काठमाडौं। राजधानीको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि सुरु भएको सवारीसाधनको मेला 'नाडा अटो शो २०१८' मा राखिएका दुई पाङ्ग्रे सवारीसाधनहरुमा स्कुटरमा उपभोक्ताको आकर्षण देखिएको छ। होन्डा, हिरो लगायतका ब्रान्डले सबैभन्दा सस्ता स्कुटरहरु ल्याएका छन्। यीसहित अन्य ब्रान्डले पनि आफ्ना इकोनोमी क्लासका स्कुटर मेलामा राखेका छन्।
मेलामा प्रस्तुत कम बजेटका स्कुटरको मुल्य एक लाख ५० हजार रुपैयाँसम्म छ। तर केही ब्रान्डका स्कुटरको भने न्युनतम मुल्य नै साढे दुई लाखबाट सुरु हुन्छ।
यसपालीको अटो शोमा राखिएका विभिन्न ब्रान्डका लो बजेट स्कुटरहरु यस्ता छन् :
नाभी (होण्डा)
११० सिसीको होण्डा नाभी स्कुटरको मूल्य एक लाख ५४ हजार ९०० रुपैयाँ तोकिएको छ। मेलाका ग्राहकलाई छुटको समेत व्यवस्था गरिएकाले कम्तिमा चार हजार रुपैयाँ छुट पाउँदा उक्त स्कुटर करिब एक लाख ५१ हजार रुपैयाँमा आउनेछ।
प्लेजर (हिरो)
हिरो मोटरकर्पको प्लेजर स्कुटरको मूल्य एक लाख ६४ हजार रुपैयाँ राखिएको छ। स्कुटरमा कम्तिमा ९ हजार रुपैयाँ छुट दिएपछि उक्त स्कुटरको मूल्य एक लाख ५५ हजार रुपैयाँ पर्नेछ।
उइगो रिफ्रेश
टिभिएसको उइगो ११० सिसि स्कुटरको मूल्य छुट सहित एक लाख ६६ हजार ९०० रुपैयाँ पर्ने छ।
र्याज
यामाहाको र्याज ११३ सिसी स्कुटरको मूल्य एक लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको छ। नाडामा छुट सहित उक्त स्कुटर एक लाख ७७ हजार ९०० रुपैयाँमा किन्न सकिनेछ।
होण्डा एक्टिभा
होण्डा एक्टिभा १२५ सिसि स्कुटरको मूल्य दुई लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ। न्युतम चार हजार रुपैयाँ छुट दिदा उक्त स्कुटरको मूल्य दुई लाख चार हजार रुपैयाँ पर्ने छ।
सुजुकी लेट्स
सुजुकी लेट्स स्कुटरको मूल्य एक लाख ८३ हजार ९०० रुपैयाँ राखिएको छ। नाडा अटो शोमा यो स्कुटर खरिदमा १० हजार रुपैयाँ छुट दिइएकोले यो स्कुटर एक लाख ७३ हजार ९०० रुपैयाँमा आउनेछ।
अप्रिला
अप्रिला एसआर १२५ सिसी स्कुटरको मूल्य दुई लाख ४० हजार रुपैयाँ तोकिएको छ।
भेस्पा
भेस्पा एलएक्स १२५ सिसिको मूल्य भने दुई लाख ५९ हजार ९४६ रुपैयाँ तोकिएको छ। कम्पनीले दशै अफरमा स्कुटर किन्ने ग्राहक मध्येबाट दुई जनालाई युरोप भ्रमण गराउने बताएको छ।