नियमित उडान काठमाडौंबाट दुबईका लागि थियो। दुबई उड्न सबै यात्रु विमानस्थल पुगिसकेका थिए तर एक्कासी सूचना आयो 'फ्लाइट क्यान्सिल्ड।'

Tata
GBIME
Nepal Life

जहाजमा प्राविधिक समस्या देखिएर वा अन्य कारणले विमान नउडेको थिएन। विमान नउड्नुको एउटै कारण थियो निगमका तीन उच्च पदस्थको सोमबारको मलेसिया भ्रमण। ७६ यात्रु बोकेर आइतबार राति विमान दुबई जाने, सोमबार विहान दुबईबाट यात्रु बोकेर विमान नेपाल फर्किने अनि मलेसिया उड्ने तालिका थियो। तर, ती तीन उच्च पदस्थको उडानलाई मध्यनजर गर्दै आइतबार रातिदेखि नै उडान रद्द गरियो र विमानलाई काठमाडौंमा रोकियो।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को कार्यक्रममा भाग लिन जहाजमा निगमबाट कर्पोरेट डाइरेक्टर रवीन्द्र श्रेष्ठ, कमर्सियल डाइरेक्टर कृष्णगोपाल जोशी र उपनिर्देशक रिना राई मलेसिया जाँदै थिए। सोमबार विहान ९ बजे उनीहरु त्यसतर्फ लागेका छन्।  पाटाको कार्यक्रममा निगमबाट तीनजनासहित २५ जना मलेसिया गएका छन्।

'पहिले राजा महाराजाको उडान अघि यसैगरी फ्लाइट रोकिन्यो भन्ने सुनेका थियौँ, अस्ती भारतबाट मोदी आउँदा पनि विमानस्थल बन्द  भयो भन्ने सुन्यौँ,' रोकिएका एक यात्रुले भने, 'भोलिपल्ट उड्ने तीन कर्मचारीका लागि अघिल्लो दिनबाटै प्लेन रोकेर राख्नु कति जायज हुन्छ?'

काठमाडौं-दुबई रुटमा निगमको उडान योसम्म गरी तीन पटक रद्द भएको छ। यसअघि गत साता निगमको जहाजमा चरा ठोक्किँदा उडान रद्द भएको थियो। आइतबार राति एघार बजे काठमाडौं-दुबई उडान हुनुपर्नेमा जहाज निगमको 'कमर्सियल' विभागको निर्देशनमा उडान रद्द गरिएपछि यात्रुको बिजोग भएको एक यात्रुले बिजमाण्डूलाई बताए।

तर, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अर्को विमानमा चरा ठोक्किएपछि ग्राउन्डेड भएकाले एउटा मात्रै 'न्यारो बडी' हुँदा उडानमा चाप परेको दावी गरे।

'निगमको एयरबस ३२०ले आइतबार राति ११ बजे काठमाडौंबाट दुबई उडान भरेर सोमबार विहान ९:३० बजे काठमाडौं अवतरण गरी पुनः क्वालालाम्पुर उडान गर्नुपर्ने थियो। तर पाटाको टोलीसँगै निगमका केहि उच्च पदाधिकारी क्वालालाम्पुर जाने भएपछि गए राती ११ बजेको दुबईतर्फको उडान रद्द गरेको हामीले बुझेका छौँ,' ती यात्रुले भने। 

उडान रद्द हुँदा  दुबईबाट काठमाडौं आउन ठिक्क परेका डेढ सय जना यात्रु उतै रोकिएका छन्। निगमका उच्च व्यवस्थापनका लागि उडान रद्ध गर्दा निगमको साखनै गुमेको छ।

'सोमबार काठमाडौं-क्वालालाम्पुर उडानका लागि विहान ९:३०को तालिका राखिएको थियो। आइतबार राती ११ बजे उडान भरेको जहाज नेपाल आइपुग्दा सोमबार विहान १०:३० बज्थ्यो। कहिलेकाहिँ कारणवस एक दुई घण्टा फ्लाइट डिले हुनु स्वभाविक हो। तर निगमको कमर्सियल डिपार्टमेन्टले दुई घण्टा कुर्न नसक्ने धैर्यता नदेखाएकोमा हामीलाई दुःख लागेको छ। यसले यात्रुको मात्र विजोग नभइ निगमकै छविमा आँच आएको छ।' निमगका एक कर्मचारीले भने।

 सोमबार क्वालालाम्पुर जानेः यात्रुको संख्या करिब ९० जना रहेको  र उताबाट आउने यात्रुको संख्या एकसय पचास भन्दा बढी रहेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार डिले फ्लाइटमा अलपत्र भएका यात्रुलाई एयरपोर्ट होटल, होटल काबेली, होटल राजस्थान र होटल कल्पवृक्षमा राख्दै आएको छ।

'पाटाका पदाधिकारी र निगमकै पदाधिकारीले आफ्नो स्वार्थका लागि सर्वसाधारणको बेपर्वाह गरि उडान रद्द गरे। निगमसँग भएको अरु जहाज पनि प्रयोग हुन सक्थ्यो तर निगमले यसो गरेन। एउटा सरकारी संस्थाले यसो गर्दा हामीलाई दुःख लागेको छ,' ती कर्मचारीले भने,निगमको जहाजको अकुपेन्सी हेर्ने हो भने एक पटक लागेको तेल खर्च पनि नउठ्ने अवस्था छ। निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग २४ अर्ब रुपैयाँ ऋण लिइ खरिद गरेको दुईवटा एयरबस ३३०(अन्नपूर्ण र  मकालु) ल्याइएको दुई महिना बितिसक्दा पनि लामो दूरीमा उडाउन सकेको छैन।

हाल निगमले पाइलटलाई पारंगत बनाउनका लागि एयरबस ३३०को उडान दिल्ली, बैंगलोरलगायत छोटो दूरीमा उडान भर्दै आएको छ। 'एयरबस ३३०को फ्लिट क्षमताअनुसार चार घण्टा भन्दा बढी दूरी भएका गन्तब्यमा उडान भर्नुपर्छ। छोटो दूरीमा उडान भरेर निगमलाई फाइदा हुने कुरा त परै जाओस् सरकारसँग लिएको २४ अर्ब रुपैयाँ तिर्नै धौधौ हुने देखिएको छ,' नागरिक उड्डयन क्षेत्रका विज्ञले भने।