चितवन। भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज सम्झौता सम्पन्न भएको छ। कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो।
सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशननका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा एक वर्षभित्रमा महानगरको फोहरको अवस्था अध्ययन गरी फोहर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख छ।
फोहरको प्रकृति, मौसमअनुसारको फोहरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने छ। अध्ययनका लागि सात करोड खर्च हुने र यो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको छ।
महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहर व्यवस्थापन गर्नसक्ने गरी विस्तृत अध्ययन गरिने बताइन्। कर्पोरेशनका अध्यक्ष वनले हाल संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसङ्ख्याको फोहर व्यवस्थापन गरिरहेको बताए। अध्ययनपछि फोहर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्नसक्ने विश्वास व्यक्त गरे।
यसअघि संस्थासँग सन् २०१८ को जनवरी र मेमा छलफलपछि आज सम्झौता भएको हो। भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर सङ्कलन हुने गर्दछ। निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ। महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ। महानगरमा २९ वडा छन्।